कुटपिटबाट हात भाचिदा समेत चितवन प्रहरीले दर्ता गरेन पिडितको जाहेरी

spot_img

चितवन , २८ फागुन ।

चितवनमा कुटपिटबाट हातनै भाचिदा समेत प्रहरीले पिडितको जाहेरी दर्ता गरेको छैन । पिडितले आफूमाथी आक्रमण भएर अंकभंग भएको भन्दै विहिबार प्रहरीमा दिएको जाहेरी प्रहरीले हालसम्म दर्ता गरेको छैन । होलीको समयमा एक हुल युवाहरुको कुटपिटबाट खैरहनी नगरपालिका वडा नम्बर ९ मा बस्दै आएका सुरज गुरुङ सहित अन्य तिनजना घाइते भएका थिए । नेविसंघ भुवानीशंकरको आयोजनामा सिमलटाँडी चोकमा भएको होली विशेष कार्यक्रममा केहि युवाहरुले आक्रमण गरेका थिए । सो क्रममा नेविसंघ भुवानीशंकरका सभापति सुमन ठकुरी समेत घाइते भएका थिए । आक्रमणबाट घाइते भएपछि ठकुरी र गुरुङले २३ गते संयुक्त रुपमा जाहेरी दिएका थिए । संयुक्त जाहेरी दिदाँ राजनितिक बिषय भन्दै प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि गुरुङले २५ गते एक्लै जाहेरी दिदाँ समेत प्रहरीले हालसम्म उक्त जाहेरी दर्ता गरेको छैन । किशोर श्रेष्ठ , विराज सडौला लगायतको समूहले हातहतियार सहित आएर ज्यान मार्ने तरिकाले आक्रमण गरेको भन्दै पिडितले जाहेरी दिएका थिए ।

जाहेरीमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा आवद्ध युवाहरुको संलग्नता देखिएपछि उक्त घटनालाई राजनितिक संरक्षण गर्दै नेपाली कांग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनाल र नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष रामचभन्द्र अधिकारीले स्ववियू निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने र झैझगडा नगर्ने भन्दै कुनै मुद्धामामिला नगर्ने भन्दै शनिबार सहमति गरेका थिए । आक्रमणमा संलग्न तिन जनालाई प्रहरीले शुक्रबार नियन्त्रण लिएको र राजनितिक दलबिचको सहमति पछि शनिबार नै उनीहरुलाई छाडेको थियो ।

उक्त आक्रमणबाट घाइते भएका सुरज गुरुङले आज खैरहनीमा पत्रकार सम्मेलन नै गरेर आफू अन्यायमा परेको र प्रहरीले जाहेरी दर्ता गर्न नमानेको गुनासो गरे । आफू कुनैपनि राजनितिक पार्टी तथा भातृसंगठनमा नरहेको भन्दै उनले राजनितिक नेतृत्वको दवाव आफूले नसहने भन्दै दोषी उपर कारबाहीको माग गरेका छन् । घाइते हुने म अनि कांग्रेस सभापति खनाल मेरो को हुन् र उनले सहमती गर्ने भन्दै गुरुङले प्रश्न उठाएका छन् । प्रहरी प्रशासन राजनितिक नेतृत्वको गुलामी गर्न व्यस्त भएकोले पिडितले न्याय नपाउने अवस्था आएको भन्दै उनले आक्रोश व्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक रामेश्वर कार्कीले भने विद्यार्थीहरु बिचको झैझगडा भनेर मुद्धा दर्ता नगरेको बताए । विद्यार्थीहरुबिचको झगडा भन्दै जिल्ला स्थित राजनितिक नेतृत्वले झैझगडा नगर्ने सहमती गरेकाले पिडकहरुलाई तारेकमा छोडिएको प्रहरी उपरिक्षक कार्कीले समावेशी खबरलाई बताए । उनले अंकभंग हुनेगरि सर्वसाधरणमाथी आक्रमण भएको भए तत्कालै जाहेरी दर्ता गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाली कांग्रसका जिल्ला सभापति राजेश्वर खनालले स्ववियू निर्वाचन नजिएको बेला विद्यार्थीहरुबिचको झगडालाई आपसी समझदारीमा दुई पार्टीको जिल्ला नेतृत्वहरुबिच सहमति भएर पिडकहरुलाई तारेकमा छाड्ने सहमति भएको बताए । उनले नेविसंको कार्यक्रममा भएको झगडा र नेविसंघको इकाई सभापति घाइते भएको बिषयमा आफूहरुबिच सहमति भएको भन्दै अन्य सर्वसाधरण घाइते भएको बिषयमा आफूहरुको हस्तक्षेप नहुने बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार