रेडियो कार्यक्रम मन भित्र गुम्सिएका भावनाहरूको Episode 5 मा होली विशेष २०७९ मुक्तकहरू

नेपालीहरूको महान पर्व फागुन पूर्णिमाको शुभ उपलक्ष्यमा जून तारा साहित्य समाजले होली विशेष २०७९ मुक्तक प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा ४८ जना प्रतियोगीहरुले सहभागी जनाउनु भएको थियो ।  सहभागी सम्पूणर्लाई थप हौसलाको लागि जुन तारा साहित्य समाजले प्रशंसा पत्र प्रदान गरिएको छ । प्राप्त भएका मुक्तक मध्य २२ मुक्तक कार्यक्रम मन भित्र गुम्सिएका भावनाहरुमा बाचन गरिने छ । मुक्तकहरू निम्नानुसार रहेका छन् । 

 

नहोस् द्वन्द्व कोहि कसैसँग शुभकामना छ
छाओस् मनमा खुसी उमङ्ग शुभकामना छ
जिन्दगी पनि रङ्गिन बनोस् होली जस्तै गरि
लागोस् सबको अनुहारमा रङ्ग शुभकामना छ।
मुक्तक प्रेमी ज्ञानेन्द्र सिंह
जाजरकोट

छैन कत्ति यो मनमा हर्ष र उमङ्ग, रङ्ग नदल्नु होला
घात प्रतिघात हुनेगरि अङ्ग-अङ्ग, रङ्ग नदल्नुहोला
लाग्छ अझै महामारीको समय सकिएको छैन मित्रहरू,
तसर्थ होली हो भन्दै जथाभावीसङ्ग,रङ्ग नदल्नुहोला।
हिउँ खतिवडा
कमलबजार ७, अछाम

हेर्ने वाह भन्दै औधी नै दंग होस् अनि पो होलीको मज्जा
आफ्नै माटोको शरिरमा रंग होस् अनि पो होलीको मज्जा
भित्र इर्श्या,डाह,रिस बोकेर फोश्रो सदभाव बाहिर के देखाउनु?
शत्रुता नासिएर उमंगै उमंग होस् अनि पो होलीको मज्जा।
लक्ष्मी स्मृति
बिराटनगर-५

प्रिया आज तिमीसँगै खेलेको होली याद आयो
सप्तरङ्गी रङहरूले भिजेको चोली याद आयो
तिमीले मेरो मुहारमा दल्दा रङ्ग हुन्थ्यो मज्जा
टीका मात्र लगाई दिन्छु भन्ने बोली याद आयो
श्यामकुमार क्षेत्री मुस्कान
नौबहिनी गा,पा ८ प्यूठान
हाल भारत

अस्थिर यो जिन्दगीले विश्राम अझैँ पाएको छैन
जीवनमा खुसी नै खुसीको पल अझैँ छाएको छैन
रङ्ग दल्ने होली खेल्ने त प्रत्येक वर्ष आउँछ जान्छ
यो सादा जीवन रङ्ग्याउने होली अझैँ आएको छैन
सुमन धमला
सिद्धिचरण नगरपालिका १० ओखलढुङ्गा

भावना साटासाट गरौँ आऊ होली खेलौं
कसैसँग रिस नराखि मनाऊँ होली खेलौं
हराउँदैछन् अचेल हाम्रा धर्म संस्कृतिहरू
यसरी सबैजना मिली बचाउँ होली खेलौं
हिमा रोका
मेहेलकुना सुर्खेत

सत्मार्गमा तल्लिन बनोस् तपाईं हाम्रो जीवन
हरपल सधैं स्वाधीन बनोस् तपाईं हाम्रो जीवन
नयाँ नौलो रङ्ग घुलोस् यो होलीको पर्वसङ्गै
इन्द्रेणी झैँ रङ्गिन बनोस् तपाईं हाम्रो जीवन
अन्जु तिमल्सिना घिमिरे
गोदावरी १० ललितपुर

आज आइसक्यो होली तिमी त हराइसक्यौ
तिमीले त एकाएक मन अन्तै सराइसक्यौ
होलीमा तिम्रो सिउँदो रङ्गाउने मन थियो,
मन दुखाउने काम तिमीले आज गराइसक्यौ
विक्रम तिरूवा सलिन
जुम्ला

होली रमणीय होस् कसैलाई रगतको खोली नबनोस्
उछ्रिङ्खल र मागिखाने भिकारीको झोली नबनोस्
एक आपसमा आदानप्रदान होस् शुभकामना सबैमा,
मानवीय नाता रहोस र तुच्छ प्रहाररुपी बोली नबनोस !
रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची,
हाल : बुटवल, रुपन्देही, नेपाल

आउनुहोस् लगाऔं दौरा, सुरुवाल, गुन्यु चोली!
यही संस्कार बसोस् भावी पुस्तामा पनि भोलि!!
विकृति विसंगतिहरू हटाई मनमा वैरभाव नराखी,
भव्य र सभ्य तरिकाले मनाऔं यसपालीको होली!
छविकिरण अधिकारी
बागचौर नगरपालिका
१० पिपलनेटा सल्यान

नेपालीलाई चिनाउने दाैरा सुरुवाल चाेली बनाेस्
नबिझाउने कसैलाई नेपालीको बाेली बनाेस्
रिस-राग सबै भुलि आत्मियता जगाउने एउटा
परम्परा जाेगाउने याे पवित्र पर्व हाेली बनाेस् ।
कल्पना अधिकारी भण्डारी
भरतपुर २१ चितवन

जहाँ खराब नियतले चल्ने संग तर्कनु
पूरा विश्वास दिलाएर छल्ने संग तर्कनु
हामी हिन्दूहरूको महान चाड होलीमा
रङ दल्ने संग होइन बदल्ने संग तर्कनु
अनुराग राम जी
चौकुने ९ सुर्खेत

तिम्रो मेरो माया देखि जल्ने हरु संग बच्नु
अनायसै तिम्रा वरिपरि चल्ने हरु सँग बच्नु
तिमी हामी मिलेर खेलौला नी होली त माया
अनुहार भन्दै सिउँदोमा रङ्ग दल्ने हरु संग बच्नु ।
प्रदिप खतिवडा
खैरहनी ९ पिपरा, चितवन

नाचौँ गाऔँ सबैजना हृदय खोली गरौं रमाइलो
बाँचिन्छ कि मरिन्छ थाहा छैन भोलि गरौं रमाइलो
वर्ष दिनमा आउने यो फागु पूर्णिमा रङ्गै रङ्गको पर्व
हर्ष उल्लासका साथ मनाएर होली गरौं रमाइलो
प्रयासी प्रविना पौडेल
ओखलढुंगा

पहिलोदिन पहाड दोस्रोदिन तराई दिल खोली खेल्नु होला
मनमा रिस राग केही नलिई कन मिठो बोली खेल्नु होला।
बर्ष दिनपछि आउने रंगै रंगको पर्व फागु पुर्णिामाको दिन।
विकृति विसंगतिलाई त्यागेर सभ्य भई होलि खेल्नु होला।
राम रावल सागर
कैलाली

आउनोहोस् एक हौं गाउँसमाज, बिर्सिनु हुँदैन
मानेर हामीहरूले यसरी लाज, बिर्सिनु हुँदैन
होलि पर्व पुर्खादेखि चलेको परम्परा हो साथीहरू
हामीले आफ्नो परम्परा रितिरिवाज बिर्सनु हुँदैन
जगत थापा
बझाङ्ग

माया त अझै लाग्छ नि मर्दैन,यथार्थ यही हो
गलत भयो होला गलत गर्दैन,यथार्थ यही हो
हो,उनको सिउँदो पराईले रङ्ग्याए दिनदेखि,,
कसम, मलाई रङ्ग मन पर्दैन ,यथार्थ यही हो!
दिपक अलोन
कैलाली

नाँच्दै गाउँदै रङ्ग छरी, सबैलाइ होलीको शुभकामना
मनमा हर्ष उमङ्ग भरी,सबैलाइ होलीको शुभकामना
प्राचीनकाल देखीको परम्परा हो रमाइलो गर्नु साथी हो,
स्नेह भर्नु हृदयमा बराबरी,सबैलाई होलीको शुभकामना।
मनिषा विश्वकर्मा
कैलाली

हरेक चाडमा हाँसो खुसी अनि आनन्द हुनुपर्छ
पुर्खा देखि चल्दै आएको चलन बुलन्द हुनुपर्छ
रंगहरुको पर्व होलिले बिदेशीको प्रभाव हटाउदै,
आफ्नोपन झल्काउदै दिने खुसि निष्पन्द हुनुपर्छ
राम न्यौपाने
कैलाली

दल्नु हुन्न अरुलाई अबिर इच्छाविपरीत
मिल्दैन हर्ष खुशी आखिर इच्छाविपरीत
होलि खेल्नु आत्मीय साथीभाइ आफन्तले
नपार्नु कसैले कसैलाई पीर इच्छाविपरीत
रत्ना पुन मगर
रुकुम पश्चिम्

खुसिका साथ उमंगले मनाउनु होलि
प्रेम साटि रमाईलो सँगले मनाउनु होलि
रिस डाहा त्यागि सुमधुर नाता गास्दै
हर्ष उल्लासको रङ्गले मनाउनु होलि
घनश्याम वलि

हामी परदेशीलाई न हर्ष न होलि के गर्नु
जताततै बिचित्र रंगहरु मात्रै घोली के गर्नु
बार घन्टा काम गर्नु साठी डिग्रीको घाममा
मर्नु मात्रै बाँकी आज होकि भोलि के गर्नु
नरेश बिष्ट निशान
बझाङ

जून तारा साहित्य समाजले आयोजना गरेको यस प्रतियोगितामा हाम्रो राप्ती एफएम डट कम मिडिया पार्टनर रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार