उत्पादन बढाउन बागलुङको ताराखोलामा कृषकलाई भत्ता

बागलुङ । ताराखोला गाउँपालिका कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्रिय भएको छ । कृषकलाई बढीभन्दा बढी क्षेत्रमा कृषि गर्न र उत्पादन बढाउन कृषकमुखी कार्यक्रमलाई प्राथमिता दिएको छ । गाउँपालिकाले बसाइँसराइ रोक्न र बाँझो जमिनमा खेतीपाती गर्न कृषक प्रोहोत्सान कार्यक्रम ल्याएको ताराखोला गाउँपालिकाका कृषि शाखा प्रमुख कृष्णखर भट्टराईले जानकारी दिए ।

यस कार्यक्रमअन्तर्गत रहेर अब गाउँपालिकाले कृषकले जति धेरै जमिनमा खेती गर्छन्, उसलाई उति धेरै प्रोहोत्सान भत्ता उपलब्ध गराउने उनको भनाइ छ। कृषकले बाँझो जमिनमा खेती गरेवापत गाउँपालिकाले प्रतिरोपनी रु दुई हजार उपलब्ध गराउने उनले बताए । “गाउँपालिकाले कृषकका लागि निकै राम्रो कार्यक्रम ल्याएको छ, उहाँहरूलाई चाहिने आवश्यक सहयोगसँगै जति धेरै क्षेत्रफलमा कृषि गर्नुहुन्छ, उति धेरै भत्तासमेत पाउनु हुनेछ, अहिले प्रतिरोपनी रु दुई हजारका दरले प्रोहोत्सान भत्ता दिने भएको छ”, उनले भने ।​

बसाइँसराइले पालिकाभित्र रहेका खेतीयोग्य जमिन बाँझिदै गएपछि उत्पादनसमेत निकै कम भएको उनको भनाइ छ। उत्पादन बढाउनकै लागि यो कार्यक्रम ल्याएको भन्दै यसले कृषकलाई खेती गर्नतर्फ आकर्षित गर्ने बताए । ताराखोला क्षेत्रमा पहिले पनि परम्परागत शैलीबाटै खेतीपाती हुँदै आएको छ ।

कृषकलाई आधुनिक प्रविधिसँग जोड्न र कृषिलाई यान्त्रीकरण गर्नतर्फ पनि गाउँपालिकाले जोड दिएको छ। पालिकाले मिनीटेलर, धान, गहुँ, कोदो चुट्ने थ्रेटर मेसिन वितरण योजना गरेको शाखा प्रमुख भट्टराईले जानकारी दिए। उनले आधुनिक सामग्रीले कृषकलाई खेतीपाती गर्न सहज हुने र उत्पादनमा समेत सहयोग पुग्ने बताए ।

उच्च पहाडी क्षेत्रमा पर्ने ताराखोलामा आलु, भाँगो, किबी, कोदो, मकैलगायतका खाद्यबाली उत्पादन हुने गर्छ। उनले व्यावसायिक खेतीमा लागेका कृषकलाई आवश्यक पर्ने सहयोग पालिकाले निरन्तर गर्दै आएको बताए । गाउँपालिकाले जिल्लामै पहिलोपटक जैविक कृषि बगैँचासमेत सञ्चालन गरेको छ। यो बागलुङमा विल्कुलै नयाँ हो। गत वर्षदेखि सुरु भएको जैविक कृषि बगैँचा ३७ रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको कृषि शाखा प्रमुख भट्टराईको भनाइ छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा विनियोजन गरेको रु १५ लाखबाट बगैँचा सञ्चालन गरेको उनले बताए। ३७ रोपनी जग्गामध्ये २० रोपनी क्षेत्रफलमा किबीखेती र अन्य १७ रोपनीमा आलु, भाँगोलगायत विभिन्न खाद्यबाली तथा फलफूल लगाएको उनको भनाइ छ ।

पछिल्लो समय जिल्लाका पालिकाहरूले आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर विकास निर्माणलाई जोड दिएका छन्। विकास हुन थालेपछि केही त गाउँमै रोकिए तर धेरैले बजारलाई नै रोजे। गाउँमा बस्नेले पनि कृषि भने कम नै गर्न थाले। गाउँमा बस्नेहरूले पनि कृषि गर्न छाड्न थालेपछि बारीसँगै करेसाबारीमा पनि कालोपाती बताएका छन् ।

त्यसले गर्दा उत्पादन घट्ने र परनिर्भर हुनुपर्ने अवस्था सिर्जना भएको छ। जिल्लामा उत्पादन बढाउने र पालिकालाई आत्मनिर्भर बनाउनतर्फ धेरैको ध्यान छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार