चराका कारण समस्यामा पोखरा विमानस्थल

१ जनवरीदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चराका कारण समस्यामा परेको छ । सोमबार विमानस्थलमा अवतरण गर्न लागेको बुद्ध एयरको विमानमा दुइटा गिद्ध ठोक्किएर झरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । तर, मंगलबार भिडियो सामाजिक सञ्जालमा आएसँगै विमानस्थल प्रशासनसँगै कम्पनीले चरा विमानमा ठोक्किएको नभई अन्य कारणले झरेको जिकिर गरेका छन् ।

पोखरा विमानस्थलका सूचना अधिकारी विष्णु अधिकारीले सोमबार विमानमा चरा नठोक्किएको बताए । चरा खसेको भन्ने कुरा सत्य हो, तर विमानमा नठोक्किएको उनको भनाइ छ । उडिरहेको विमाननजिकै आएका चरा जहाजको आवाज वा हावासँगै अन्य कुनै कारणले खसेको हुन सक्ने उनको भनाइ छ । तर, प्रत्यक्षदर्र्शीले भने चरा विमानमा ठोक्किएर नजिकै
रहेको गल्फकोर्समा खसेको बताएका छन् ।

गल्फर भुवन गुरुङ भन्छन्, ‘हिमालयन गल्फकोर्समा दिउँसो करिब ३ः३० बजेतिर गल्फ खेलिरहेका थियौँ । गल्फ कोर्सको माथि जहाज आएसँगै बम पड्केजसरी एक्कासि आवाज आयो । हेर्दा त चरा ठोक्किएको रहेछ । त्यसपछि जहाज अगाडि बढ्यो, ठोक्किएको चरा भने घुम्दै–घुम्दै गल्फ मैदानमा खस्यो ।’

विमानस्थलआसपासमा रहेका खोला, खोल्सी र नहरमा फालिने सिनोका कारण चराहरू सो क्षेत्रमा आउने गर्छन् । जसले गर्दा विमान उडान र अवतरणमा समस्या खडा भएको हो । विमानस्थलले चरा धपाउने यन्त्रसँगै कर्मचारीसमेत खटाएको छ । यसअघि २ माघमा समेत एक विमानमा चरा ठोक्किएको थियो । २ माघको सो घट्ना विमानस्थलले गुपचुप राखेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार