रेडियो कार्यक्रम मनभित्र गुम्सिएका भावनाहरुमा प्रणय दिवसको मुक्तकहरु पढ्न सक्नु हुनेछ ।

यहि फागुन २ गते परेको प्रणय दिवसको शुभकामना साथै सम्पूर्ण साहित्य प्रेमी , साहित्यकारहरु प्रति हार्दिक अभिवादन व्यक्त गर्दछौं । रेडियो कार्यक्रम मन भित्र गुम्सिएका भावनाहरु यसै Website Youtube and Facebook Live सुन्नका साथ पढ्न सक्नु हुनेछ । कार्यक्रम हरेक हप्ताको शनिबार रातको ९:१५ देखि १० बजे सम्म सुन्न सक्नु हुनेछ । कार्यक्रम प्रस्तोता दिलिप कुमार श्रेष्ठको साथमा 

१)मुक्तक

दिलमा राख्न हैसियत नहुनेले गुलाफकै फूल दिएर गई

प्रेम दिवस नआउनु अगावै पराइको अँगालो कसेर गई

यो जुनी त के सातौ जुनी तिम्रै हुन्छु प्रिय भन्थी पहिले

तर आज म बिमारले थला परेको बेलामा छोडेर गई

गणेश बिष्ट बर्सात

२)मुक्तक

गर्दिनौं भने पिरतिमा छ्ल प्रणय दिवसमा

बनाउँला हाम्रो प्रेमको महल प्रणय दिवसमा ।

बाँचुञ्जेल नै तिमीले साथ दिन्छौँ भने प्रिया

मनाउँने छौँ खुसी हरेक पल प्रणय  दिवसमा ।।

श्यामकुमार क्षेत्री मुस्कान 

नौबहिनी गा,पा ८ बल्लेखोला प्यूठान , हाल भारत

 

३)मुक्तक

अक्सर यहाँ कसै कसैको दिल,पनि पत्थरको लाग्छ

सुरुसुरुमा हो बोल्न मन लाग्ने,पछि त झर्को लाग्छ

महोदय यो माया प्रेम भन्ने शब्द पनि बकवास हो 

किनकि  बिछोडमा ज्यान  गुमाउनेको,लर्को लाग्छ।

श्याम कुमार श्रेष्ठ

दमक झापा

हाल काठमाडौं

 

४)मुक्तक 

कसै कसैलाई हसाउँन फेरि प्रेम दिवस आयो !

यी आँखाले दु:ख पाउन फेरि प्रेम दिवस आयो !!

एक पछि अर्कोसँग माया गर्नेहरु रमाउदै छन् !

म अभागिलाई रुवाउँन फेरि प्रेम दिवस आयो !!

बिकास ठकुल्ला विवश 

ठेगाना: बा ज गा पा ४ अछाम ,हाल :प्रवास

 

५)मुक्तक

पिरतीको जग‌ खनोस् हाम्रो जोडी

दुनियाँले वा वा भनोस् हाम्रो जोडी

एक अर्को बिना हामी बाँच्नै नसक्ने

मूना मदन जस्तै बनोस् हाम्रो जोडी ।।

सपना कुंवर 

धादिङ

 

६)मुक्तक

यत्रतत्र तिम्रो  मनले, केही सोचेन भने

मलाई  पापी  कालले  छिट्टै लगेन भने 

तिमी!जुनीजुनी मेरै हौ ढुक्क हुनु प्रिया

अक्सर,यो  समाज  दुस्मन  बनेन भने।

प्रदिप नेपाली

बिहादी ५ उराम,पर्बत।।

 

७)मुक्तक

मन परेकाे मान्छेसँग सम्बन्ध अघि बढाउनु प्रेम दिवसमा,

प्रेमील जाेडीले मन मुटु सबथाेक दिलाउनु प्रेम दिवसमा।

प्रेमसँग मन,भावना जाेडिएकाे छ,याे विना चल्दैन संसार,

हेर, जिन्दगीभर नछुट्ने गरि हात समाउनु प्रेम दिवसमा।

अमृत मगर बड्डा

तुलसीपुर दाङ,हाल विरेन्द्रनगर सुर्खेत

 

८)मुक्तक

आकाशको जूनभित्र नै सधैं तिमीलाई समिपमा पाउँदा,

अविस्मरणीय मिलनका ती पलहरू आफैलाई हराउँदा,

लाखौं ताराहरूको विच सजिएकी एक्लो अप्सरा तिमी,

आलै छन् यादहरू सबै एकान्तमा विरहको गीत गाउँदा।

शरद प्रधानाङ्ग, 

विराटनगर-७

 

९)मुक्तक

मायाकाे प्रस्ताव बारम्बार  भएपछि

नजरकाे  गाेलि  मुटुमै  प्रहार भएपछि

जसरी नि प्रस्ताव स्वीकार गर्नु थियाे मैले 

उसले गर्ने  माया सधैं  अपार भएपछि

इन्दिरा थापा , उदयपुर ,ताम्लिछा

 

१०)मुक्तक 

आफू बसेको मुटु आफैले तोडेर गई

जिन्दगीको सफर अन्तै मोडेर गई

प्रेम दिवसमै आफ्नो बनाउँछु सोच्थेँ

प्रेम दिवस नआउँदै  मलाई छोडेर गई

सुमन धमला

ओखलढुङ्गा

 

११)मुक्तक 

नलिए है ! पीर चिन्ता त्यहीँ पल खास बनाउनुपर्छ 

वर्षौँदेखी सँगालेर राखेको प्रेम एकअर्कामा खनाउनुपर्छ 

तस्बिर हेरेरै चित्ता बुझाउला यो साल पनि यस्तै भयो 

चाडैं फर्किनु प्यारा बसेर सँगै प्रेम दिवस मनाउनुपर्छ ।

प्रयासि सानु ओखलढुंगा

 

१२)मुक्तक

लगाउँछु होला म तिमीलाई दोष केही नमान्नु प्रिया

मलाई जिन्दगीमा सधैं पिरतीको नजरले हान्नु प्रिया 

हुन त मलाई बुझ्ने संसारमा तिमी छौ बा-आमा पछि

तिमीलाई कति प्रेम गर्छु भनेर तिमी आफै जान्नु प्रिया 

विक्रम तिरूवा सलिन 

जुम्ला

 

१३)मुक्तक

हतार छ भनेर पठाई फूल दिएर जान्थे 

जानेहरू, हात समाई फूल दिएर जान्थे 

भुपु प्रेमिकाहरूले अचेल बिर्सिएका छन् 

एक समयमा मलाई फूल दिएर जान्थे 

केशव किरण

 

१४) मुक्तक

चोखोमाया दिएको छ,आफ्नोपन दिएको छ

कसरी भनुँ ?दुःख पीडाको,वजन दिएको छ

फूलको नाउँमा कसैले तिमीलाई धोका दियो होला,

तर मलाई भने कसैले पूरै,जीवन दिएको छ।

हिउँकला हाँसी खतिवडा

 

१५)मुक्तक 

कति मीठो मधुर मुस्कान कति मीठो बोली ।

स्वागत गर्न मन लाग्यो दिलको ढोका खोली ।।

मज्जाको मोहनी लगाउने तिम्रो अधरको हाँसो

साँचू लाग्यो एकपल्ट पक्कै भेटि देऊन भोली ।।

नरेश बिष्ट निशान 

बझाङ 

 

१६)मुक्तक

सोचेको थिएँ उसैसँग चोखो पिरती लगाउँने छु

यसपाली त पक्कै पनि प्रेम दिवस मनाउँने छु ।

मनको कुरा केवल कल्पनामा नै सीमित रह्यो

पीर नगर प्रिया अर्को साल सँगसँगै रमाउँने छु ।

प्रदिप खतिवडा 

खैरहनी नगरपालिका वडा नं ९, पिपरा चितवन

 

१७)मुक्तक

आँसु बोकी अब धेरै बाँच्न सक्दिनँ म

दुःखहरू  लुकाएर हाँस्न  सक्दिँन  म 

सफलताको खोजीमा वर्षौँ बितिसक्यो,

बस् भयो अब धेरै पनि भाग्न सक्दिनँ म।

अनुप जोशी 

बैतडी पञ्चेश्वर

 

१८) मुक्तक                                     

प्रणयको मौसम छ मनमा मन मिलाई देऊ ।

नयनको छँदैछ प्रेमको मदिरा पिलाई देऊ ।

माया त्यो मरुभूमीको मृगतृष्णा होइन,

दिलभित्र कतै साकार आभास दिलाई देऊ ।                 

 

१९)मुक्तक 

हिजाे खुसिमा हाँस्नेहरु अाज धुरुधुरु रुन पनि सक्छन्

आँसुकाे धारा बगाई अाफ्नै मुख धुन पनि सक्छन् 

वर्षकाे एकदिन प्रणय दिवस मनाउँदैमा के हुन्छर ?

आज नजिक हुनेहरू भाेलि टाढा हुन पनि सक्छन् ।

 सूर्य गिरी “चिन्तित”

 

२०)मुक्तक 

नजिक नआऊ मेरो एक्लै जिउँने ,बानी छ।

अनि पटकपटक टुटेको मन सिउँने बानी छ  ।

कठोरता छ म मा तिमी कोमलता खोज्छौ?

मन नपर्न सक्छ मेरो  रक्सि पिउँने, बानी छ।

प्रीति बस्नेत 

झापा दमक

 

२१)मुक्तक 

भयो दिलमा खुलदुल कहाँ खोज्न जाऊ?

फुट्छ मात्र आँसु मुल कहाँ खोज्न जाऊ?

एक फूल थियौ प्रेमदिवस अघि झरीगयौं 

तिमी जस्तै अर्को फूल कहाँ खोज्न जाऊ?

बिरेन्द्र बिबश 

   अछाम

 

२२)मुक्तक 

आँसु मात्र झरेको छ के मनाउँ प्रेम दिवस 

मुटु अलपत्र परेको छ के मनाउँ प्रेम दिवस 

जंघार तरी घुमीघुमी आएको यो साल पनि 

मन मात्र रुँने गरेकाे छ के मनाऊ प्रेम दिवस

सञ्जीवराज जोशी विवस 

गुलरिया , कञ्चनपुर 

 

२३)मुक्तक 

अतीतका ती स्मरणीय पलहरु छोडी प्रिय बन्ने मन छ

रिस,राग, घमण्ड, स्वार्थ सबै तोडी प्रिय बन्ने मन छ 

एक बारको जुनिमा, यो दुनियाँ चकित पार्ने गरी, 

परेवाको जस्तो उदाहरणीय जोडी प्रिय बन्ने मन छ 

प्रयासी प्रविना पौडेल 

ओखलढुंगा

 

२४)मुक्तक

भनिन्छ सम्बन्धको नयाँ बाटो बनाउँछन् प्रेम दिवसमा

उपहार सवरुप् गुलाबको फूल् टक्र्याउँछन् प्रेम दिवसमा

कतिपयले प्रेमि प्रेमिकासँग खुशि साँटासाँट् गरिरहँदा 

कति चाहिँ आँसुले सिरानी भिजाउँछन् प्रेम दिवसमा

राजन उप्रेती 

आठराई गाउँपालिका वडा नम्बर ६ चुहान्डाँडा तेह्रथुम।।

 

२५)मुक्तक

जिन्दगीका कठिन परिस्थिति सँगै जिउँला माया ।

बरु तिम्रो पीडामा मैले नै  आँसु  पिउँला माया ।।

आउ तिमी साथ देऊ अन्तिम  घडिसम्म ,

दु:ख म नै सहेर तिमीलाई खुसी दिउँला माया ।।

मनिषा विश्वकर्मा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार