आज हिमाली तथा पहाडी जिल्लामा होली, तराईमा भोली : राप्तीका प्रमुख र उप– प्रमुख लामाद्वारा शुभकामना

चितवन । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने परम्परा छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा छ । यसैगरी, द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख छ । राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन । यस पर्वका अवसरमा आज काठमाडौंको वसन्तपुरमा उपस्थित भएर वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडीखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुँछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने परम्परा छ । यो चाडमा थकालीहरू रङ्गीबिरङ्गी पोशाकमा सजिएर स–परिवार भेला भई तीर हान्ने प्रतियोगिता गर्छन् । सातदिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो गरिन्छ । राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले होली पर्वको शुभकामना दिदै आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा स्थानीय सरकारसँगै अघि बढ्न सम्पूर्ण नगरवासिलाई आग्रह गरेका छन् । फागु पूर्णिमाका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रमुख लामाले ‘नेपालभरि र बाहिर पनि खुशियाली प्रकट गर्दै होली अर्थात् पानी र रंग खेलेर मनाइने यस पर्वका अवसरमा म फेरि एक पटक हाम्रो सम्पूर्ण नगरवासिहहरुलाई स्मरण गर्न चाहन्छु,’ उनले सन्देशमा उल्लेख गरेका छन् । उनको सन्देशमा भनिएको छ, ‘फागु पूर्णिमाले विभिन्न मातृभाषाका विविध संस्कृति अंगीकार गर्ने सबै जातजातिका सम्पूर्ण नेपाली बीचको सद्भाव र सुसम्बन्ध अझ मजबुत बनाउन प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’ राप्ती नगरपालिकाका उप–प्रमुख देवेन्द्र लामाले नेपालको पहाड र तराईमा हर्षोल्लासका साथ खेलिने होली पर्वको अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् । उनले होली पर्व धार्मिक तथा सांस्कृतिक पर्व भएको र अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रूपमा मनाउँदै आएको उल्लेख गरेका छन् । उप–प्रमुख लामाले वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्व मुलुकलाई शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम सामाजिक–नैतिक मूल्य–मान्यता र समृृद्धिको बाटोतर्फ लैजान सबैलाई प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार