दलहरु एक भएर देश विकासमा जुट्नुपर्छ : अर्थमन्त्री थपलिया

रत्ननगर । रत्ननगर वडा नं–३ को आयोजनामा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका अर्थमन्त्री जगन्नाथ थपलियालाई स्वागत तथा सम्मान कार्यक्रम गरिएको छ ।

सम्मान कार्यक्रममा अर्थमन्त्री थपलियाले अब दलहरु विभाजित भएर होइन, सामूहिक छलफल गरेर देश विकासमा जुट्नुपर्ने बताए ।

चितवन क्षेत्र नं–१ (ख) चुनावी प्रतिस्पर्धाबाट आफू विजयी भए पनि पूर्वाधार विकास, शैक्षिक विकास र सामाजिक विकासमा आफ्नो र अर्को नभनीकन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । रत्ननगर–३ को नदी कटानको समस्याबारे आफू जानकार रहेकाले आफ्नो एकमुठी सास रहेसम्म विकास निर्माणमा सेवक भएर लागिपर्ने वचन दिए ।

कार्यक्रमका विशेषअतिथि रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले योजनाको प्राथमिकीकरण अनुसार विकास निर्माणका योजना सञ्चालन गर्नुपर्ने र सञ्चालित योजनाका सन्दर्भमा जनताले अपनत्व राख्दै काम भए/नभएको चासो राख्नुपर्ने बताए ।

उनले क्षेत्र नं १ अन्तर्गत वडा नं–३ बाढीग्रस्त क्षेत्र भएकाले कयरखोला नियन्त्रणका लागि मन्त्रालयबाट प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

रत्ननगर–३ का वडाध्यक्ष सोहेन्द्रराज खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष खरेलले रत्ननगर-३ को समग्र समस्याप्रति मन्त्रीज्यू स्वयं जानकार रहेकाले विकास निर्माणका आयोजना सञ्चालनका लागि मन्त्रालयमा आफैँ बोलाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य उत्तम आचार्य, नेकपा (माओवादी केन्द्र) का वडा कमिटी अध्यक्ष हिमालय खनाल, नेकपा क्रान्तिकारी माओवादीका वडा कमिटी अध्यक्ष चन्द्रप्रसाद नेपाललगायतले मन्तन्य व्यक्त गर्दै वडा नं–३ को समस्या समाधानका लागि मन्त्रीसँग अपेक्षा राखेको बताए ।

वडा सदस्य शिव खनालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन वडा सदस्य ईश्वरराज जमकट्टेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार