पोखरा । राम्रो झ्याल नभएको साँघुरो कोठामा ८ जना कति समय बस्न सकिएला ? एक घण्टा ? २ घण्टा ? कि दिनैभरि ? विश्वास गर्नुहुन्छ, यही कोठामा ४ वर्ष बिताउँछन् मणिपाल शिक्षण अस्पतालका बीएस्सीका विद्यार्थीहरू ।
चर्को शुल्क असुलेर पनि सामान्य मानव अधिकारको समेत ख्याल नगरी कलेज प्रशासनले आफूहरूलाई भेडा बाख्रा जस्तो कोचेर राखेको गुनासो विद्यार्थीहरूले गरेका छन् ।
बीएस्सी नर्सिङ तर्फका विद्यार्थीले छात्रावासको व्यवस्थापन राम्रो नगरेको र पढाउने कक्षा पनि अण्डग्राउण्डमा राखिएको भन्दै प्रश्न उठाएका हुन् । एउटै साँघुरो कोठामा ८ जनासम्म विद्यार्थी छात्रावासमा बस्नुपर्ने अवस्था रहेको उनीहरूले बताए ।
‘२ जना अट्ने कोठामा ८ जनासम्म राखिएको छ । कोठामा भेन्टिलेसन पनि छैन,’ उनीहरूले भने, ‘पटक पटक गुनासो गरेपछि झ्यालमा जाली हालिएको छ । हामीलाई भेडा बाख्राको जस्तो व्यवहार गरिएको छ ।’
आफूहरूमाथि कलेजले अमानवीय व्यवहार गरेको एक विद्यार्थीको गुनासो छ । ‘रुममा बस्नै मन लाग्दैन । सास फेर्नै गाह्रो हुन्छ,’ उनले भनिन्, ‘राति पनि छततिर गएर बस्छौँ । यहाँ पढ्ने वातावरण नै छैन । हामीमाथि एकदमै अमानवीय व्यवहार भएको छ ।’
विद्यार्थीहरूको ड्युटी सिफ्ट फरक भएकाले सुत्ने र उठ्ने समय नमिलेको गुनासो गरेका छन् । भर्ना हुनुअघि कलेजले विद्यार्थीलाई कुनै पनि जानकारी नगराएको र भर्नापछि एकैपटक कोचेर होस्टलमा राखेको उनीहरूले दुखेसो पोखे ।
‘२–४ दिनको लागि होइन, ४ वर्ष यही कोठामा बसेर बिताउनुपर्छ,’ अर्की विद्यार्थीले भनिन्, ‘कलेज प्रशासनलाई निवेदन पनि दियौँ । तर सुनुवाइ भएन ।’
मौखिक रुपमा गरिएको प्रश्न सुनुवाइ नभएपछि वैशाख १३ गते प्रिन्सिपललाई उनीहरूले सामूहिक हस्ताक्षर गरेर निवेदन दिएका छन् ।

‘हामीले धेरै पटक भन्यौं । प्रिन्सिपल म्यामले पहिलेका सिनियरहरू पनि त्यसरी नै बसेका थिए, तिमीहरूले पनि त्यसरी नै एडजस्ट गर्नुपर्छ भनेर जवाफ फर्काउनुभयो,’ विद्यार्थीहरूले भने । कलेजले बिनाजानकारी खानाको शुल्क समेत बढाएको छ ।
सुरुमा ६ हजार ९० रुपैयाँ खानाको शुल्क तोकिएकोमा तीन महिना नबित्दै बढाएर ७ हजार ५ भन्दा बढी लिन थालेको हो । ‘खाना न मिठो छ, न पहिलेको भन्दा सुधार भएको छ । हामीले जबर्जस्ती पैसा तिर्नैपर्छ,’ ती विद्यार्थीले थपिन्, ‘किन यस्तो गर्नुभयो भनेर प्रश्न गर्ने ठाउँ पनि छैन । हामीमाथि शोषण भयो, सम्बन्धित निकायले अनुगमन गरोस् ।’
सबैजसो नियम अनिवार्य भन्दै थप्ने गरेको उनीहरूले बताए । होस्टलसँगै पढ्ने कक्षामा समेत समस्या छ । अस्पतालको अण्डरग्राउन्डमा कक्षाकोठा छ भने छात्रावास पाँचौँ तलामा छ । ‘दिनको ६–७ घण्टा त्यही बेसमेन्टमा २४ सै घण्टा साधारण ट्युबलाइटको भरमा पढ्नुपर्छ,’ अघि भनिन्, ‘हावा नछिर्ने हुँदा एकदमै अप्ठ्यारो भइरहेको छ ।’ मणिपालमा एमबीबीएस पढ्ने विद्यार्थी र नर्सिङ पढ्ने विद्यार्थीबिच विभेद हुने गरेको गुनासो छ । तर, कलेजले बेवास्ता गरेको गुनासो उनीहरूले गरे । ‘जसले जति भने पनि कुनै सुधार छैन । सुधार गरिदिनुस् न भन्यो भने यस्तै हो भनेर टारिदिन्छन्,’ उनीहरू भन्छन्, ‘एमबीबीएस पढ्ने र नर्सिङ पढ्नेबिचमा आकाश जमिनको फरक छ ।’
कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अवस्थाबारे तुरुन्तै अनुगमन गर्ने प्रतिबद्धता जनाएकी छिन् । उनले तत्काल अनुगमन र छानबिनका लागि समिति गठन गर्ने बताएकी हुन् ।
‘यो एकदमै संवेदनशील विषय हो । यति गम्भीर गुनासो आइसकेपछि प्रशासनले तत्काल अनुगमन गर्छ,’ उनी भन्छिन्, ‘यसका लागि एउटा समिति बन्छ । कमीकमजोरी सुधार्न आवश्यक निर्देशन दिइनेछ ।’ कास्की–२ का सांसद उत्तम प्रसाद पौडेलले पनि शिक्षा र स्वास्थ्य मन्त्रालयसँग तुरुन्तै समन्वय गर्ने बताएका छन् । ‘यस्तो कुरा सुन्दा पनि कष्टकर हुन्छ, भोग्नेहरूलाई कस्तो भयो होला ? विद्यार्थीलाई सम्झौता अनुसारको सुविधा दिनु कलेजको दायित्व हो,’ उनले भने, ‘भोलि नै शिक्षा र स्वास्थ्य मन्त्रालयमा कुरा गरेर यस विषयमा तत्काल अनुगमन टोली पठाउन भन्छु । तत्कालै एक्सनमा जानुपर्ने विषय रहेछ ।’

पौडेलले निर्बाध र शान्त वातावरणमा पढ्न पाउने विद्यार्थीको अधिकार हुने भन्दै त्यसको ग्यारेन्टीका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।
यता कलेजका अध्यक्ष नारायण पौडेल भने विद्यार्थीले तिरेको शुल्कअनुसार नै बसाइको व्यवस्थापन गरेको दाबी गरेका छन् । उनले बाहिर आएका विषयहरू सत्य नभएको बताए । ‘सबैभन्दा पहिला होस्टलको बारेमा बुझ्नुपर्यो । कति शुल्क तिर्छन्, कति जना बस्छन् र कति साइज छ भन्ने थाहा हुनुपर्छ,’ उनले भने, ‘उहाँहरूले कति रकम तिर्नुभएको छ त्यहीअनुसार बसाइ मिलाएका छौं । जे सुविधा लिन खोजेका छन्, त्यही दिने त हो नि ।’
उनले शुल्क तिर्न तयार भए कलेजले थप सुविधा दिन सक्ने बताए । ‘एक जना मात्रै बस्छौँ भने पनि दिन्छौँ तर शुल्क तिर्नुपर्छ । हामीले नियमलाई कुल्चिएका छैनौँ,’ अघि भने, ‘युनिभर्सिटीको अनुगमन हुन्छ । जवाफ दिन सक्ने गरी हामीले काम गर्नुपर्छ, गरेका छौँ ।’
यसअघि भारतीय कम्पनीले चलाउँदै आएको मणिपाल कलेज २०७८ देखि पोखरेली व्यवसायीहरूले सञ्चालन गर्न थालेका हुन् । यो कलेज सन् १९९८ देखि सञ्चालनमा आएको थियो । ४९ वर्षका लागि सम्झौता गरेको भारतीय कम्पनी लगानी असुरक्षित देखेपछि बिचैमा बेचेर बाहिरिएको हो ।
