१५ दिने मिथिला मध्यमा परिक्रमा विधिवत् रुपमा सुरु

काठमाण्डाै – मिथिलाको चर्चित सांस्कृतिक उत्सव १५ दिवसीय मिथिला मध्यमा परिक्रमा विधिवत् रूपमा सुरु भएको छ ।  गएकाे बिहीवारदेखि सुरु भएको परिक्रमा अहिले पनि जारी रहेको हो । धनुषाको मिथिलाबिहारी नगरपालिकामा रहेकाे ठेरा कचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट निस्केको रामसीताको डोला जानकी मन्दिरमा दर्शन गराएर जनकपुरधामको दक्षिणी ढोकामा रहेको हनुमान गढीमा पुगेपछि परिक्रमाको विधिवत् सुरुवात हुने परम्परा छ । नेपाल र भारतका गरी १ सय ३३ किलोमिटर लामो यस पैदल यात्रामा हजारौँ श्रद्धालु सहभागी हुन्छन् ।

परिक्रमामा सहभागी श्रद्धालुहरु सोमवार जनकपुरधाममा विश्राम गरेर मङ्गलवार आज बिहानै भारतको कल्याणेश्वरका लागि प्रस्थान गरेका छन् । परिक्रमाको डोलालाई मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले काँध लगाएर विधिवत् सुरुवात गर्नुभएको थियो ।

मुख्यमन्त्री यादवले मिथिला मध्यमा परिक्रमाको डोलाको दर्शन गर्न पाउँदा आफूलाई आत्मीय आनन्दको अनुभूति भएको बताउनु भयो । उहाँले आउने दिनमा मधेस सरकार मिथिला बिहारी क्षेत्रलाई मिथिला बिहारी विकास परिषद् बनाएर विकास गर्नुका साथै परिक्रमा मार्गलाई सहज र सुविधायुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । परिक्रमाको इतिहास उल्लेख नभए पनि मध्यमा परिक्रमालाई व्यवस्थित गर्नुमा धनुषाको कचुरी मठको प्रयासलाई सह्रानीय मान्न सकिन्छ । त्यही मन्दिरले अहिले पनि मिथिला मध्यमा परिक्रमाको नेतृत्व गर्ने गरेको छ ।

परिक्रमालाई व्यवस्थित पार्नका लागि कचुरी मठका तत्कालीन महन्थ लाल शरणले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । नेपाल र भारत बीचको धार्मिक सांस्कृतिक महत्त्वलाई मिथिला मध्यमा परिक्रमाले वर्षौँदेखि प्रगाढ बनाउँदै आइरहेको छ । यसलाई व्यवस्थित गर्न सकिए दुवै देशको पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास स्थानीयको छ ।

यसलाई व्यवस्थित पार्नेतर्फ सरकारको ध्यान जान नसकेको उनीहरुको गुनासो छ । हरेक वर्ष हुने परिक्रमामा भक्तजनले १५ दिनमा नेपालको १ सय ७ र भारतको २६ किलोमिटरको दूरी पैदल यात्रा गर्छन् । पवित्र धार्मिक स्थलहरूको परिक्रमा गर्दा पाप नाश हुनुका साथै पुण्य मिल्ने जनविश्वास छ ।

परिक्रमा अवधिभर सहभागीहरुले झाँकी, भजन, किर्तन पनि गर्छन् । नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतिक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार