सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गणीमाई बाहिनी मकवानपुरले भूकम्प र आगलागीसम्बन्धी कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर महानगरपालिका–२ क्याम्पाचौरमा कृत्रिम अभ्यास गरेको हो ।
भरतपुर महानगरपालिका र नेपाल रेडक्रस सोसाइटी चितवन शाखाको सहयोगमा आज पहलता नामक नाटकको कृत्रिम अभ्यासमा गरिएको हो । नेपाल भूकम्पको जोखिमका दृष्टिले ११ औँ स्थानमा रहेको छ । भूकम्पका समयमा कसरी उद्धार गर्ने र आगलागीका समयमा कसरी क्षति काम गर्ने भन्ने विषयमा कृत्रिम अभ्यास गरिएको हो ।
कृत्रिम अभ्यासको अवलोकन पछि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सबै खाले जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । जोखिमको समयमा उद्धार टोलीलाई समेत तयारी अबस्थामा राखिनुपर्ने उहाँको भनाइ थियो । विपत्ति समय हेरेर नआउने भन्दै उहाँले यस्ताखाले जोखिम न्यूनीकरणमा महानगर सधैँसँगै रहेको बताउनुभयो । विपद्भन्दा हामीले बनाएका संरचना समस्याको रुपमा रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “विपद्का समयमा हाम्रा संरचनाले ठूलो क्षति पु¥याउने गरेको छ ।”
चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नियमितरुपमा गरिने यस्ता अभ्यासले जनताको सुरक्षाका विषयमा ज्ञान बढ्दै जाने बताउनुभयो । जिल्लामा रहेका सबै पालिकासँगको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समितिले काम गर्दै आएको उहाँले बताउनुभयो । कार्यक्रममा बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक लक्ष्मणबहादुर सिंहले विपद्को समयमा सशस्त्र प्रहरी बल सधैँ अग्र पङ्क्तिमा रहेर काम गर्दै आएको बताउनुभयो । रासस