चितवन । युग कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, राप्ती नगरपालिका–४, शिवपुर, चितवनको आयोजनामा भावी नेतृत्व विकास तालिम कार्यक्रम सम्पन्न भएको छ।
संस्थाका सदस्यहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्ने, सहकारीको भावी नेतृत्व विकास गर्ने तथा संस्थाको आगामी निर्वाचनमा सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्न सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो। कार्यक्रममा संस्थाका ३५ जना सदस्यहरूको सहभागिता रहेको थियो।
राष्ट्रिय सहकारी बैंक, टाँडी शाखाका शाखा प्रमुख किरण राईले तालिमको सहजीकरण गर्नुभएको थियो। संस्थाको शिक्षा उपसमिति संयोजक कमालराज पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका व्यवस्थापक श्रीराम ढुङ्गानाले संयोजन तथा सञ्चालन गर्नुभएको थियो।
तालिममार्फत सहभागी सदस्यहरूलाई सहकारीका मूल्य, मान्यता र सिद्धान्त, सुशासन, नेतृत्व क्षमता तथा संस्थाको दिगो विकासमा सदस्यहरूको भूमिका र जिम्मेवारीका विषयमा जानकारी प्रदान गरिएको संस्थाले जनाएको छ।
तालिमले सदस्यहरूमा नेतृत्वदायी क्षमता विकास गर्नुका साथै संस्थाको आगामी निर्वाचनमा जिम्मेवार, सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ।
कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सहजकर्ता, कार्यक्रमका अध्यक्ष, सहभागी सदस्यहरू तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति संस्थाले धन्यवाद व्यक्त गरेको छ।
‘सक्षम नेतृत्व, सुशासित सहकारी र समृद्ध सदस्य’ भन्ने साझा प्रतिबद्धतासहित संस्थाले सहकारीको संस्थागत विकास र सदस्यहरूको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई महत्त्व दिँदै आएको जनाएको छ।
