अब विवाहको कुरा अगाडि नबढाऔं!

spot_img

पूर्णबहादुर मौरती

‘गूड मर्निङ, खबर सबै ठिक छ अनि त्यता के छ?’

बिहान उठेर आँखा मिच्दै सायराको गूड मर्निङ म्यासेजको रिप्लाई गर्छ आरभ।

उनीहरू कुरा गर्न सुरू गरेको भर्खर एक हप्ता भयो। कडा परिश्रमका साथ भर्खर पढाइ सकेको आरभ ठूलो सपना बोकेर नेपालको सरकारी सेवामा हालसालै प्रवेश गरेको छ।

भारतमा सानैदेखि बस्दै आएकी सायरा हाल पढाइ सकेर बहुराष्ट्रिय कम्पनीमा काम गरिरहेकी छ।

दुवै बिहे गर्न उमेर पुगेका उनीहरूलाई परिवारमा विवाहको प्रस्ताव आइरहेको हुन्छ। हालसालै सरकारी सेवामा प्रवेश गरेका आरभ सबैको आँखामा परेका थिए। उहिले जमानामा बिहे गर्नुअघि फोटो पठाएर हेर्ने चलन हुन्थ्यो रे, हुन त अहिले पनि चलन लगभग उस्तै छ। माध्यम केही फरक परेको छ।

भान्जाको स्वभावको सधैँ प्रशंसा गर्ने आरभको मामालाई कसैले आरभको बारेमा सोधेका रहेछन्।

Teach
Esewa
nic

मामाले मेसेन्जरमा लिङ्क पठाएर ‘भान्जा यिनको कुरा हो मैले तिमीलाई अस्तिदेखि गरेको, हुन त तिमीले आप्रवासी नेपाली भनेपछि कुरा नगर्नु भनेका थियौ, तैपनि बहुराष्ट्रिय कम्पनीमा काम गर्ने इन्डिपेन्डेन्ट केटी हुन् उनी। कस्तो लाग्छ एकपटक आफैले हेर्नु ल’ भनेपछि मामाको उत्तर दिनलाई भए पनि प्रोफाइल खोजेर हेर्छ आरभ।

कोरियन कार्टुनको जोडी तस्बिर राखिएको प्रोफाइलभित्र गएर सरर एल्बम खोल्दा भारतका केही चर्चित ठाउँमा खिचेका सुन्दर फोटोजेनिक तस्बिरहरूले पहिलो प्रभाव राम्रै पर्छ उसलाई।

हुन त यसअघि पनि आरभलाई केही प्रोफाइलको लिङ्क आइसकेको हुन्छ, फेसबुकमा साथी बनेर कुरा गरेको दुई दिनमा एकअर्काको केही विषयमा कुरा नजमेपछि तीन दिन कुरा अगाडि नबढेको भए पनि अन्तिम प्रोफाइलले तानेको भएर ठिकै छ कुरा गरिहेरौँ भनेर रिक्वेस्ट पठाउँछ।

बिहान अफिस जानुअघि पठाएको रिक्वेस्ट साँझ आएर हेर्दा एक्सेप्ट भएको हुँदैन। भोलिपल्ट साँझ अफिसबाट आएर हेर्दा बल्ल एक्सेप्ट भएको हुन्छ।

साँझ खाना खाएर आरभ सायरालाई म्यासेज लेख्छ- ‘हेलो!’

केही समयको अन्तरालमा उताबाट रिप्लाई आउँछ, ‘हाई!’

‘तपाईंको प्रोफाइल हेरेँ, तस्बिरहरू फोटोजेनिक अनि राम्रो लाग्यो।’

उताबाट धन्यवाद आउँछ।

‘के छ खबर? आराम हुनुहुन्छ?’

‘हजुर ठिकै छु अनि तपाईंको?’

‘ठिकै छु, मामाले तपाईंको प्रोफाइल पठाउनुभएको थियो। सायद त्यता तपाईंलाई बाबाले पनि कुरा गर्नुभएको थियो होला।’

‘हजुर हो, भन्नुभएको थियो।’

‘अनि रिक्वेस्ट एक्सेप्ट गर्न किन त दुई दिन लागेको?’

‘त्यसैले त रिक्वेस्ट एक्सेप्ट गरेको, नभए हत्तपत्त कोही नयाँ आइडीबाट आएको रिक्वेस्ट एक्सेप्ट हुन्थेन।’

ठूलै मेहेरबान भएझैं लेख्छ आरभ, ‘साथी बन्न स्वीकार गरेकोमा धन्यवाद।’

उताबाट हाँसेको इमोजीको रिप्लाई आउँछ।

पहिलो दिन भएकोले कम कुरा गर्न भनेर लेख्छन्- अफिसको कामले थकाइ होला, गूड नाइट।’

जे सोधेको छ, त्यसैको मात्र रिप्लाई दिने उनको त्यो आचरणले पहिलो कुराकानीले नै उसलाई प्रभाव पार्यो। किनकी यसभन्दा अगाडि जोसँग आरभ कुरा गरेको थियो, कोही चाहिनेभन्दा बढी बोलेको कारणले पनि कुरा गर्न छाडेको थियो।

भोलिपल्ट बिहान उठेर आरभले गूड मर्निङ म्यासेज छोडेर नित्यकर्म गर्न जान्छ। फर्कँदा म्यासेजको रिप्लाई आएको हुन्छ। अफिसलाई तयारी गरिरहेको भएर ‘शुभदिन, साँझ कुरा गरौंला’ भन्ने म्यासेज छोडेर अफिस लाग्छ।

अफिसदेखि फर्केर फ्रेस भएपछि मेसेन्जर हेर्दा रिप्लाई आएको हुन्न। खाना खाँदै गर्दा मेसेन्जरको आवाज बज्छ। सायराको म्यासेज हुन्छ, ‘गूड इभिनिङ, बिहान अफिसलाई हतार भएर रिप्लाई दिन सकिनँ।’

‘नो प्रब्लम’ भनेर रिप्लाई गरिसकेपछि उनीहरूबीच सामान्य गफहरू हुन्छन्। जस्तो बाल्यकाल, पढाइ, बसाइँ, परिवार आदि।

यी नै कुराहरू गर्दागर्दै अबेर रात भैसकेको हुन्छ। भोलि पुनः कुरा गर्ने सर्तमा उनीहरू कुरा टुंग्याउँछन्।

बिहान उठेर अघिल्लो दिनझैं गूड मर्निङ म्यासेज छोडेर आरभ नित्यकर्ममा लाग्छ। फर्कँदा उताबाट जवाफ आइसकेको हुन्छ। बिहान केहीबेर कुरा गरेर साँझ कुरा गर्ने भनेर लाग्छन् दुवै अफिस।

साँझ अफिसबाट फर्केपछि म्यासेज सायरालाई म्यासेज छोड्छ आरभ, ‘हेलो! म त अफिसदेखि कोठामा आइसकेँ ल।’

म्यासेज आइहाल्ला भनेर मोबाइल डेटा अन गरेरै अरु काम गर्न थाल्छ आरभ।

‘हाई! म अफिसदेखि निस्केँ, घर पुगेर कुरा गरौंला,’ उताबाट सायराको जवाफ आउँछ।

हस् भनेर आरभ आफ्नो काममा लाग्छ। सायरा घर पुगेर म्यासेज गर्छे, ‘जस्ट अराइभ्ड होम, अनि के गर्दै हुनुहुन्छ?’

दुई दिनको सामान्य कुराकानीपछि विस्तारै उनीहरूको अनौपचारिक कुराकानी सुरु हुँदैथियो। थोरै जिस्किएझैं कुरा हुन्थे बेलाबेला, एकअर्काका साथी भैसकेका थिए उनीहरू।

बिहानै उठेर मोबाइल हेर्दा अमेरिकाबाट मामाको म्यासेज थियो, ‘भान्जा के छ खबर? केही प्रगति छ छैन?’

आरभ र सायराको दैनिकी अचेल गूड मर्निङबाट सुरू भएर गूट नाइटमा अन्त्य हुन्छ।

एक साँझको कुराकानीमा सायराले भन्छे- ‘बिहान बाबाले सोध्दै हुनुहुन्थ्यो, कुरा भएको छ छैन भनेर।’

‘ए अनि के भन्नुभयो त?,’ आरभले सोध्छ।

‘हल्का कुरा भएको छ भनिदिएँ।’

जिस्कँदै लेख्छ आरभ, ‘अनि कुरा धेरै अगाडि बढेको छ भनेर भन्दिनुपर्ने नि।’

उताबाट लजाएको इमोजी रिप्लाई आउँछ।

अफिसमा आफ्नै सुरमा काम गरिरहेका आरभको मोबाइल बज्छ। सायराकै म्यासेज हुन्छ। केही कुराकानी गरेपछि उनीहरू घर फर्केपछि कुरा गरौंला भनेर आ-आफ्नै काममा लाग्छन्।

साँझ घर पुगेपछि फ्रेस भएर फेसबुक खोल्छ आरभ, नयाँ साथीको रिक्वेस्ट आएको हुन्छ। प्रोफाइल खोलेर स्क्रोल गर्दैगर्दा दसैंको सामूहिक तस्बिर देखेपछि थाहा पाउँछ, सायराको बाबा हुनुहुँदो रहेछ भनेर।

उसले फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरेपछि सायरालाई कोठामा आइपुगेको म्यासेज छोड्छ। खाना खाँदै गर्दा सायराको म्यासेज आउँछ, ‘म पनि भर्खरै आएँ अफिसदेखि, हजुर खाना खानु अनि कुरा गरौँला।’

यसरी नै कुरा गरेर केही दिनहरू बित्छन् उनीहरूको। सम्बन्धको खुड्किलो थोरै अगाडि बढ्छ, समय मिलेसम्म कुरा गर्न थाल्छन् उनीहरू।

‘म हजुरलाई केही दिनदेखि एउटा कुरा भन्छु भन्दै थिएँ, भन्न अप्ठ्यारो लागिरहेको छ,’ सायराको म्यासेज आउँछ।

‘के कुरा हो भन्नु न, किन अप्ठ्यारो?,’ माहोल सहज बनाइदिन्छ आरभ।

‘म यसअघि एकजनासँग लगभग चार वर्ष प्रेम सम्बन्धमा थिएँ। चार/पाँच महिना अगाडि उसले विवाह गर्यो। त्यसपछि घरबाट कुनै केटाको कुरा आउँदा पनि उपेक्षा गरिरहेँ, सबै केटामान्छे उस्तै हुन् भन्ने लाग्थ्यो। उसको ह्याङ अझै गएको छैन। तपाईंको रिक्वेस्ट एक्सेप्ट ढिला हुनुको कारण पनि त्यही हो। म फेरि नयाँ सम्बन्धमा बस्न नचाहेर हो। बाबाले घरीघरी सोधेको भएर एक्सेप्ट गरेको थिएँ। सुरुसुरुमा म कम बोल्नुको कारण पनि यही हो। तपाईंसँग बोल्न थालेपछि बोल्ने शैली कूल नै लाग्यो, म अब यो मान्छेलाई साथीको रुपमा विश्वास गर्न सक्छु भनेर यो कुरा शेयर गरेको।’

‘सुनेर नराम्रो लाग्यो, अनि परिवारमा उसको बिहे अगाडि केही कुरा गर्नुभएन?’

‘तपाईंलाई थाहा छ नि हामी छोरीमान्छे हो, सबै कुरामा खुल्न सकिँदैन र मिल्दैन पनि।’

‘ए ए, फेरि म कुरा गरिदिउँ त? तपाईंको बाबा मसँग फेसबुकमा साथी हुनुभएको छ,’ जिस्कँदै आरभ म्यासेज लेख्छ।

‘नाई नाई, हुँदैन, उसको जीवन सुखद् रहोस् मेरो कामना छ।’

‘अनि अब के सोच्नुभएको छ त? मैले कुनै कुरामा सहज गराउन सहयोग गरिदिनुपर्छ?’

‘हैन पर्दैन, परेमा भनौंला।’

‘हामी कुरा गर्दा तपाईंलाई अप्ठ्यारो महसुस भएको भएमा भन्नुहोला, कुरा नगर्न पनि सकिन्छ।’

आरभको म्यासेजको उत्तर दिँदै भन्छिन्, ‘हैन ठिकै छ, हामी साथी भयौँ नि कुरा गर्न सकिन्छ।’

‘अनि अब रिलेसनशिपमा बस्ने बारे के सोच्नुभएको छ? सायद तपाईंलाई त लाइन आउला, यही उमेरमा पढाइ सकेर बहुराष्ट्रिय कम्पनीमा काम गरिरहनुभएको स्वाभिमानी नारी।’

‘त्यस्तो केही हैन नि, झन् तपाईंलाई रोजिछोडी होला, आफ्नो देशमा सरकारी सेवामा प्रवेश गर्नुभएको छ, नेपालमा सरकारी सेवामा बढी मान, मर्यादा हुन्छ भन्छन्।’

‘हैन हजुर, आजकलको पहिलो रोजाइमा पर्न अष्ट्रेलिया, अमेरिका गएको हुनुपर्छ, नभए बिहे हुन गाह्रो छ। आफू त बाहिर जान पनि सकिएन।’

‘नेपालको जागिर ठिक छ नि, रमाइलो छ।’

‘हो, आजकल यसैमा सन्तुष्ट छु। अनि के छ त अब पढाइ पनि सकियो, नेपाल फर्किने होला विस्तारै?’

‘खै! मलाई त नेपाल फर्कन मनै छैन, बाबा नेपाल फर्कने भन्नुहुन्छ। कति भनिसकेँ बाबालाई मान्दै मान्नुहुन्न। यतिका मेहनत गरेर यहाँ बहुराष्ट्रिय कम्पनीमा काम पाएको छु। यो हत्तपत्त छोड्न नि सक्दिनँ। फेरि हामी प्राविधिक लाइन पढेको मान्छे, नेपाल आएर भनेजस्तो जागिर पाइँदैन, पाइहालेमा पनि तलब साह्रै थोरै हुन्छ। यहाँ अन्तर्राष्ट्रिय कम्पनीको तलब खाइरहेको बानी।’

‘हो है? नेपालदेखि किन यति वितृष्णा? गर्नेले यहाँ गरिरहकै छन्।’

‘त्यो त हो, सानो छँदामै नेपाल छोडेको भएर फर्किन मन छैन। बरु तपाईंको के छ विदेशिने योजना? एमबिए गरेकालाई इन्डियामा पनि राम्रो छ। आउने योजना भएमा कुनै बहुराष्ट्रिय कम्पनीमा कर्मचारी मागेको छ छैन बुझ्छु।’

‘सरी हजुर, नेपाल नछोड्ने पक्षमा हो आफू त, बरु तपाईंलाई पो गाह्रो भएको रैछ। सायद तपाईंलाई नेपाल फर्काउनलाई होला बाबाले नेपाली ज्वाइँ खोज्नुभएको।’

‘बाबाको इच्छा त्यही हो तर मलाई नेपाल आउन मन नै छैन, बाबालाई मनाउन सकेको छैन।’

‘हामीले आजसम्म यो बारेमा कुरै गरेनौं। तपाईंलाई नेपाल आउन त्यति अप्ठ्यारो लाग्छ भने बाबालाई म म्यासेज गरौंला, तपाईंको यो नेपाल आउन नचाहेको कुरा भन्दा बाबाले अप्ठ्यारो मान्नुहोला। हामीबीच कुरा भएको र केही कारणले मैले तपाईंसँग सम्बन्ध अगाडि बढाउन नसकेको भनौंला। तपाईंलाई बीचमा नल्याएर मैले यो सम्बन्ध अगाडि बढाउन नसक्ने भनेपछि बाबालाई तपाईंलाई नेपाल आउन मन नलागेको कुरा मेसो पाउनुहुन्न। त्यसै पनि अब तपाईं नेपाल नआउने भएपछि हाम्रो सम्बन्ध जोडीने कुराको सम्भावना कम नै रह्यो। तपाईं त्यस्तो राम्रो कम्पनीमा हुनुहुन्छ, करियरलाई ध्यान दिनुस्, मेरो हार्दिक शुभकामना।’

‘तपाईंको अनि मेरो आ-आफ्नो छुट्टै दुनियाँ हुने भएपछि अबदेखि हामी कुरा गर्न छोड्ने हो कि?,’ आरभ लेख्छ।

‘हैन, हामी एकअर्काका राम्रा साथी भैसकेका छौँ, हामी असल साथीको रुपमा पनि कुरा गर्न सकिन्छ नि हैन र?’

आरभ रिप्लाई दिन्छ, ‘सायरा, बाबालाई हामी कुरा गर्छौँ भन्ने थाहा छ भने हामीले कुरा गर्न छोड्नु उत्तम हुन्छ। हामी सधैं कुरा गरिरहँदा बाबालाई हामीबाट धेरै अपेक्षा हुन्छ। अझै पनि केही बिग्रेको छैन, म तपाईंको बाबालाई मेरो कारण देखाएर हामी कुरा नगरेको र आइन्दा कुरा नगर्ने भनेर भनिदिन्छु। तपाईंको भविष्य उज्ववल छ, सबैले तपाईंजस्तो अवसर पाउँदैनन्। करियरमा फोकस हुनुस्, अबदेखि हामी कहिले कुरा गर्ने छैनौं, गूड बाई सायरा।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार