राप्ती नगरपालिकाको नगरसभा : चारवटा निर्देशिका र कार्यविधि पारित

राप्ती । राप्ती नगरपालिकाको १२औँ नगरसभा शुक्रबार सम्पन्न भएको छ । नगरसभाले दुईवटा निर्देशिका र दुईवटा कार्यविधिसहित योजनाहरु संशोधन गरी पारित गरेको छ ।
नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन कार्यविधि, नगरस्तरीय परीक्षा समितिको कार्यविधि र बहालकर निर्देशिका तथा गैरसरकारी संघसंस्थाको परियोजना र समन्वयसम्बन्धी निर्देशिका पारित गरेको नगरप्रमुख शमशेर लामाले जानकारी दिए ।
नगरसभामा सुशासन समिति संयोजक सीताराम बलले नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन कार्यविधि तथा सामाजिक विकास समिति संयोजक अर्जुन प्रजाले नगरस्तरीय परीक्षा समितिको कार्यविधि पेश गरेकोमा सर्वसम्मतरुपमा पारित भएको नगरप्रमुख लामाले बताए ।
नगरसभामा नगर उपप्रमुख देवेन्द्र लामाले बहालकर निर्देशिका, गैरसरकारी संघसंस्थाको परियोजना समन्वयसम्बन्धी निर्देशिका र योजना संशोधनका लागि प्रस्तुत गरेका थिए । दुवै निर्देशिका र संशोधित योजनाहरु सर्वसम्मत पारित भएको छ ।
नगरसभामा नगरसभा सदस्यहरु एवं राप्ती–२ का वडाध्यक्ष श्यामसुन्दर उप्रेती, राप्ती–४ का वडाध्यक्ष केदार आचार्य, राप्ती–५ का वडाध्यक्ष सीताराम बलले सुशासन कायम गर्ने र भ्रष्टाचारबाट मुक्त भई समृद्ध नगर बनाउने अभियानमा लाग्नुपर्ने बताए ।
नगरसभामा सदस्य एवं राप्ती–१० का वडाध्यक्ष तेजबहादुर तामाङले पहाडी वडाहरुलाई प्राथमिकता दिएर आगामी बजेटमा समेट्नुपर्ने बताए ।
नगरप्रमुख शमशेर लामाले निर्वाचित भएको छोटो समयमात्रै भएकाले काम देखिन समय लाग्ने र सबै जनप्रतिनिधि, कर्मचारीहरुको सहकार्यले समृद्ध नगर बन्ने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार