जिन्दगीको मूल्य कति?

जिन्दगीको मूल्य कति?
खाडीले पठाएको सानो कोसेली
या यहाँका सम्भ्रान्त भनिएका
विद्यार्थीले
बा-आमाको खाताबाट साटेर
अमेरिका, अष्ट्रेलिया
लगेका डलर जति!

जिन्दगीको मूल्य कति?
शून्य?
कि लाखौँ लाखाडी अनन्त जति?

दुर्गमको एक मृत सुत्केरीको
सन्तानले नपाएको मातृत्वको मूल्य कति?

घाटमा जलिरहेको दाउराको मूल्य कति?
गिद्धहरूले लुछिरहेको परिश्रम कति?

महान् रक्तपात युक्त क्रान्तिपछि जन्मिएका गान्दी
उनको जिन्दगीको मूल्य कति?
राजा महेन्द्र, वीरेन्द्र, देवकोटा र महान बुद्धको
ढुकढुकीको मूल्य कति?

आर्यघाटमा छोराको समयको प्रतीक्षा गरिरहेकी
आमाको लासको आश कति?
छोराछोरीको थोरै समयको मूल्य कति?

जिन्दगीको मूल्य कति?
खै कति कति?
शून्य जति?
या लाखौँ लाखाडी अनन्त जति
लिनु
दिनु
छ सबै प्रकृति
आफै प्रकृति
या प्रवृत्ति?

बिनोद ढकाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार