काठमाण्डाै – एक हप्तायता धेरै ठाउँको मौसम धुम्मिरहेको छ । बिहान मात्रै नभएर दिउँसोको समयमा पनि मौसम सफा छैन । मौसम पानी पर्ला जस्तो हुन्छ, तर पर्दैन।
किन न त – मौसमविद् मञ्जु बासी भन्नुहुन्छ : ‘पश्चिमी वायुको प्रभावका कारण वायुमण्डलमा जलवाष्पयुक्त हावा थुप्रिएको छ । तर, पश्चिमी निम्न चापीय प्रणाली कमजोर हुँदा पानी पर्न सकेको छैन । यसले गर्दा जमिनका धुवाँधुलो उडेर वायुमण्डलमा रहेको पानीमै मिसिरहेको छ । यसले गर्दा मौसम धुम्म भइरहेको छ ।’ पश्चिमी निम्न चापीय प्रणाली पानी पार्ने गरी सक्रिय नहुँदा यसपालि हिउँदमा खासै पानी पर्न सकेन । पानी नपर्दा प्रदूषण बढेको छ ।
गाडीबाट निस्किएका धुवाँसहित धुलोका कणहरु वायुमण्डलमा रहेका पानीका कणहरु टाँसिन थालेकाले भिजिबिलिटीसमेत घट्न थालेको छ । आज पनि धेरै ठाउँको मौसम धुम्म छ भने भिजिबिलिटी घटेको छ । मौसमविद् मञ्जु बासीका अनुसार बिहानको भिजिबिलिटी १५ सय मिटर मात्रै छ । यसले गर्दा उडान अवतरण प्रभावित भएको छ । त्रिभुवन विमानस्थलबाट बिहानको समयमा हुने उडान अवतरण प्रभावित भएका छन् । भिजिबिलिटी १५ सय मिटरसम्ममा अवतरण गर्न सक्ने दुई वटा अन्तर्राष्ट्रिय उडानका जहाज बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन् । तर उडान भने सुरु हुन सकेको छैन । भिजिबिलिटी बढ्दै गएपछि मात्रै उडान थाल्ने विमानस्थल कार्यालयले जनाएको छ ।
पश्चिमी निम्न चापीय प्रणालीकै प्रभावका कारण आज दिउँसो पछि पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षाको अनुमान छ । भोलि भने यो प्रणाली केही सक्रिय हुने मौसमविद्को अनुमान छ । भोलि आजकाे भन्दा धेरै ठाउँको मौसम बदली हुने र केही ठाउँमा हल्का वर्षा हुन सक्ने मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।