वासिङ्टन चीन–अमेरिकी सम्बन्धका आधारमै चीन–युरोप सम्बन्ध निर्धारण होस् भन्ने चाहन्छ, तर यो चाहना यथार्थभन्दा टाढा छ

विदेश मामिलासम्बन्धी केन्द्रीय आयोगका कार्यालय निर्देशक तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरोका सदस्य वाङ यी अहिले युरोप भ्रमणमा छन् । उनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोना, इटालीका उपप्रधानमन्त्री तथा विदेश मामिला तथा अन्तर्राष्ट्रिय सहयोगमन्त्री एन्टोनियो ताजानी र इटालीका राष्ट्रपति सर्जियो माटारेल्लालगायत युरोपेली नेतासँग भेट गरेका छन् ।

उनले हंगेरी र रुसको पनि भ्रमण गर्नेछन् र जर्मनीमा ५९औँ म्युनिख सुरक्षा सम्मेलनमा भाग लिन जानेछन् । वाङको भ्रमणमा आएका प्रतिक्रियाले ‘रिबुट’ (पुनर्ताजगी) भइरहेको संकेत गर्छ । कोलोनाले महामारीका कारण गुमेको समयको पूर्ति गर्न आवश्यक रहेको बताएकी छिन् र म्याक्रोनले चीनसँग सम्बन्ध पुनस्र्थापित गर्ने समय आएको बताएका छन् ।

विगत तीन वर्षयता चीन र युरोपले कोभिड— १९ महामारीको प्रभावका कारण प्रत्यक्ष सम्पर्क र आदानप्रदानका अवसर गुमाएका छन् । यसबीच विश्वव्यापी माहोलमा महत्वपूर्ण परिवर्तन भएका छन् । विशेषतः रुस–युक्रेन द्वन्द्वको वृद्धिपछि परिवर्तन देख्न सकिन्छ । यद्यपि, सञ्चारको कमीले केही युरोपेलीले चीनलाई गलत ढंगले बुझेका छन् जसले आंशिक रूपमा चीन–युरोप साझेदारीमा अवरोध पु‍र्‍याएको छ ।

वास्तवमा नितान्त आन्तरिक स्वार्थबाहेक चीन र युरोपबीच खासै आधारभूत भिन्नता छैनन् र संवादका कैयौँ ढोका खुला नै छन् । दुवै पक्षले विश्व सुधारका लागि ग्लोबल गभर्नेन्स (विश्वव्यापी शासन)जस्ता धेरै विषयमा चीन–युरोपेली साझेदारीको शक्तिलाई पूर्ण रूपमा उपयोग गर्नुपर्छ ।

यथार्थमा चीन र युरोपबीच व्यापक सहमति, आपसी हित र साझा अडान देखिन्छन् । म्याक्रोनले बहुपक्षीयतालाई समर्थन गर्ने, ब्लक (क्षेत्रगत) द्वन्द्वलाई अस्वीकार गर्ने र विश्वव्यापी विभाजनलाई रोक्ने आफ्नो समर्पणलाई पुनः पुष्टि गरेका छन् । यो रणनीतिक अडान युरोपको विशिष्ट अडान हो र यो चिनियाँ अडानसँग मिल्छ पनि । युरोप मूलतः चीनसँग सहकार्य, वार्ता र अन्तत्र्रिmया बलियो होस् भन्ने चाहन्छ । वाङले युरोप भ्रमणका क्रममा पाएको भव्य आतिथ्यले अन्यथा पुष्टि हुँदैन ।

उसो त वासिङ्टन चीन–अमेरिका सम्बन्धका आधारमै चीन र युरोपको सम्बन्ध निर्धारण होस् भन्ने चाहन्छ, तर यो चाहना यथार्थभन्दा टाढा छ । सन् १९६० को दशकमा जनरल चाल्र्स डी गौले (फ्रान्सका तत्कालीन राष्ट्रपति)ले कूटनीतिक सम्बन्ध कायम गर्ने आफ्नो इच्छा व्यक्त गर्दै चीनलाई व्यक्तिगत पत्र लेख्दा अमेरिकाले चीनलाई घेरेको थियो ।

चीन र अमेरिकाबीचको वर्तमान गम्भीर अवस्थाले चीन र युरोपबीचको सम्बन्धलाई निःसन्देह असर गरिरहेको छ, यद्यपि यो परिस्थितिले चीन–युरोप सम्बन्धको स्वतन्त्र विकासको महत्वलाई पनि जोड दिन्छ । दुई विश्व शक्तिका रूपमा चीन–युरोप सम्बन्धमा अन्तर्निहित विकास खाका र गतिशीलता मौजुद छ । चीनले सधैँ चीन–युरोप सम्बन्धलाई रणनीतिक दृष्टिकोणबाट हेरेको छ र युरोप पनि चीनसँग परस्पर लाभको सम्बन्ध निर्माण गर्नेतर्फ अग्रसर छ ।

युरोपले सामना गरिरहेको वर्तमान चुनौतीबारे चिनियाँ जनता सचेत छन् । महाद्वीपलाई पिरोल्ने दुई मुख्य समस्या हरित डिजिटल संक्रमण र रुस–युक्रेनबीचको द्वन्द्व हुन् । अमेरिकाले यी दुई मुद्दाका सन्दर्भमा आफ्नो स्वार्थपूर्ति गर्न युरोपको सुरक्षा एवं हितलाई नष्ट गर्दै युरोपलाई बलीको बोको बनाइरहेको छ, अर्थात् स्पष्ट रूपमा अमेरिका असहयोगी भएको देख्न सकिन्छ ।

चिनियाँ प्रतिनिधिमण्डलको युरोप आगमन हुनुअघि ‘युरोपले प्रेम (सम्बन्ध विस्तार)को मनसाय नराखेको’ भएर भ्रमणमा ‘मेलमिलाप हुनेछैन’ भन्दै अमेरिकी मिडियाले आकलन गरेका थिए । यो टिप्पणी अमेरिकी मिडिया आलोचनाभन्दा पनि ती मिडियाको संकीर्ण इच्छाको प्रतिबिम्ब हो । यी मिडिया चीन र युरोपबीचको सम्बन्ध बिग्रियोस् भनेर उत्सुक छन् र सम्बन्ध सुधार नहोस् भन्ने चाहन्छन् । यसकारण यी मिडियालाई चीन–युरोप सम्बन्धको मानक बुझ्न चुनौतीपूर्ण हुनेछ ।

इतिहासले संकथन, सम्पर्कको पुनरुत्थान र विस्तारले प्रायः एक आशाजनक सुरुवातलाई प्रतिनिधित्व गर्छ भन्ने देखाउँछ । वाङको भ्रमणपछि युरोपियन युनियनले यही महिनादेखि चिनियाँ नागरिकलाई उडानपूर्व कोभिड नेगेटिभ रिपोर्टका लागि गरिने परीक्षणको आवश्यकतालाई पनि खारेज गर्नेछ ।

फ्रान्सले पनि चिनियाँ नागरिकको आगमनमा लगाइएका नियमनलाई खुकुलो बनाउने घोषणा गरेको छ । यी निर्णयलाई सकारात्मक कदमका रूपमा लिइएको छ । यसबाहेक चीन–युरोपियन युनियन लगानीसम्बन्धी बृहत् सम्झौताको निष्क्रियतालाई पनि तोड्न आवश्यक छ किनभने सात वर्षको कठिन वार्ताबाट आएको पारस्परिक लाभकारी सम्झौतालाई सजिलै उपेक्षा गर्न सकिँदैन । रुस–युक्रेन संकटका सन्दर्भमा चीन र युरोपले एउटै मत राख्छन्, अर्थात् युद्धविराम र शान्तिवार्ता । दुवै पक्ष पारस्परिक हित हुने राजनीतिक समाधान खोज्न राजनीतिक एवं कूटनीतिक प्रयास गर्न पनि इच्छुक छन् ।

चीन र युरोपले प्रगतिका लागि सहकार्यलाई पुनः सुरु गर्नुपर्छ । वाङले भनेझैँ चीन र युरोपले सकेसम्म चाँडो कदम चाल्नुपर्छ । यो दायित्व र अत्यावश्यकताको भावनाको परिणाम हो । चीन र युरोपबीचको सम्बन्ध लामो समयदेखि रहेको छ । हामी शताब्दीमा नदेखिएका ठूला परिवर्तनमा विश्वास गर्छौँ र युरोपले रणनीतिक गल्ती गर्नेछैन, अर्थात रणनीतिक साझेदार चीनलाई आफ्नो प्रतिद्वन्द्वी बनाउनेछैन । चीन–युरोप सम्बन्धको भविष्य अशान्त र अनिश्चिततातर्फ जाने देखिन्छ तैपनि यो भविष्यले सम्बन्धलाई असल दिशातर्फ डोर्‍याउनुपर्छ । विश्वका दुई ठूला शक्ति, ठूला बजार र प्रमुख सभ्यताका रूपमा चीन र युरोपका लागि सम्बन्ध सुधार आकांक्षा र उद्देश्य हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार