चितवन । स्थानीय तहको निर्वाचनको मिति तय गर्ने विषयमा परामर्श तथा छलफलका लागि निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई औपचारिक रूपमा बैठकमा आमन्त्रण गरेको छ।
आगामी मंसिर ४ गतेका लागि छलफल गर्न दलहरूलाई डाकिएको निर्वाचन आयोगका आयुक्त गुरुप्रसाद वाग्लेले जानकारी दिएका छन्। हाल प्रतिनिधि सभामा ६ दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्।
प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता पाउने दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन्। यसैगरी, प्रतिनिधि सभामा सो मान्यता नपाए पनि जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमोर्चा पनि राष्ट्रिय दलका रूपमा रहेका छन्।
स्थानीय तहका वर्तमान जनप्रतिनिधिहरूको पदाअवधि आगामी वैशाख महिनामा समाप्त हुँदैछ। निर्वाचन आयोगले मंसिर ४ गते बोलाएको छलफलबारे छठ पर्व मनाउन सर्लाही आएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समेत स्थानीय नेता तथा कार्यकर्ताहरूसँगको भेटघाटका क्रममा जानकारी गराएका छन्
