भण्डारा बजार व्यवस्थित गराउन माग

राप्ती । राप्ती नगरपालिकाको मुख्य बजार भण्डारालाई व्यवस्थित गराउन यहाँका व्यवसायीहरुले नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । अव्यवस्थित बजारलाई व्यवस्थित गर्न भण्डाराका व्यवसायीहरुले हस्ताक्षर संकलन गरी नगरप्रमुखको ध्यानाकर्षण गराएका हुन् । बजारमा जथाभावी पार्किङ र ठेलाजन्य व्यवसायले बजारको सुन्दरता बिगार्नुका साथै सटरमा व्यवसाय गर्ने व्यवसायीहरुलाई असर पुगेको उनीहरुको भनाइ छ । कतिपय ठेलाहरु स्थायीरुपमै व्यवसाय सञ्चालन गरेर बसेका छन् । ‘पछिल्लो समय धेरै संख्यामा ठेलागाडाहरु सडक मिचेर सञ्चालनमा छन्’, सटरमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी सरोज तिमल्सिनाले भने, ‘उनीहरुकै कारण कर तिरेर बसेका हामीजस्ता व्यवसायीलाई प्रत्यक्ष असर परेको छ ।’ तिमल्सिनाले कफी, पानीपुरीको व्यवसाय गर्दै आएका छन् । अव्यवस्थितरुपमा सञ्चालन गरिएका ठेला व्यवसायले एकातिर बजारको सुन्दरतालाई कुरुप बनाएको छ भने अर्कोतिर सडकको जग्गासमेत अतिक्रमण गरेको उनको भनाइ छ । तिमल्सिनाले बजारमा मासिक हजारौँ भाडा तिरेर, राज्यलाई कर बुझाएर व्यवसाय गर्ने व्यवसायी सटर छोड्नुपर्ने अवस्थामा पुगेको बताए । ‘ठेला व्यवसायले सटरवाला व्यवसायीलाई प्रत्यक्ष मर्का पारेको छ’, उनले थपे, ‘एकातिर राज्यको नियमअनुसार सञ्चालित हामी सटरवाला व्यवसायी पीडित हुने, तर अर्कोतिर राज्यको कुनै निकायमा दर्तासमेत नगरी अव्यवस्थित ढङ्गबाट सञ्चालित ठेलागाडा व्यवसायी सुरक्षित हुनु पक्कै न्यायिक कार्य हुन सक्दैन ।’ यस्ता व्यवसायले राज्यको कर संकलन कार्यमा समेत प्रभाव पारेको र बजारका धेरै पक्षलाई प्रत्यक्ष नोक्सानी भएकाले बजारमा रहेका अव्यवस्थित ठेलागाडा व्यवसायलाई व्यवस्थापन गर्नुपर्ने व्यवसायीहरुको माग छ । ध्यानाकर्षण पत्र बुझ्दै राप्ती नगरपालिका प्रमुख शमशेर लामाले बजार व्यवस्थापनको काम नगरपालिकाले सुरू गरिसकेको बताए । ‘अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्ने काम सुरू भइसक्यो, नगरप्रमुख लामाले भने, ‘जथाभावी राखिएका ठेलाजन्य व्यवसायलाई पनि व्यवस्थित गर्दैछौँ, यसमा व्यवसायीहरुको साथ चाहिन्छ ।’ यस विषयमा तत्काल बैठक डाकेर निर्णय गर्ने प्रमुख लामाले बताए ।
Seen by बिशाल न्युज at 09:45

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार