फाइल नम्बर ४२०

सरकारको घर जाँदा
गेटमा लेखिएको थियो
यहाँ जुकाले जस्तै रगत चुस्न दिनुपर्छ
तयार भए सेवा पाइन्छ नभए झटारो।

दुई/चार वटा फाइल तलमाथि सार्छन्
कसैले नदेखिने गरी बार बार्छन्
ठाउँको ठाउँ नयाँ बार तोक्छन्
बेस्सरी खोक्छन्
फोन समाउँछन्, इसारा गर्छन्
अन्तिममा मिलेन भन्छन्।

आजित बनाउँछन्
विरक्त बनाएर किनारमा ल्याउँछन्
थप्नुपर्छ, पुगेन, भाग मिलेन सुनाउँछन्।

स्थायी सरकार
जसको आयु धेरै लामो छ
दिनहुँ ठोकिनुपर्ने बाध्यता छ
ऊ कहिल्यै अघाउँदैन
दिनहुँ खाइरहन्छ
विभिन्न आहार परिकारहरू।

विचरा नागरिक
कनिकनी कर तिर्छ
छाक कटाएर सरकारको जेठो छोरा पाल्छ
सरकार आउँदा घण्टौं जाममा पर्छ
एम्बुलेन्स दमलकका चीत्कार
आँसुका भेलमा सेता काला चिल्ला कारभित्र
सरकार तैरिरहन्छन्।

जब ऊ सोध्छ
हजुर भएन भन्छ, मलिन आवजमा
प्रतिउत्तरमा उसका फाइल फालिन्छन्
सारिन्छन्, चर्को आवजमा, कमिसनका नाममा।

निरीह नागरिक
कठै नागरिक
शुल्क तिरेबापत ठगिन्छ
नियमसंगत हिँड्दा रोकिन्छ
सरकार पालेबापत पेलिन्छ छेकिन्छ।

विचरा नागरिक
ती सेता घर
घरभित्रका साहबहरू
सूर्यका किरणसँगै चल्छन्
घाम अस्ताउँदा निभ्छन्
फाइल बन्द नगर्दै
बिदा हुन्छन्
भाोलि आउन, बिन्ती टक्र्याउन।

एक दिन, दुई दिन
हप्ता महिना धाउँदा धाउँदै
४२० चाल देख्छ
थाकेर ऊ यस्तै त हो भन्छ
कसम खान्छ, भक्कानिन्छ
छोराछोरीको कुम्लोकटुरी कसेर
परदेश पठाउँछ।

यहाँ यस्तै-यस्तै छ
भन्छ सुनाउँछ
ठाउँ-ठाउँमा हेर्छ देख्छ बुझ्छ
४२० को एकल राज
४४० को झट्का लाग्छ
चौताराको डिलमा लामा सुस्केरा हाल्छ
आफै मन बुझाउँछ
शुल्क तिरितिरी शिर निहुँराउनुपर्छ
पाले बापत पाप कमाउँछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार