काठमाण्डाै – तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर ६ चुहानडाँडाको हात्तीखर्कमा लागेको डढेलोबाट बस्ती जोगाउन लागि अहिले पनि सुरक्षाकर्मी र स्थानीयवासीले पहल गरिरहेका छन् । खैरेनी निबुटार जङ्गलमा सुरु भएको डढेलो बस्तीमा पस्दा हिजो १४ घर जलेर नष्ट भएका थिए ।
डढेलोबाट अरु बस्तीलाई जोगाउन नेपाली सेना, प्रहरी लगायत स्थानीयले रातभर प्रयास गरेका वडा नम्बर ६ का वडाध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । झाडी रहेको जङ्गलमा डढेलो धेरै फैलिएकोले तत्काल नियन्त्रणमा गर्न कठिन भएकाले बस्ती जोगाउनका लागि प्रयास भइरहेको उहाँले बताउनुभयो । जङ्गलमा लागेको आगो नियन्त्रणमा नआउँदा नजिकका अरु बस्तीसमेत जोखिममा छन् । हिजो डढेलो पसेको बस्ती तामाङ समुदायको हो ।
बस्तीमा सबै घर खरले छाएका थिए । खरको छाना भएका घरहरुमा डढेलोको आगो पुगेपछि निभाउनै नसकिएको अध्यक्ष सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो ‘सेना, प्रहरी र स्थानीयले सक्दो प्रयास गर्दा पनि सकिएन, दमकल लगिएको भए पनि बस्तीमा पुग्न सकेन, माथिबाट हानेको पानीको फोहराले काम गरेन ।’
हिजो आगो निभाउने क्रममा ५० वर्षकी याङ्डोल्मा तामाङ घाइते हुनुभएको छ । घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ । १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खाली रहेको वडाध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिनुभयो ।
आगलागीबाट नौ परिवारको ४१ जना विस्थापित भएका छन् । घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ । आगलागीबाट सोमबहादुर तामाङ, वीरधन घिसिङ, आशबहादुर घिसिङ, भीमबहादुर वाइबा, सूर्यबहादुर योञ्जन र सुरेन्द्र वाइबाको घर जलेर नष्ट भएको छ ।
दधिराम वाइबाको घरमा बस्दै आउनुभएका दोर्जे बल, दलबहादुर तामाङको घरमा बस्दै आउनुभएका सुवास घिसिङ र अमरबहादुर वाइबाको घरमा बस्दै आउनुभएका लामामणि तामाङको घरसँगै अन्नपात र लत्ताकपडा नष्ट भएको छ ।
राईबहादुर तामाङ, डिकमान तामाङ, शङ्खर योञ्जन, जसबहादुर घिसिङ र भक्तबहादुर वाइबाको खाली घर जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीयका गोठमा रहेका पशुचौपाया जलेर मरेका छन् ।