संविधान जारी भएको सात वर्ष : नागरिकस्तरमा न विस्मात, न त हर्ष !

काठमाडौँ । आज संविधान दिवस । संविधान जारी भएको सात वर्ष बितेको छ । संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ ।

दिवसका अवसरमा सैनिक मञ्चमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्ती शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तिहरु उपस्थित हुने कार्यक्रम रहेको छ । त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने छ ।

यसवर्षको संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ। तीन दिन दिवस मनाउन हिजोदेखि नै विभिन्न कार्यक्रम भइरहेका छन् । संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्ने भएको छ ।

तर, यस्ता कार्यक्रमले नागरिकको दैनिकीमा भने खासै प्रभाव पार्न सकेको छैन । संविधान जारी नगर्न छिमेकी भारतले दिएको दबाब, मधेस केन्द्रित दलको असन्तुष्टि र ठूला दलबिचको बेमेलका कारण संविधान निर्माण भएपछि निकै चुनौती भोग्नु पर्यो। संविधान जारी भएपछि भारतले नाकाबन्दी लगायो जसका कारण देशका देशको अर्थतन्त्रनै धरासायी हुन पुग्यो ।

संविधान जारी भए पछि देशमा विकास र समृद्धि आउने आशा र अपेक्षा गरिए पनि त्यस अनुसारको काम हुन सकेको छैन । राजनीतिक प्रणाली फेरिए पनि शासकको प्रवृत्ति फेरिन नसक्दा नागरिकलाई दुःख र सास्ती अझै पनि उस्तै नै छ । संविधानमा नागरिकका लागि ३१ वटा मौलिक हकको व्यवस्था गरिएको छ । तिनको कार्यान्वयन तीन वर्षभित्र कानुन बनाएर गरिने उल्लेख छ ।

निश्चित समय सीमाभित्र कानुन बनाइ सक्नुपर्ने बाध्यकारी संवैधानिक व्यवस्थाका कारण मौलिक हकसम्बन्धी १७ वटा ऐन बनेकै चार वर्ष पुगेको छ । तर, संविधानले दिएको निःशुल्क शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, खाद्य सम्प्रभुता, आवासलगायत दर्जनौँ आधारभूत हकहरूको अनुभूति आमनागरिकले अहिलेसम्म पनि गर्न पाएका छैनन् ।

मौलिक हकका धारा संविधानमा मात्रै सीमित भएको छ । संविधान दिवसकाे दिन आज सार्वजनिक बिदा दिइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार