नेपाल आउने पर्यटकको सङ्ख्या बढ्दै, फेब्रुअरीमा ७३ हजारभन्दा धेरै आए

spot_img

काठमाण्डाै – गएकाे एक महिनामा ७३ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आएका छन् । गएको फेब्रुअरी महिनामा ७३ हजार दुई सय ५५ जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो ।

कोरोना महामारी सुरु भएपछिका दुई वर्ष सन् २०२१ र २०२२ मा घटेको पर्यटक सङ्ख्या यस वर्ष बढेको हो । यसअघि सन् २०२२ को फेब्रुअरीमा १९ हजार सात सय ६६ जना र २०२१ को फेब्रुअरीमा नौ हजार एक सय ४६ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । कोरोना महामारी सुरु हुनुअघि अर्थात् सन् २०१९ को फेब्रुअरीमा एक लाख दुई हजार चार सय २३ जना पर्यटक नेपाल आएका थिए ।

फेब्रुअरीमा पर्यटकको सङ्ख्या बढेसँगै २०२३ को दुई महिनाको अवधिमा नेपाल भ्रमणमा आएका पर्यटकको सङ्ख्या एक लाख २८ हजार तीन सय २९ जना पुगेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल आएका थिए ।

चीन सरकारले फेब्रुअरी ६ देखि आफ्ना नागरिकलाई भ्रमणमा जान खुला गरेको छ । यसको सकारात्मक प्रभाव नेपालमा समेत देखिन थालेको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयाे ।गएको फेब्रुअरीमा दुई हजार दुई सय ६६ जना चिनियाँ पर्यटक नेपाल आएका छन् । जनवरीमा एक हजार चार सय ३६ जना चिनियाँ पर्यटक नेपाल आएका थिए ।

फेब्रुअरीमा भारतबाट १८ हजार चार सय एक जना पर्यटक नेपाल आउका छन् । यस्तै अमेरिकाबाट सात हजार आठ सय ८७ जना, थाइल्यान्डबाट चार हजार आठ सय दुई जना, बेलायतबाट चार हजार तीन सय ४५ जना र दक्षिण कोरियाबाट तीन हजार दुई सय ४६ जना पर्यटक नेपाल आएका छन् । कोरोना महामारीले नराम्रारी प्रभावित बनेको नेपालको पर्यटन उद्योग पुनः लयमा आउन थालेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार