काठमाण्डौ – दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाट बाहिरिनेको संख्या झण्डै २ लाख पुगेको छ ।
घटस्थापनायता हिजोसम्म एक लाख ८८ हजार जनाले काठमाण्डौ उपत्यका छाडेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रबिन्द्र खनालले जानकारी दिनुभयो ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि हिजोसम्म २७ हजार ७ सय वटा गाडीबाट एक लाख ८८ हजार जना काठमाण्डौ उपत्यकाबाट बाहिरिएका हुन् ।
काठमाण्डौ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्दै गएको छ । साथै २४ हजार ६ सय गाडीबाट १ लाख ६० हजार यात्रु उपत्यका भित्रिएका छन् ।
दशैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाण्डौ उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरू आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चहलपहलसहित चाप बढेको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट यात्रु बाहिरिने क्रम बढेको छ ।
