काठमाडौँ । सरकारले भोलि शनिवार राति १२ बजेदेखि संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि मन्त्रिपरिषदको बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए।
यसअघि राजनीतिक दलहरूबीच संसद्को कार्यकालबारे विवाद रहेको थियो । सरकारले आउँदो चुनावबाट गठन हुने संसद्को पहिलो बैठक बस्नु अघिसम्म यो संसद्को कार्यकाल कायम हुने गरी कानुन संशाेधन गर्न संसदमा विधेयक ल्याएकोमा विरोध भएपछि फिर्ता लिएको थियो ।
आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले आउँदाे आइतवार र सोमवारका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने कार्यक्रम तोकेको छ । समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने अघिल्लो दिनसम्म चालु संसद्को कार्यकाल रहने व्यवस्थाअनुसार भोलि राति १२ बजेपछि संसद्को कार्यकाल सकिँदैछ ।
सरकारले संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरेसँगै संसदमा रहेका २७ वटा विधेयक निष्क्रिय हुने भएका छन् । यसैबीच प्रतिनिधि सभाको अन्तिम बैठक भोलि दिउँसो १ बजे बस्दैछ ।