जलविद्युत् आयाेजनामा सुरक्षाकाे प्रत्याभूति गराउन इप्पानकाे माग

काठमाण्डानै – स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल (इप्पान) ले जलविद्युत् आयोजना निर्माणका लागि सुरक्षाकाे माग गरेको छ । बुधवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो ।

इप्पानले सिन्धुपाल्चोकको जुगल पालिकामा निर्माण हुन लागेको सीता हाइड्रोपावर जलविद्युत् आयोजना निर्माण स्थलमा फागुन १५ गते स्थानीय एक समूहले गरेको तोडफोड तथा आगजनी र कर्मचारीमाथिको साङ्घातिक आक्रमणको भर्त्सना गरेको छ । जलविद्युत् आयोजनामा स्थानीयको समूहले नै उच्छृङ्खल,अराजक तथा आपराधिक घटना गरेकाे इप्पानकाे भनाइ छ ।

पत्रकार सम्मेलनमा इप्पानका उपाध्यक्ष आशिष गर्गले क्षति भएको ३५ मेगावटको सीता हाइड्रोपावरलाई उचित क्षतिपूर्ति र घाइते भएका आयोजनाका कर्मचारीहरूको सम्पूर्ण खर्च पीडक पक्षले बेहाेर्ने व्यवस्था गराउन सरकारसँग माग गर्नुभयो । उहाँले पछिल्लो समय जलविद्युत् आयोजनाहरूमा अप्रिय घटना भइरहेको भन्दै सरकारले उचित शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले जलविद्युत् जस्ता आयोजनामा स्थानीय वडाध्यक्षसहितको संलग्नतामा यस्ता आपराधिक गतिविधिले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको ऊर्जा क्षेत्रमा नकारात्मक सन्देश जाने बताउनुभयो । यस्ता घटनाले सिन्धुपाल्चोकलगायत जलविद्युत् उत्पादन क्षेत्रमा निजी क्षेत्र निरुत्साहित हुने भन्दै त्यसतर्फ सरकारको गम्भीररूपमा ध्यान जान आवश्यक रहेको उपाध्यक्ष गर्गले बताउनुभयो । उहाँले सरकारले परियोजनाहरूको कार्यस्थलमा हुने यस्ता घटनाहरूलाई निरुत्साहित गर्न तत्काल छुट्टै सुरक्षा संयन्त्र निर्माण गरी सुरक्षाको प्रत्याभूति गराउन, सीता जलविद्युत् आयोजनामा भएको घटनाको छानबिन गरी दोषीमाथि कानुनअनुसार  कारबाही गर्न माग गर्नुभयो ।

त्यस्तै सीता जलविद्युत् आयोजनाका अध्यक्ष सीताराम तिमल्सिनाले आयोजनामा भएको क्षतिपूर्ति र घाइतेको सम्पूर्ण उपचार पीडक पक्षबाट भराउन सरकारसँग माग गर्नुभयो । उहाँले फागुन १५ गते गुम्बाको मानेभञ्याङमा विद्युत् प्राधिकरणको वितरण लाइनमा करेन्ट शर्ट भई स्थानीय एक बालिकाको निधन भएपछि ६० जनाको एक समूहले योजनाबद्धरूपमा आयोजना स्थलमा तोडफोड, आगजनी र कर्मचारीहरूमाथि आक्रमण गरेको बताउनुभयो । विद्युत् प्राधिकरणको लाइनसँग आयोजनाको कुनै सम्बन्ध नभएको उहाँकाे भनाइ छ । उहाँले एक समूहको आक्रमणबाट आयोजनाको आवासीय भवन, विद्युत् गृह, सुरुङलगायतका क्षेत्रमा ठूलो क्षति र सात जना इन्जिनियर घाइते भएका बताउनुभयो । उहाँले आयोजनामा भएको आक्रमणबाट झन्डै १२ करोड रुपैयाँ बराबरको क्षति भएको दाबी गर्नुभयाे ।

अध्यक्ष तिमिल्सिनाले जलविद्युत् निमार्ण कार्यमा सुरुदेखि नै विभिन्न आक्रमणहरू भइरहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार