स्वस्थानी व्रतकथाको महिमा

प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमाका दिनदेखि आरम्भ हुने स्वस्थानी व्रतकथा आजबाट सुरू भएको छ । हिन्दु धर्मावलम्बीहरुले श्रद्धा र भक्तिपूर्वक आजदेखि एक महिनासम्म स्वस्थानी व्रतकथा वाचनसँगै श्रवण गर्ने परम्परा छ । खासगरी, हिन्दुधर्ममा आस्था राख्ने नारीहरुले चोखो हुँदै शुद्ध चित्तका साथमा हरेक दिन व्रत बस्ने परम्परा स्वस्थानी व्रतकथाको हकमा लागू हुँदै आएको छ । महिनादिनसम्मको यो अवधिमा माघ स्नान गर्ने शक्तिशाली प्रचलनसमेत विद्यमान छ । माघ शुक्ल पूर्णिमासम्म नै अबका प्रत्येक दिन अधिकांश नेपालीहरुका घर–घरमा स्वस्थानी कथाको महिमा प्रस्तुत हुनेछ । स्वस्थानी परमेश्वरीको व्रत बस्दा तथा उनको कथा भन्दा अनि सुन्दा श्रद्धालुहरुको मनोकामना पूर्ण हुने धार्मिक विश्वास रहँदै आएको छ, जसप्रति धेरैको उच्च आस्थासमेत रहेको छ ।

हिमालयपुत्री पार्वतीले श्रीस्वस्थानी परमेश्वरीको व्रत बसेकै कारण त्यसको प्रभावस्वरुप महादेव पति पाएको वर्णन स्वस्थानी व्रतकथामा पढ्न पाइन्छ । त्यसरी नै दीनदुःखीहरुको सेवासँगै उद्धार गर्नका लागि रसातल, पाताल र मत्र्यलोकमा नयाँ अवतारको रुप धारण गरेर स्वस्थानीको महिमाबारे प्रचारप्रसार गर्न गएको सन्दर्भलाई समेत व्रतकथाका रुपमा अघि बढाइएको छ । एक त कथाको आकर्षण अझ त्यसमा पनि अद्भुत लाग्ने देवीदेवताका लीलाहरुको चमत्कारपूर्ण शैलीमा वर्णन गरिएको स्थितिले स्वस्थानी कथा वाचन गर्नेलाई मात्रै नभएर श्रवण गर्नेहरुलाई मन्त्रमुग्ध पारेको देखिन्छ ।
देशको संघीय राजधानी काठमाडौँको उत्तरपूर्वमा रहेको साँखुमा अवस्थित शालीनदी र स्वस्थानीलाई अलग गरेर हेर्न मिल्दैन, जहाँ देशविदेशबाट आएका लाखौँ श्रद्धालु भक्तजनहरुले अबको एक महिनाको अवधिमा पूजा तथा स्नान गर्ने गर्दछन् । त्यसरी नै देशका विभिन्न जिल्लाबाट गएका तीर्थयात्रीहरुले त्यहाँ अवस्थित मणिशैलकिनारमा स्वस्थानीको पूजाआराधना गर्दै व्रत बस्ने समृद्ध परम्परा रहेको छ । स्वस्थानी व्रतकथाको महिनादिनभरि पशुपति, गौरीघाटलगायतका स्थानसँगै सतीदेवीको अङ्ग जहाँ जहाँ पतन भयो ती स्थानहरुमा पूजाआजा गरिएको खण्डमा मोक्ष मिल्ने धार्मिक विश्वाससमेत प्रबलरुपमा स्थापित छ । त्यसैले पनि उक्त ठाउँहरुमा भक्तजनको घुइँचो हजारौँको संख्यामा रहेको देख्न सकिन्छ ।

धर्म, संस्कृतिहरुले निर्वाह गरेका भूमिकाहरुको हाम्रो जीवनमा मह¤वपूर्ण स्थान रहँदै आएको छ । ती हाम्रा विश्वासका धरोहर पनि हुन् । स्वस्थानी व्रतका लागि आवश्यक पर्ने पूजामा चाहिने सामग्रीसँगै पूजाको विधि नै अलग प्रकारको रहने हुँदा घर–घरमा त्यसलाई तनमनका साथमा अनुसरण गर्नु अस्वाभाविक लाग्दैन । स्वस्थानी व्रतलाई सही प्रकारले समायोजन गर्न सकिएन भने धर्म कमाउन नसकिने भन्ने कठोर खालको मान्यता समाजमा स्थापित रहेको हुनाले एकप्रकारले त्यागकै रुपमा त्यसलाई लिने गरिएको पाइनु निकै अर्थपूर्णसमेत लाग्छ । यसरी व्रतका क्रममा विशुद्धरुपमा तयार गरिएको भोजन एक छाक खाने र अर्को छाक फलफूल, दूध वा कन्दमूलको सेवन गर्ने परम्परा हालसम्म जीवितै रहेको देखिनुले स्वस्थानी व्रतको प्रभावलाई अवमूल्यन् गर्न सकिँदैन । धर्म, संस्कृतिहरुले एकअर्कोलाई आत्मीयता र हार्दिकताको सूत्रमा समेत बाँध्ने काम गर्छन् । स्वस्थानी व्रत पनि त्यस प्रक्रियाभन्दा पृथक् छैन । अधिकांश नेपालीहरुलाई सुन्दर मालाले जोड्ने सन्दर्भमा स्वस्थानी व्रत अब्बल नमुना रहेको विषयमा शङ्का गर्नुपर्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार