खैरहनी। कर्पाकेली युवा क्लब, पूर्वी चितवनले आयोजना गरेको पूर्वी चितवन स्तरीय भलिबल प्रतियोगितामा एपिएफ विजयी भएको छ । मंगलबार खैरहनी-९ स्थिति पुन समाज भवनको प्राङ्गणमा भएको फाइनल खेलमा रसौली युवा क्लब विरुद्ध एपिएफ भण्डारा विजयी भएको हो ।
माघ १४ गतेदेखि सुरु भएको प्रतियोगितामा अन्य विविध खेलकुदको आयोजना पनि गरिएको थियो । विविध खेल अन्तर्गत रसी तान्ने, म्युजिकल चियर, घैटो फुटाइ रहेका थिए । माघ १५ गते पर्ने पुन दिवसको अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष सूर्य बहादुर पुनले बताए ।
रसी तान्ने खेलमा महिलातर्फ पुन समाज थ्री ग्रुप प्रथम र पुन समाज टु ग्रुप द्वितीय भएको छ । पुरुषतर्फ भने नौमती बाजा समुहले जितेको छ । यसैगरि म्युजिकल चियरमा पुन समाज थ्री ग्रुपकी बिन्दु पुन प्रथम र पुन समाज टु ग्रुपकी निकिता पुन द्वितीय भएकी छन् । घैटो फुटाइ खेलमा पुन समाज पर्साका रोहन पुन घैटो फुटाउन सफल भए ।
भलिबलमा प्रथम भएको एपीएफ भण्डाराले ३० हजार, द्वितीय भएको रसौलीले २० हजार र तृतीय भएको मिलन युवा परिवार पिपराले १० हजार नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा १२ वटा टीमको सहभागिता रहेको थियो ।
मंगलबार आयोजित समापन कार्यक्रमको प्रमुख अतिथिमा पुन समाज नेपालकी केन्द्रीय वरिष्ठ उपाध्यक्ष दिल कुमारी पुन रहेकी थिइन् । यसैगरि विशिष्ट अतिथिमा खैरहनी-९ का वडा अध्यक्ष बन्धुराम महतो रहेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सह-सचिव तथा खेलकुद कार्यक्रम संयोजक सोम पुनले गरेका थिए ।