शनिवार राप्तीका मेयर जनताको घरघरमा

राप्ती । राप्ती नगरपालिकाका मेयर शमशेर लामा शनिबार नगरवासीको घरदैलोमा पुग्ने गरेका छन् । उनी निर्वाचित भएदेखि प्रत्येक शनिबार नगरवासीको घरदैलोमा पुग्दै आएका हुन् । जनताका समस्या, गुनासा सुन्दै आगामी वर्षको बजेटमार्फत सम्बोधन गर्न आफू बिदाको दिन शनिबार पनि जनताको घरघरमा पुग्दै आएको मेयर लामाले बताए । प्रत्यक्षरुपमा उनीहरुसँग भेटघाट गर्दा समस्या पहिचान हुने र सम्बोधनका लागि सहज हुने भएकाले शनिबारीय अभियान सुरू गरेको उनले बताए । ‘हामी निर्वाचित भएको यो पहिलो वर्ष हो’, मेयर लामाले भने, ‘कहाँ कस्तो समस्या छ, गर्नुपर्ने काम के छ, त्यसको पहिचान हुने र आगामी रणनीति बनाउन यसले मद्धत पुग्नेछ । विषेशगरी उनले दीनदुःखीको घरमा पुग्ने कामलाई प्राथमिकता दिने गरेको बताउँछन् । त्यस्ता परिवारको घरमा पुगेर उनले समस्या र गुनासा सुन्नेमात्र नभई तत्काल आवश्यक सहयोग गर्ने पनि उनको भनाइ छ । लामाले भने ‘समस्यामा परेका तत्काल आवश्यक सहयोग गर्छु, अन्य सहयोगका लागि सहजीकरण गर्ने गरेको छु ।’ मेयर लामाले आफ्नो पाँच वर्षे कार्यकालमा त्यस्ता परिवारका लागि पाँच सय घर निर्माण गर्ने प्रतिबद्धता जनाइसकेका छन् । यो वर्ष एक सय घर निर्माण गर्ने अभियानमा उनी छन् । कतिपय ठाउँमा अहिले त्यस्ता परिवारका लागि घर निर्माण भइरहेको छ । शनिबार मेयर लामाले निर्माणाधीन घरहरुको अनुगमन गरेका छन्् । मेयर लामाले आफ्नो नगरपालिका पहाड र समथर भूभाग मिलेर बनेको भन्दै दुवै भूगोललाई समान विकास गर्नेगरी लागिपरेको समेत बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार