फर्केर हेर्दा बर्ष २०७९

पुर्ण बहादुर मगर
बर्ष २०७९ को आज अन्तिम दिन, यो बर्ष अधिकांश समय निर्वाचन र बढी मात्रमा राजनैतिक घटनाक्रममा वितेका छन । २०७९ को बैशाख सुरु भएसंगै चुनावमय भएको देश राप्ती नगरपालिका समेत यो कुरा वाट अछुतो रहन सकेन । उसोत २०७९ विभिन्न हिसावमा चर्चामा रहे । सवैभन्दा बढी राजनैतिक हिसावमा बढी चर्चामा रह्यो । २०७९ मा राप्ती नगरपालिकामा अधिकांश समय निर्वाचनमा वित्यो । बैशाखमा स्थानिय तहको निर्वाचन, मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन र अन्य समयमा संघसंस्था, सामुदायिक वन अनि सामुदायिक विद्यालय र अन्य विभिन्न निर्वाचनको छायामा बर्ष २०७९ बित्यो । उसोत २०७९ मा राप्तीमा केहि चाख लाग्दा गतिविधि भए , नयापन भयो अनि केहि फरक अनुभुति पालिकावासीले गरे । सम्रगमा राप्ती बर्ष २०७९को लागी सम्झन लायक भयो ।

राजनीति :
बैशाखको पहिलो दिन वाट राजनितीको पसिनाले भिजेको राप्तीमा बैशाख ३० मा स्थानिय तहको निर्वाचन भयो । स्थानियको निर्वाचनमा पुरानै नतिजा आउला, पुरानै अवस्थामा होला भन्नेहरु जिल परे । यत्ति सम्मकी कत्तिलाइ आधा बर्ष सम्म पनि स्थानिय निर्वाचनको नतिजा र राप्तीको राजनिती स्वीकार्य भएन । अन्तत मंसिरको निर्वाचनमा परेको अर्काे झ्ड्काले भने सवैलाइ राप्तीको राजनिती स्वीकार पार्न वाध्य बनायो । स्थानिय तहमा एमालेको किल्ला भनेर परिचय बनाएको राप्तीमा एमालेले सोचेको जस्तो नतिजा आएन । उसले राप्तीको राम्रो पल्ला अरुलाइ सुम्पन परयो । १३ वटा वडामा मात्र ८ वडामा एमालेले अध्यक्षमा जिते भने नगर प्रमुख र उपप्रमुखमा नमजाको हार व्यहोर्नु पर्यो । स्थानिय तहको निर्वाचनमा एमालेको बलिया मानिएका उम्मेदवार गोविन्द कडेल र मेनुका पाठकलाइ एमाले वाट विद्रोह गरेका शमशेर लामा र काग्रेसका देवेन्द्र लामाले पराजय गरेका हुन । मेयर र उपमेयरमा जित हासिल गरेका लामाद्धयको यो एतिहासिक जित हो । राप्तीको राजनितीमा कायपलट भएको मान्दा हुन्छ । उसो वडागत नतिजा पनि बडो रोचक रहेको छ । वडा नं १ देखि ६ सम्म र वडा नं ८ र ९ मा एमालेले जित निकाल्यो सो स्थानमा आउदा वडा नं ४ र ९ मा काग्रेसका केहि उम्मेदवारले स्थान पाए । ४ मा रमेश श्रेष्ठ र ९ मा रामवावु सुवेदीले चुनाव जिते । सोहि वडामा एमालेलाइ वडा नं १ देखि ४ सम्म दवाव रह्यो । निर्वाचन देखि नतिजा नआउदा सम्म एमालेलाइ बलियो दवाव थियो । वडा नं ३ मा त झण्डै झण्ड अवस्थामा शिवकान्त ओलीले चुनाव जितेका हुन । ओली पहिलो पटक निर्वाचनमा लडेका थिए । वडा नं ७ मा एमालेले अर्काे दुखद अवस्था फेस गर्नुपर्यो । एमालेकी वागी उम्मेदवार यसअघिकी जननिर्वाचित वडाध्यक्ष सुमिता डल्लाकोटीले एमालेका उम्मेदवार छविलाल भुसाललाइ पछि पादै जित हात पारिन । उसोत वाकि ४ सदस्य एमालेले पाएको हो । तर नतिजा आइरहदा सम्म पनि एमालेले स्वतन्त्र उम्मेदवार डल्लाकोटी अर्थात गुलाफको फुललाइ दवावमा राखेको थियो । तर नतिजा फरक आयो । यसकारण एमालेले राप्ती ७ लाइ आफ्नो मानेको एरिया भएता पनि त्यहा सफल हुन सकेन । वडा नं १० देखि १३ सम्ममा यस पटक एमालेले आफ्नो ३ वटा वडाध्यक्ष गुमायो । पक्का मानिएको वडा नं १० जसमा काग्रेस आयो, वडा नं ११ जसमा समाजवादीले जित्यो अनि वडा नं १३ मा काग्रेसले जित हात पारेको हो । वडा नं १० र १३ मा हार व्यहोरेको सम्वभत एमालेलाइ अझ पनि स्वीकार्य छैन । राप्ती १० का अमर लामा र १३ का अध्यक्ष सुर्य बहादुर प्रजा दोहोरिएका हुन । उनिहरु पहाडी क्षेत्रका बलिया एमाले नेता रहेका थिए । तर पनि २०७९ मा एमालेलाइ पहाड फापेन अनि राजनीतीमा फरक नतिजा आयो । स्थानिय निर्वाचनको चर्चासंगै चाडपर्वले घेरिएपछि फेरी जनता प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा होमिए । यो पटक मरेको जागरलाइ व्युझाउदा व्युझाउदै पुरानै अवस्था दोहोरियो । नया अनुहारको पर्खाइमा रहेका राप्तीले चितवन क्षेत्र नं १ मा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे देखि योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेललाइ समेत रुचाएनन । घण्टीका उम्मेदवार हरी ढकाललाइ संसदमा लगे । प्रदेशमा तर्फ भने केहि राहत एमालेले गर्न पाए । यो समय एमालेका उम्मेदवार जगन्नाथ थपलिया विजयी भए । अहिले यहि जितमा राप्तीमा एमाले आफुलाइ बलियो बनाउने दाउमा रहेको छ ।

राजनितीमा पछि पारिएका अनुहार

इमानसिं लामा
बर्ष २०७४ देखि २०७९ को बैशाख सम्म राप्तीमा चर्चामा रहेको नाम हो इमानसिं लामा, मनकारी उपमेयर, सवैका उपमेयर वा हाम्रो इमानसिं लामा धेरै उपमा पाएका लामाले स्थानिय तहको निर्वाचनमा मेयर पदका लागी आकाक्षा देखाएका थिए । तर उनलाइ पार्टीले टिकट दिएन । भन्नेले भन्छन कि लामालाइ मेयरको टिकट नदिएकै कारण एमाले राप्तीमा पछि परेको हो । तर चर्चामा मात्र उनि सिमित रहे । उनलाइ स्थानिय तहको निर्वाचनमा स्थान नदिएपछि प्रदेश सभामा उम्मेदवार बनाउने जनताले अपेक्षा गरेका थिए । सो समयमा समेत उनलाइ पार्टीले टिकट दिएन ।

राजेन्द्र प्रसाद बुर्लाकोटि
लामो राजनितीमा रहेका , काग्रेसले हार्ने चुनावमा पार्टीको लागी चुनावमा उठ्दै पार्टीको इज्जत राखेका राजेन्द्र प्रसाद बुर्लाकोटीलाइ मंसिरमा भएको निर्वाचनमा समेत पार्टीले टिकट दिएन । २०७४ मा हार निश्चित हुदा समेत बुर्लाकोटीले उम्मेदवार भएका थिए । तर बुर्लाकोटीलाइ २०७९ मा पार्टीले कहि कतै टिकट दिएन । अन्तत बुर्लाकोटीले बाघि उम्मेदवारी दिए । उनको उम्मेदवारी पछि फिर्ता लिए । काग्रेसलाइ सर्मथन गरे ।

धन बहादुर गुरुङ
जनजातीको बाहुल्यता रहेको क्षेत्रमा २०७४ को हारलाइ जितमा बदल्न धन बहादुर गुरुङले लामो कसरत गरे । तर उनलाइ काग्रेसले टिकट दिएन । उनि स्वतन्त्र उम्मेदवारको रुपमा आफुलाइ उभाएर अनि करिब करिब ७ हजारको हाराहारीमा मत पनि लिएर आए । उनको यहि मतको कारण काग्रेसका उम्मेदवार किरण भुषण ओलीलाइ आइ लाग्यो । ओलीले ७ हजारको हाराहारीमा पराजय भोगेका थिए ।

भिम पुन
स्थानिय तहमा चर्चामा रहेको नाम हो भिम बहादुर पुन, उनि पुन समाजका केन्द्रिय अध्यक्ष समेत हुन । पुनलाइ स्थानिय तहको राप्ती ७ मा वडाध्यक्षको लागी इच्छा थियो । उनलाइ पार्टीले टिकट नदिएपछि मौन त बसे तर धेरैले उनलाइ पार्टीले सम्मान नगरेको आरोप लगाएका छन ।

२०७९ का नया अनुहकार
स्थानिय तहको निर्वाचनमा केहि नया अनुहारले जित हासिल गरेका छन । यसअघि उनिहरुले जनप्रतिनिधि भएका थिएनन । राप्ती नगरपालिका वडा नं ३,४,११ का वडाध्यक्ष नया अनुहार हुन । आफ्नो आफ्नो राजनैतिक आस्था रहेता पनि वडा नं ३ का अध्यक्ष शिवकान्त ओली यसअघि जनप्रतिनिधि थिएनन । उनि व्यवसायि हुन । वडा नं ४ का अध्यक्ष सामाजिक अभियान्ता हुदै वडाध्यक्ष भएका हुन । वडा न ११ का अध्यक्ष बुद्धि बहादुर तामाङ पनि व्यवसाय वाट जनप्रतिनिधि भएका हुन ।

दोस्रो पटकमा जितेका
राप्ती नगरपालिका वडा नं १० र १३ का वडाध्यक्षले २०७४ व्यहोरेका हारलाइ जितमा परिणत गरेका हुन । २०७४ सालमा समेत उनीहरु जनप्रतिनिधिको रुपमा आफुलाइ जनता माझ उभाएका थिए । वडा नं १० का तेज बहादुर तामाङ र वडा नं १३ का अध्यक्ष अशोक कुमार प्रजा फेरी चुनावमा आएका हुन । यस पटक भने यी दुइलाइ जनताले विश्वास गरेका छन । वडा नं १० मा फेरी दोहोरिएका अमर लामा र १३ मा पनि सुर्य बहादुर प्रजा समेत दोहोरिएका थिए ।

दोह्योरिएका जनप्रतिनिधि
२०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरु मध्ये २०७९ मा पनि निर्वाचित भएका छ । मयर शमशेर लामा वडाध्यक्ष वाट मेयर भएका हुन । उनि वडा न. ४ का अध्यक्ष थिए । उपमेयर देवेन्द्र लामा पनि वडा नं ९ को अध्यक्ष हुदै उपमेयर भएका हुन । राप्ती वडा नं १ मा वडाध्यक्ष सिद्धिलाल स्याङतान, वडा सदस्य राजु राइ , वडा नं २ का वडाध्यक्ष श्यामसुन्दर उप्रेती वडा सदस्य मनमाया डिमडुङ , शान्ति विक , वडा नं ३ मा कविता राइ, सागर राइ पनि दोहोरिएका हुन । वडा नं ४ मा रमिता परियार , वडा नं ५ मा गोमा धरेल, वडा नं ६ मा अध्यक्ष जल्लु महतो थारु वडा सदस्यहरु गुनु विक, राज कुमार तामाङ , वडा नं ७ मा अध्यक्ष सुमिता डल्लाकोटी , वडा नं ८ मा सदस्य हुदै वडाध्यक्षमा पुर्ण पूसाद आचार्य, वडा सदस्यहरु कमला लामिछाने दोहोरिएका हुन । वडा नं ९ मा वडा सदस्य रामकुमार सुवेदी र कार्यपालिका सदस्य आइती माया दराइ , वडा नं १२ मा वडाध्यक्ष अर्जुन प्रजा , वडा सदस्य अशोक जिम्वा, शान्तिमाया सार्कि र कार्यपालिका सदस्य रेल बहादुर प्रजा दोहोरिएका हुन ।

जनप्रतिनिधी र आपसी सम्वन्ध
२०७९ मा राप्ती नगरपालिका मेयर शमशेर लामा र वडा नं ११ का निर्वाचित अध्यक्ष बुद्धि बहादुर तामाङ सम्वन्धले दाजुभाइ हुन । उसो त वडा नं ११ का अध्यक्ष तामाङ र वडा नं ११ मा वडा सदस्य पराजय भएका धर्मजित लामा नाताले साढु भाइ हुन । वडा नं ५ का अध्यक्ष सिताराम बल र वडा नं ११ का वडा सदस्य हिरालाल वल नाताले दाजुभाइ हुन । उसोत हिरालाल वल र सिताराम वल संग वडा नं ११ का सदस्य मरिचमान व्लोन पनि दाजुभाइ हुन ।

विवादको वर्ष
स्थानिय तहको निर्वाचन पछि जनप्रतिनिधीको आपसी झगडा वाट बर्ष २०७९ सुरु भयो भन्दा फरक नपर्ला, बैशाखमा सवै व्यस्त रहे , चुनाव जितेपछि आपसी मनमुटाव नहुने कुरै भएन । स्थानिय सरकार आएपछि राप्तीमा सपथ ग्रहण वाटनै विवाद सिर्जना भएको हो । यो क्रम चैत्र अन्तिम साता बसेको राप्ती नगरपालिकाको १४ औ कार्यपालिका वैठक सम्म देखा परयो । अझ रमाइलो त के छ भने मंसिर र पुषको कार्यपालिका बैठकको निर्णयको बिषयमा समेत विवाद आएको छ । राप्तीमा दुइ चरणमा सपथ ग्रहण भयो । जसमा पहिले मेयर शमशेर लामाले उपमेयर देवेन्द्र लामालाइ सपथ खुवाएका थिए । आशन ग्हणको पोर्टफोलियो नमिलेको भन्दै सो दिन एमालेका जनप्रतिनिधिले सपथ लिएनन, यो पछि भने भोलिपल्ट पालिकामा नगर प्रमुखले सपथ खुवाएका थिए । राप्तीको पहिलो कार्यपालिका बैठक वाटनै विवाद भइरहेको छ । यो विवादको अन्तयको लागी भन्दै १४ औ कार्यपालिका बैठकले पुराना सवै विवाद मिलान गर्न मेयरको संयोजकत्वमा समिती गठन गरेको छ । यसमा नगरका प्रवक्ता श्यामसुन्दर उप्रेती, वडा नं ५ का अध्यक्ष सिताराम वल, वडा नं ८ का अध्यक्ष पुर्ण पूसाद आचार्य , वडा नं १२ का अध्यक्ष अर्जुन चेपाङ र प्रमुख प्रशासकिय अधिकृत निलम कुमार न्यौपाने रहेका छन । समितीले चैत्र २९ गते सम्म विवादलाइ सहज बनाउने प्रयास गरेका छन । माघ महिना वाट पालिकामा प्रमुख प्रशासकिय अधिकृतको अभाव देखिन थाल्यो । यो क्रम चैत्र २२ सम्म देखियो । यो विचमा एमालेका जनप्रतिनिधिले मेयर र उपमेयरका बिषयमा आलोचनात्मक पत्रकार सम्मेलन गरे । यहि बिषयलाइ लिएर मेयर उपमेयरले अर्काे पत्रकार सम्मेलन गरेका थिए । पालिकामा भएका विभिन्न गतिविधिमा अख्तियारमा उजुरी पर्ने समस्याले पनि विवाद भइरह्यो । केहि समय अघि अख्तियारले स्थलगत अनुगमन गदै आवश्यक कागजातको प्रतिलिपि समेत लगेको थियो । पालिकामा हुने गतिविधीको चर्चा सामाजिक सञ्जालमा चर्चित रहे । यसकारण पनि राप्तीमा हुने विवाद छर्लङ भएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार