राप्ती । पूर्वी चितवनको राप्ती नगरपालिकाले सोलार वितरण गरेको छ । राप्ती- १२ का ३३ घरधुरीलाई १०० वाटको कम्लिट सोलार सेट वितरण गरिएको हो । बुधबार राप्ती नगरपालिकाको भवनमा एक कार्यक्रमको आयोजना गरि नगर प्रमुख शमशेर लामाले सोलार हस्तान्तरण गरेका छन् । संघीयतर्फको ८ लाख बजेटबाट सोलार वितरण गरिएको हो । राप्ती-१२ भौगोलिक हिसाबले विकट रहेको छ । पहाडी भूभाग भएका कारण सो ठाउँमा विकासका पूर्वाधार अझै पुग्न सकेका छैनन् । तार र पोल पुगेको ठाउँमा पनि बिजुली पुगेको छैन । जसकारण त्यहाँको जनजीवन कष्टकर रहेको छ । नगर प्रमुख लामाले कार्यक्रममा बोल्दै राप्ती-१२ का बासिन्दाले अन्धकारमा जीवन बिताउन नपर्ने बताए । योसँगै राप्ती-१२ मा अन्य विकास निर्माणका कार्यहरु गरिने पनि उनले बताएका छन् ।