–बबिलाल तामाङ
चितवन । जनजाति पत्रकारहरुको छाता संगठन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ चितवन (फोनिज) ले नवौं साधारण सभा गर्ने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ चितवनको भवनमा फोनिजको शुक्रबार सम्पन्न बैठकले यही फागुन १२ गते नवौं साधारण सभा गर्ने निर्णय गरेको हो ।
फोनिजका नवनिर्वाचित कार्यसमितिले पहिलो पटक संस्थागत जिम्मेवारी अन्तर्गत साधारण सभा गर्न लागेको अध्यक्ष रमेश रानामगरले जानकारी दिए । साधारण सभामा आर्थिक प्रतिवेदन, प्रगति प्रतिवेदन पेश गरिने र संस्थागत आगामी कार्यविधिबारे घनिभूत छलफल गरिने उनको भनाइ छ ।
यसैबीच फोनिजले साधारण सभामा संस्थाको गतिविधिलाई समेटेर ‘फोनिज बुलेटिन’ प्रकाशन गर्ने जनाएको छ । पुस्तकमा नयाँ कार्यसमितिको सुरुवाती चरणदेखि हालसम्मका गतिविधिलाई समेटिने उनले बताए । फोनिजले प्रकाशन गर्न लागेको यो बुलेटिन दोस्रो हो भने यसअघि निवर्तमान सन्दिप श्रेष्ठको कार्यकालमा पहिलो पटक ‘फोनिज सन्देश’ विमोचन गरिएको थियो ।
फोनिजमा तामाङ पत्रकार संघ, तमु पत्रकार संघ, थारु पत्रकार संघ, नेवा पत्रकार राष्ट्रिय दबु, मगर पत्रकार संघ गरी जम्मा ५ वटा जनजातिका संगठनहरुको सहभागिता रहे पनि अन्य जातिको संगठन विस्तार हुने क्रममा रहेको छ । हाल फोनिजमा १३० जना जनजाति पत्रकार आवद्ध रहेका छन् । साधारण सभा इच्छाकामना गाउँपालिका वडा नं. ७ मा गरिने जनाइएको छ ।
बैठकमा संस्थापक अध्यक्ष सन्तकुमार चौधरी, उपाध्यक्ष तुलमान गुरुङ, कोषाध्यक्ष सुनिल श्रेष्ठ तथा सदस्यहरु लगायत केन्द्रीय समितिहरुको उपस्थिति रहेको थियो ।
फोनिज चितवनको नवौं साधारण सभा फागुनको दोस्रो साता, ‘फोनिज बुलेटिन’ प्रकाशन गरिने
