इन्डियन आयल कर्पोरेसन (आइओसी)को सिलगुडी डिपोबाट ल्याइएको ८० हजार लिटर डिजेल मिसावटयुक्त भेटिएको छ । प्रारम्भिक जाँचबुझ गर्दा डिजेलमा मट्टीतेल मिसाइएको आशंका छ । १० फागुनमा सिलगुडी डिपोबाट २० हजार लिटरका दरले डिजेल लिएर चार ट्यांकर निगमको झापास्थित चारआली शाखा कार्यालयमा आएका थिए ।
नवदुर्गा आयल स्टोर्सको नाममा रहेको मे.१ख २१४९, माता पाथीभरा आयल स्टोर्सको नाममा रहेको मे.१ख २१५१, उत्तरगंगा यातायात प्रालिको नाममा रहेको ना.७ख १५०७ र रिजाल आयल सप्लायर्स एन्ड टे«डर्सको नाममा रहेको ना.७ख ६९७४ नम्बरको ट्यांकरमा आएको कुल ८० हजार लिटर डिजेलमा मिसावट भेटिएको आयल निगमले जनाएको छ ।
निगमको चारआलीस्थित शाखा कार्यालयको पार्किङस्थलमा राखिएका ट्यांकरको प्रत्येक चेम्बरमा रहेको डिजेलको नमुना परीक्षण गर्दा घनत्व तोकिएको दरभन्दा धेरै अन्तरले फरक परेको थियो । त्यसपछि चारवटै ट्यांकरको तेलको गुणस्तरमा फरक परेको व्यहोरा केन्द्रीय कार्यालयमा जानकारी गराएको चारआली कार्यालय प्रमुख भीम विकले बताए ।
‘चार ट्यांकरमा रहेको ८० हजार लिटर डिजेल मिसावटयुक्त भेटिएकोबारे केन्द्रीय कार्यालयलाई जानकारी गराएको छु,’ उनले भने ।
केन्द्रीय कार्यालयमा गरिएको पत्राचारअनुसार १० फागुनमा आइओसीको सिलगुडी डिपोमा मे.१ख २१४९ नम्बरको ट्यांकरमा २० हजार लिटर डिजेल लोड गरिएको थियो । सिलगुडी डिपोमा उक्त ट्यांकरमा रहेको डिजेलको घनत्व आठ सय २९ किलो प्रतिघनमिटर मापन गरिएको थियो । करिब ५० किलोमिटर दूरी पार गरेर चारआली (झापा)स्थित निगमको शाखा कार्यालय आएको सोही ट्यांकरको डिजेलको घनत्व मापन गर्दा आठ सय १३ किलो प्रतिघनमिटर पाइएको थियो । निगमले २.५ किलो प्रतिघनमिटरसम्मको घटबढलाई मात्र मान्यता दिने गरेको छ । तर, १६ किलो प्रतिघनमिटरको घनत्व फरक आउनु अस्वाभाविक भएको निगमको भनाइ छ ।
त्यसैगरी, अर्को ट्यांकरमा रहेको डिजेलमा आइओसीको सिलगुडी डिपोले आठ सय २५ किलो प्रतिघनमिटर घनत्व मापन गरेकोमा निगमको चारआली कार्यालयमा परीक्षण गर्दा आठ सय १२ किलो प्रतिघनमिटर मात्र घनत्व पाइएको थियो । आयल निगमले आयात गर्ने डिजेलको घनत्व सामान्यतया आठ सय २० देखि आठ सय ५० किलो प्रतिघनमिटर हुने गर्छ । तर, समातिएका चारवटै ट्यांकरको घनत्व तोकिएभन्दा धेरै कम भएपछि मट्टीतेल मिसावटको आशंका गरिएको छ । किनभने, मट्टीतेलको औसत घनत्व सात सय ९० किलो प्रतिघनमिटर हुने गर्छ । डिजेलको भन्दा न्यून घनत्व भएको मट्टीतेल सजिलै मिसावटसमेत हुने गर्छ ।
निगम प्रवक्ता विनीतमणि उपाध्यायले झापाका पेट्रोलपम्पलाई वितरण गर्ने गरी भित्रिएको डिजेलमा अस्वाभाविक दरले अन्य कुनै वस्तु मिसावट भएको जानकारी प्राप्त भएको र छानबिनका लागि समिति बनाएको जानकारी दिए । उनका अनुसार केन्द्रीय कार्यालयमा कार्यरत प्रबन्धक कमला न्यौपाने नेतृत्वमा गठित छानबिन समिति शनिबार साँझ झापा पुगिसकेको छ ।
समितिमा निगमको १ नम्बर प्र्रादेशिक कार्यालय, विराटनगरमा कार्यरत प्राविधिक अधिकृत वीरेन्द्र मिश्र र पेट्रोलियम गुणस्तरसम्बन्धी प्रयोगशालामा कार्यरत अधिकृत शिवहरि आचार्य छन् । समिति संयोजक न्यौपानेले चाँडै छानबिन सकाएर सत्यतथ्य बाहिर ल्याउने बताइन् । ‘साँझ मात्रै झापा पुगेका छौँ, अब छानबिन सुरु गर्छौँ,’ उनले भनिन् ।
यसअघिका घटनामा ट्यांकरको एक–दुईवटा चेम्बरमा रहेको तेलमा मिसावट हुने गरेको भेटिएको थियो । पछिल्लोपटक ०७७ असोजमा आइओसीको बरौनी रिफाइनरीबाट अमलेखगन्ज आएको तीन ट्यांकर र काठमाडौंको थानकोट आएको एउटा ट्यांकरमा ल्याएको पेट्रोलमा मिसावट पाइएको थियो । त्यतिखेर चारवटै ट्यांकरमा रहेको ८० हजार लिटर पेट्रोलमध्ये ३६ हजार लिटरमा मात्र मिसावट पुष्टि भएको थियो । ३६ हजार लिटर पेट्रोलमा नौ हजार लिटर मट्टीतेल र पेन्ट्समा प्रयोग गरिने गुणस्तरहीन ‘मिनरल टर्पेन्टाइन आयल’ मिसावट भएको पाइएको थियो । यसपटक भने ट्यांकरमा आएको सबै तेलमा मिसावट भेटिएकाले सूक्ष्म अध्ययन गर्न छानबिन टोलीलाई जिम्मेवारी दिएको प्रवक्ता उपाध्यायले बताए ।
भारततिरै मिसावट गरिएको आशंका
नेपाल–भारत सीमावर्ती मेची पुलबाट करिब १५ किलोमिटरको दूरीमा निगमको चारआली शाखा कार्यालय छ । व्यस्त पूर्व–पश्चिम राजमार्ग हुँदै ट्यांकर गुड्ने भएकाले नेपालपट्टि मिसावट हुने सम्भावना कमजोर छ । भारतपट्टि भने करिब ३५ किलोमिटरको दूरी छ । भारतमा कोटाको मट्टीतेलसमेत पेट्रोलपम्पमा ‘गोप्य’ रूपले पाइने गरिएको छ । कोटामा पाइने यस्तै मट्टीतेल भारतीय पेट्रोलपम्पबाट वा कुनै बिचौलियाबाट खरिद गरी चालकले डिजेलमा मिसावट गरेको हुन सक्ने निगम अधिकारीको भनाइ छ ।
नेपालमा डिजेल र मट्टीतेलको मूल्य एउटै भए पनि भारतमा डिजेलभन्दा मट्टीतेलको मूल्य सस्तो छ । सिलगुडीमा शनिबार डिजेलको मूल्य ९२.७४ भारु प्रतिलिटर तोकिएको छ । डिजेलभन्दा कोटाको मट्टीतेल ६३ भारु र सामान्य मट्टीतेल करिब २२ भारु सस्तो छ ।
‘भारतमा डिजेलभन्दा मट्टीतेलको मूल्य प्रतिलिटर कम्तीमा ३० रुपैयाँसम्म सस्तो छ । त्यसैले डिजेलको केही परिमाण झिकेर बेच्ने र सस्तो मूल्यको मट्टीतेल मिसाएर ल्याएको हुन सक्ने आशंका छ,’ स्रोतले भन्यो । मिसावट गरिएका चारवटै ट्यांकरमा प्रयोग गरिएको आधुनिक लकिङ भने यथावत् देखिएको छ । तेल मिसावटका लागि प्रत्येक चेम्बरको ढक्कन खोल्न र लगाउन लकिङ खोल्नुपर्ने र त्यसका लागि लकिङ तोड्नुपर्ने हुन्छ । किनभने लकिङ खोल्ने साँचो निगमको डिपोमा मात्र हुन्छ । तर, लकिङ नतोडी तेलमा मिसावट भएको ट्यांकर फेला परेपछि निगम कर्मचारी झस्किएका छन् । आयल निगम प्रवक्ता विनीतमणि उपाध्यायले मिसावट र लकिङका विषयमा छानबिन समितिले प्रतिवेदन दिएपछि सत्य बाहिर आउने बताए ।
कर्मचारी र पेट्रोलपम्प व्यवसायीको मिलेमतोमा मिसावटको आशंका
निगमको चारआली (झापा)स्थित शाखा कार्यालयमा इन्धन भण्डारणगृह छैन । त्यसैले आइओसीको सिलगुडी डिपोबाट तेल लिएर आएको ट्यांकरलाई पार्किङस्थलमा खडा गरेर सामान्य गुणस्तर परीक्षण गरी सोझै पेट्रोलपम्पमा पठाइने गरिएको छ ।
चारआली कार्यालयमा पेट्रोलपम्प सञ्चालकले नै इन्धन ढुवानी गर्ने बहुसंख्यक ट्यांकर करारमा लगाएका छन् । पम्प सञ्चालकले नै आइओसीको सिलगुडीबाट तेल ल्याउने र निगम कार्यालयमा सामान्य परीक्षण गराई आफ्नै पम्पसम्म डिजेल–पेट्रोल ओसार्ने गरेका छन् । आफ्नै पम्पका लागि तेल ल्याउने भएकाले ठूलो परिमाणमा मिसावट गर्न पम्प व्यवसायीले हिम्मत गरेको हुन सक्ने निगम अधिकारीहरूको भनाइ छ । किनभने पम्पमा आइसकेको तेलबारे कुनै गुनासो वा उजुरी भए मात्र गुणस्तर तथा नापतौल विभागले अनुगमन गर्ने गरेको छ । नत्र, निर्वाध बिक्री हुने गर्छ ।
पम्प व्यवसायीको यस्तो हर्कतलाई आर्थिक प्रलोभनमा परी निगमको चारआली कार्यालयदेखि विराटनगर कार्यालयसम्मका कर्मचारीले साथ दिएको हुन सक्ने स्रोतको भनाइ छ । यसपटक समातिएका ट्यांकरको सबै पाँचवटै च्याम्बरमा मिसावटयुक्त डिजेल भेटिएपछि केन्द्रीय कार्यालयका उच्च अधिकारीहरू अचम्मित छन् । किनभने यसअघिका घटनामा कुनै एक–दुई च्याम्बरमा मात्र मिसावटयुक्त तेल भेटिने गरेको थियो । ‘एउटा ट्यांकरमा ल्याएको सबै तेलमा मिसावट भेटिनु अचम्मको कुरा हो,’ निगमका एक अधिकारी भन्छन्, ‘अझ भण्डारणगृह नभएको कार्यालयमा यस्तो अपराध गर्न सहज हुन्छ । त्यसैले यस्तो अपराधमा पेट्रोलपम्प सञ्चालक र हाम्रै कर्मचारीको गडबढी छ कि भन्ने कुरामा धेरै आशंका छ ।’