राप्ती । राप्ती उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि माओवादी, समाजवादी, राप्रपा र रास्वपा गठबन्धन निकटका व्यवसायीहरुले संयुक्त गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन् । उता नेपाली कांग्रेस र नेकपा एमाले निकटका व्यवसायीले अर्को गठबन्धन बनाएका छन् । राजनीतिमा कांग्रेस र एमालेको पानी बाराबारको स्थिति भए पनि राप्ती उद्योग वाणिज्य संघको निर्वाचनमा भने उनीहरु एकै कित्तामा उभिएका हुन् । बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै माओवादी, समाजवादी, राप्रपा र रास्वपा गठबन्धनबाट माओवादीनिकटका व्यवसायी मार्कण्डे प्रसाद गौतमले अध्यक्षमा उमेदवारी दिएका छन् । गौतम यसअघि वरिष्ठ उपाध्यक्ष थिए । उताएमाले–कांग्रेस गठबन्धनबाट राजकुमार कँडेलले अध्यक्षमा उमेदवारी दिएका छन् । गौतम नेतृत्वको गठबन्धनबाट वरिष्ठ उपाध्यक्ष दिनेश सेढाईं र कँडेल नेतृत्वको गठबन्धनबाट सोही पदमा ओमप्रसाद डल्लाकोटी को उमेदवारी परेको छ । डल्लाकोटी कांग्रेसनिकटका हुन् भने सेढाईं माओवादीनिकटका हुन् । संघको प्रथम उपाध्यक्षमा एमाले–कांग्रेस गठबन्धनबाट प्रतिभा आचार्य, वाणिज्य उपाध्यक्षमा इन्द्रप्रसाद पाठक, उद्योग उपाध्यक्षमा रोहितबहादुर घिमिरेले उमेदवारी दिएका छन् । माओवादीसहितका अन्य पार्टीको गठबन्धनबाट प्रथम उपाध्यक्षमा हरिबहादुर ओझा, वाणिज्य उपाध्यक्षमा राजन चौलागांईं, उद्योग उपाध्यक्षमा परशुराम पाठकको उमेदवारी छ । महासचिवमा भने गोकुल सिलवाल निर्विरोध भएका छन् । शैक्षिक संस्था सञ्चालन गर्दै आएका सिलवाल एमालेनिकटका हुन् । सचिवमा कँडेल नेतृत्वबाट ईश्वर तिमल्सिना र गौतम नेतृत्वबाट लोकराज पाण्डेले उमेदवारी दर्ता गराएका छन् । कोषाध्यक्ष पनि निर्विरोध भएको छ । कोषाध्यक्षमा कांग्रेसनिकटका राजकुमार सेढाईं निर्वाचित भएका हुन् । वाणिज्यतर्फ ६ जना सदस्यका लागि १४ जना, उद्योगतर्फ ३ जना सदस्यका लागि ६ जनाको उमेदवारी परेको छ । एसोसिएट सदस्यमा पनि निर्विरोध भएको छ, जसमा तुलसीराम पाठक र रामकृष्ण पन्त निर्विरोध भएका हुन् । एक जना महिला सदस्यका लागि पुष्पा कुँवर र गीताकुमारी उप्रेतीको उमेदवारी परेको छ । उमेदवारी दर्ताका लागि सोमबार समय तोकिएका थियो । संघको आगामी कार्यसमिति चयनका लागि आगामी २८ गते शनिबार निर्वाचन हुने प्रमुख निर्वाचन अधिकृत नुनराज सिलवालले जानकारी दिए । यसैबीच, राप्ती उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष स्वतः अर्को कार्यकालमा अध्यक्ष हुने गरी विधान संशोधन गरिएको छ । यो निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने उमेदवार अर्को कार्यकालका लागि स्वतः अध्यक्ष बन्नेछन् । माघ २१ गते भएको संघको साधारण सभाले विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वतः अर्को कार्यकालमा अध्यक्ष हुने प्रावधान बनाएको हो ।

प्रविष्ट गर्नुहोस्
Write to Vishal H Ale