काठमाडौ । चितवनको राप्ती नगरपालिकाले भोटेकोसी बाढीबाट प्रभावित तथा विस्थापित परिवारलाई लक्षित गर्दै जाडोका लागि न्यानो कपडा सहयोग गरेको छ। नगरपालिकाले रसुवाको गोसाइँकुण्ड गाउँपालिकालाइ करिब १० लाख रुपैयाँ बराबरका ५०१ थान ब्ल्याङ्केट उपलब्ध गराएको हो।
बाढीपछि प्रभावित क्षेत्रमा जाडो बढ्दै गएसँगै पीडित परिवारलाई राहत पुग्ने उद्देश्यले नगरपालिकाले ब्ल्याङ्केट उपलब्ध गराएको जनाएको छ। यसअघि पनि राप्ती नगरपालिकाले पालिकाअन्तर्गत कार्यरत शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिबाट करिब १३ लाख रुपैयाँ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको थियो।
गत कार्यपालिका बैठकले भोटेकोसी बाढीबाट अति प्रभावित रसुवा क्षेत्रका स्थानीयवासीलाई जनप्रतिनिधि स्वयं उपस्थित भएर आवश्यक राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार राप्ती नगरपालिकाका कार्यपालिका सदस्य तथा वडा नम्बर ४ का वडाध्यक्ष केदारप्रसाद आचार्यको नेतृत्वमा गएको टोलीले राहत सामग्री उत्तरगया गाउँपालिकालाई हस्तान्तरण गरेको हो।
ढुवानी व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले तत्कालका लागि ब्ल्याङ्केट उत्तरगया गाउँपालिकालाई हस्तान्तरण गरिएको वडाध्यक्ष आचार्यले जानकारी दिए। उनका अनुसार उत्तरगया गाउँपालिकाले उक्त सामग्री गोसाइँकुण्ड, आमाछोदुङ गाउँपालिका, कालिका गाउँपालिका लगायत बाढी प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा वितरण हुनेछ ।
बाढीबाट प्रभावित परिवारलाई स्थानीय तहबाटै प्रत्यक्ष सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री उपलब्ध गराइएको र आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोगका कार्यक्रम अघि बढाइने राप्ती नगरपालिकाले जनाएको छ।
आवस्यकता बुझेर प्रत्यक्ष रूपमा ब्ल्यान्केट उपलब्ध गराएकोमा उत्तरगया गाउपालिकाले राप्ती नगरपालिकाका प्रमुख, उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र समस्त राप्ती नगरपालिकालाई धन्यवाद दिएको छ ।
