काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
छठ पर्व २०८३ का अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्थप सुदृढ पार्न यस पर्वले प्रेरणा प्रदान गर्ने बताउनुभएको छ ।
उहाँले दीर्घायु, स्वच्छता, सात्विक भोजन, संयमता, सद्भाव र समृद्धिको कामना गरी मनाउने छठ पर्वले सूर्य देवको आराधना गरी सामाजिक तथा प्राकृतिक सन्तुलनको सन्देश प्रवाह गर्दै आएको बताउनुभएको छ ।
राष्ट्रपति पौडेलले छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने तथा आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर शुभ हुँदै जाने जनविश्वास रहेको उल्लेख गर्नुभएको छ । राष्ट्रपति पौडेलले सूर्य, जल र पृथ्वीप्रति श्रद्धा गर्दै छठी माताको पूजा, अर्चना तथा व्रत गरी रातभर नदी, खोला, पोखरी तथा तालतलैयाको किनारमा जाग्राम बसी धुमधाम एवं हर्षोल्लासका साथ यो पर्व मनाउने चलन रहेको उल्लेख गर्नुभएको छ ।
उहाँले खासगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ हाल आएर काठमाण्डाै उपत्यकालगायत अन्य पहाडी र हिमाली जिल्लामा समेत श्रद्धा एवं भक्तिपूर्वक मनाउने चलन बढ्दै जानु खुशीको विषय भएको बताउनुभएको छ ।
