कार्यसम्पादन मूल्यांकनमा राप्ती नगरपालिका दोस्रो

चितवन । कार्यसम्पादन मूल्यांकनमा पूर्वी चितवनको राप्ती नगरपालिका दोस्रो भएको छ । बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्यांकनमा राप्ती नगरपालिका दोस्रो भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०÷८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकांकका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्यांकन गर्ने गर्दछ । देशभरिका अन्य छ नगरपालिका भन्दा राप्ती दोस्रो भएको हो । आयोगले दिएको जानकारीअनुसार जिल्लाका सात स्थानीय तहमध्येमा भरतपुरले ७२ दशमलव २२ प्रतिशत अंक प्राप्त गरी पहिलो, राप्ती नगरपालिकाले ७० दशमलव ८८ प्रतिशत अंक प्राप्त गरी दोस्रो, माडी नगरपालिकाले ६० दशमलव १५ प्रतिशत अंक अंक प्राप्त गरी तेस्रो, इच्छाकामना गाउँपालिकाले ५९ दशमलव ५१ प्रतिशत अंक प्राप्त गरी चौथो, रत्ननगर नगरपालिकाले ५७ दशमलव ६३ प्रतिशत अंक प्राप्त गरी पाँचौ, कालिका नगरपालिकाले ५६ दशमलव ७५ प्रतिशत अंक प्राप्त गरी छैठौँ र खैरहनी नगरपालिकाले ५५ दशमलव ८३ प्रतिशत अंक प्राप्त गरी सातौं भएको छ । राप्ती नगरपालिकाका मेयर शमशेर लामाले आयोगले अध्ययन सुरु गरेपछि सधै राप्ती नगरपालिका अन्य नगरपालिका भन्दा अगाडि रहेको बताए । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अनुसार स्थानीय सरकारले ऐनअनुसार १० असारभित्र सम्बन्धित गाउँ नगरसभामा बजेट पेस गर्नुपर्छ । त्यसो भए÷नभएकालाई एक सूचक मानिएको छ । बजेट असार मसान्तभित्र पास गर्नुपर्छ । गरे÷नगरेको विषय अर्को सूचक हो । स्थानीय तहले घरजग्गा रजिष्ट्रेशन शुल्क, मनोरञ्जन कर, विज्ञापन करबाट उठेको रकम प्रदेश सरकारलाई हस्तान्तरण गरे÷नगरेकालाई समेत सूचक मानिएको छ । आगामी आव २०८०÷८१ को आयव्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पठाए वा नपठाएकालाई समेत अर्को मूल्याङ्कनको आधार मानिएको छ । यी कार्यलाई आधार बनाएर नगरपालिकाले कार्य सम्पादन गर्ने गरेको प्रमुख लामा बताउछन् । उनका अनुसार विनियोजित बजेट, त्यसको कार्यान्वयन, राजस्व सङ्कलनको लक्ष्य र प्रगतिलाई समेत आयोगले मूल्याङ्कनको आधार बनाउने गरेको छ । लेखा परीक्षण, आवधिक योजना, सामुदायिक विद्यालयमा रहेका विद्यार्थीको सङ्ख्या, गर्भ जाँच गर्ने महिलाको सङ्ख्या, स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्या, बालबालिकाको सङ्ख्या, पूर्ण खोप लगाएका बालबालिकाको सङ्ख्या समेतलाई मूल्याङ्कनको आधार बनाएको उनले बताए । उनले भने ‘भौतिक निर्माणमा हामी देशमा नै अग्रणी छौँ । यससँगै अन्य कार्यसम्पादनमा पनि हामी उत्कृष्ट हुने गरेका छौँ ।’ नगरपालिकाका उप प्रमुख देवेन्द्र लामाले नगरका जनप्रतिनिधि, कर्मचारी र सेवाग्राही सबैको संयुक्त प्रयासबाट कार्य सम्पादनमा जिल्लाकै दोस्रो बनाउन सकिएको बताए । राप्ती नगरपालिका प्रमुख शमशेर लामा यसअघि वडा नं. ४ का वडाध्यक्ष थिए भने उप प्रमुख देवेन्द्र लामा वडा नं. ९ का वडाध्यक्ष थिए । दुवै लामा अनुभवी जनप्रतिनिधिका रुपमा परिचित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार