१४ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई मत दिन आग्रह गर्दै नेपाली कांग्रेस बाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै दल र स्वतन्त्र सांसदलाई पत्र लेखेका छन् ।
एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादीले ओलीको पत्रबाट सम्वादको ढोका खुलेको भन्दै निरन्तर सम्वाद रहेमा सहकार्यको वातावरण बन्न सक्ने प्रतिक्रिया दिएको छ ।
फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङले शनिबार मनोनयन दर्ता गराएका छन् । त्यसलगत्तै नेकपा एमालेले नेम्वाङलाई भोट माग्दै संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र स्वतन्त्र सांसदहरुलाई पत्र पठाएको थियो ।
अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर भएको पत्र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र स्वतन्त्र सांसद गरी १७ जनालाई पठाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
उनका अनुसार कांग्रेस बाहेकका सबै दललाई औपचारिक पत्र पठाएर नेम्वाङलाई मत दिन भनिएको छ ।