पवित्र धार्मीक क्षेत्र जनकपुरधाम : खोज्दैछ- धार्मिक पर्यटनको आयाम (फोटोफिचर)

जनकपुरधाम । पुरातात्विक सम्पदा, संस्कृति र मिथिला कलाले जति धनी छ जनकपुर, धार्मिक गन्तव्य पनि प्रशस्तै छन्। तर, पर्यटकीय नजरले कम ध्यान दिँदा यसको विकास हुन सकेको छैन ।

आर्थिक समृद्धिका लागि पर्यटन उद्योगलाई मेरुदण्ड मान्ने गरिएको छ। प्रशस्त धार्मिक पर्यटन क्षेत्र रहेको प्राचीन मिथिलाको राजधानी र अहिले प्रदेश २ को राजधानी जनकपुरमै रहेकाले पनि पर्यटन क्षेत्रको तीव्र विकास हुनुपर्ने सरोकारवालाहरु बताउँछन्।

प्राचीनकालदेखि ज्ञानविज्ञान, धर्मदर्शन, कलासंस्कृति क्षेत्रमा प्रसिद्धि कमाएको जनकपुरलाई आकर्षक पर्यटकीय स्थलको रूपमा विकास गर्न सके यहाँका नागरिकको जीवनस्तरमा उल्लेख्य सुधार आउन सक्छ। सँगै, पर्यटकलाई आकर्षित गर्न सक्ने यहाँका प्राचीन चित्रकला, शिल्प, मूर्तिकला सहित संस्कृतिलाई धार्मिक पर्यटकीय संग्रहालयको रूपमा स्थापना गर्न सकिन्छ।

मिथिलाका प्रचलित चाडपर्व विवाहपञ्चमी, रामनवमी, छठ, मिथिला परिक्रमा, होली तथा मिथिला लोकगीत र नृत्यको आयोजना गरी सांस्कृतिक मनोरञ्जन पनि दिन सकिन्छ। मिथिला संस्कृतिको महत्वपूर्ण पक्ष लोकगीत, लोकनृत्य, कला, मठमन्दिर, कुण्ड आदिको प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्न सकिन्छ।

जनकपुर विवाह भूमि वा आदर्श भूमिका रूपमा स्थापित भएकाले देश-विदेशका जोडीहरूलाई विवाहका लागि आउने गन्तव्यस्थलका रूपमा पनि विकसित गर्न सकिने प्रदेश २ का उद्योग वाणिज्य संघका अध्यक्ष शिव शंकर साह हिरा बताउँछन्।

मिथिला पेन्टिङ विश्वबजारमा निकै चर्चामा रहेकाले यसलाई समेत विश्वसामु चिनाउनु आवश्यक छ।

भौतिक पूर्वाधारका हिसाबले जनकपुर सुगम धार्मिक स्थल हो। राजर्षि जनकको प्राचीन मिथिलाराज्यको राजधानी, भगवान् रामको ससुराली र आदर्श नारी सीताको जन्मभूमि पनि यहीँ हो। संस्कृतिको धनी र धार्मिक पर्यटकीय क्षेत्रको प्रशस्त सम्भावना बोकेको एक सुन्दर देवस्थल पनि हो जनकपुर।

जनकपुरमा रहेका पुराना राम मन्दिर, नौलखा मन्दिरको रूपमा परिचित जानकी मन्दिर, राजा जनकले शिवधनुष पूजा गर्ने स्थानमा निर्मित जनक मन्दिर, लक्ष्मण मन्दिर, रत्नसागर मन्दिर, रङ्गभूमि मैदान नजिकैको हनुमानको संकटमोचन मन्दिर, स्वर्गद्वारीको भूतनाथ मन्दिर लगायतका धार्मिकस्थल एवं तालतलैया सरोवर र दैनिक रूपमा हुने गंगा आरतीले धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य स्थलका रूपमा जनकपुरलाई स्थापित गरेको छ।

अग्निकुण्ड, विहारकुण्ड, रसिक निवास, हनुमान दरबार, रानीपाटी, पीपरा कुटी पनि आकर्षणका केन्द्र बन्न सक्ने देखिन्छ। गंगासागर, धनुषसागर, रामसागर, रत्नसागर, ज्ञानकुप, अग्निकुण्ड, अरगजा, दशरथसर, गोडधोई, पापमोचनिसर, लक्ष्मणसागर जस्ता ५२ कुटी र ७२ कुण्डको प्रचारप्रसार गरे यहाँको पर्यटन विकासमा निकै टेवा पुग्ने देखिन्छ।

बृहत् विष्णु पुराण, वायु पुराण, शतपथ, भागवत, वाल्मीकि, रामायण, बृहदारण्यको पनिषद् जस्ता धार्मिक ग्रन्थहरूमा पूण्यभूमि, तपोभूमि र सर्वश्रेष्ठ तीर्थका रुपमा जनकपुरलाई उल्लेख गरिएको छ। जनकपुरक्षेत्रमा रहेका धनुषाधाम, जलेश्वर, गिरिजास्थानको पनि धार्मिक पर्यटनमा महत्वपूर्ण स्थान छ।

धार्मिक पर्यटन विश्वव्यापी पर्यटनको सबैभन्दा पुरानो रूप हो र जनकपुरमा यसको प्रशस्त सम्भावना छ। जनकपुरका मठमन्दिर र मूर्तिहरूबारे प्रचारप्रसार गरेर संसारभर चिनाउन सके जनकपुरको मात्र नभई नेपालकै पर्यटन क्षेत्र फस्टाउन सक्छ।

 

सरकारको नजर, व्यवसायीको आशा
पछिल्लो समयमा यस क्षेत्रको पर्यटन प्रवर्द्धन र विकासका लागि सरकारले चासो दिएको छ। सरकारले पर्यटन कार्यालय जनकपुर, बृहत् जनकपुर क्षेत्र विकास परिषदमार्फत लगानी पनि गर्दै आएको छ। यसले मध्य तराईको सप्तरीदेखि सर्लाहीसम्मका धार्मिक पर्यटकीय स्थल, प्राकृतिक सम्पदाहरूको संरक्षण संवर्द्धन र पूर्वाधार निर्माणमा केही हदसम्म सहयोग पुगेको छ।

धार्मिक पर्यटनको प्रशस्त सम्भावना रहेको भए पनि जनकपुर क्षेत्र सोचेजति प्रख्यात हुन सकेको छैन। जनकपुरको मठमन्दिर, कुटी, कुण्ड तथा यिनको महत्वका बारेमा रामायण लगायत विभिन्न संग्रहमा उल्लेख गरिएको पाइन्छ। यद्यपि, अहिले यी धार्मिक ऐतिहासिक महत्व बोकेका कुटी तथा पोखरीहरू झन्डै ५० प्रतिशत अस्तित्वमा छैनन् र बाँकी पनि धेरैजसो दिनप्रतिदिन अतिक्रमणको चपेटामा पर्दै गएको छ।

रत्नसागर मन्दिरका महन्थ डा वैकुण्ठ दास वैष्णव प्राचीन धार्मिक महत्व बोकेको जनकपुरको जति प्रचारप्रसार हुनुपर्ने हो, त्यो हुन नसकेको बताउँछन्। ‘यसको महत्वका बारेमा विश्वसामु थाहा दिन सके धेरै पर्यटकहरू अध्ययन अवलोकन गर्न आउने थिए,’ उनले भने।

जनकपुर धार्मिक दृष्टिले महत्वपूर्ण भएका कारण बाह्रै महिना श्रद्धालुहरूको ओइरो लाग्ने गर्छ। यसलाई पर्यटकीय दृष्टिकोणले विकास तथा प्रचारप्रसार गर्न सके जनकपुरधामको सौन्दर्य अभिवृद्धि हुनुका साथै राजस्वको ठूलो स्रोत पनि हुन सक्ने प्रशस्त सम्भावना छ।

जनकपुरको पर्यटन विकासका लागि जनकपुर—चितवन—लुम्बिनी—पोखराको संयुक्त प्याकेज बनाएर अघि बढ्नुपर्ने पर्यटन व्यवसायी रूपेश सिंहको भनाइ छ। ‘यसका लागि सबै पर्यटन व्यवसायीले यी चार क्षेत्रको प्रचारप्रसार गर्नुपर्छ, जनकपुर, चितवन, लुम्बिनी र पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनाउन यी क्षेत्रलाई जोड्ने हवाई तथा स्थलमार्गको आवश्यकता छ,’ उनले भने, ‘यी क्षेत्रलाई समेटेर पर्यटन व्यवसायी अगाडि बढ्न सके विश्वकै नमुना पर्यटकीय गन्तव्यस्थल बन्न सक्छ।’

होटल व्यवसायी संघ धनुषाका सचिव धर्मेन्द्र साह पनि जनकपुर-चितवन-लुम्बिनी-पोखराका पर्यटन व्यवसायीबीच समन्वय गरी प्याकेज तयार गर्नुपर्नेमा जोड दिन्छन्। जनकपुर आइपुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई चितवन, लुम्बिनी र पोखराको विशेषताका विषयमा जानकारी दिएर त्यसतर्फ पठाउन सकिए यहाँ आउने पर्यटकको बसाइ लम्बिने उनको विश्वास छ ।

जनकपुरको कला, संस्कृति, भेषभूषा तथा मिथिला कलालाई जगेर्ना गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पुर्‍याउन सके पर्यटनका साथै अन्य व्यवसायसमेत फस्टाउनेमा दुईमत छैन। जनकपुरको हिन्दु धार्मिक, चितवनको वन्यजन्तु, लुम्बिनीको बौद्ध धार्मिक र पोखराको प्याराग्लाइडिङ लगायत आकर्षक पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म चिनाउन पर्यटन व्यवसायीबीच समन्वय आवश्यक देखिन्छ ।

जनकपुरमा सामान्यतया सेप्टेम्बरदेखि डिसेम्बरसम्मको मौसम सबैभन्दा अनुकूल हुन्छ। यसैबीच मिथिलाका सबै चाडबाड पनि पर्ने हुनाले पर्यटकको बसोबास मनोरञ्जनले भरिपूर्ण हुन सक्ने देखिन्छ। जनकपुरका सन्दर्भमा चितवन, लुम्बिनी, पोखरा, काठमाडौंमा केन्द्रित पर्यटनलाई अन्य क्षेत्रमा विस्तार गर्न सकिन्छ ।

जनकपुरलाई यसरी धार्मिक पर्यटकीय गन्तव्यस्थल र देवभूमिको रुपमा विकास गर्न सके प्रदेश २ को आर्थिक समृद्धिमा महत्वपूर्ण टेवा पुग्ने बुद्धिजिवीहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार