शरद् ऋतुका लागि ४५४ जनाले लिए आरोहण अनुमति : रोजाइमा ‘मनास्लु हिमाल’

spot_img

काठमाडौँ । यस वर्षको शरद् ऋतु (अटम सिजन) को हिमाल आरोहणका लागि ४८ आरोही समूहका चार सय ५० जनाभन्दा धेरै आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यो सिजनमा सगरमाथा (८,८४८.८६ मिटर), मनास्लु (८,१६३ मिटर) लगायत हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही आइरहेका छन् ।

यो अवधिमा सबैभन्दा बढी मनास्लु आरोहणका लागि ३७ आरोही समूहका तीन सय ९४ आरोहीले आरोहण अनुमति लिएका छन् ।विभागको पर्वतारोहण शाखाको विवरणमा सगरमाथा आरोहणका लागि एक समूहका पाँच आरोहीले अनुमति पाएका छन् । यस्तै धौलागिरि (८, १६७ मिटर) आरोहणका लागि चार आरोही समूहका ३४, हिम्लुङ हिमाल (७,१२६ मिटर) आराेहणका लागि दुई समूहका सात, नुप्से (७,८५५) आरोहणका लागि एक समूहका पाँच र सरिबुङ (६,३४६ मिटर) आरोहणका लागि मात्र एक आरोहीले अनुमति लिएका छन् ।

यो सिजनमा हिमाल आरोहणबाट अहिलेसम्म पाँच करोड ३२ लाख २७ हजार पाँच सय ९२ रुपैयाँ रोयल्टी जम्मा भएको छ । हिमाल आरोहणका लागि अहिलेसम्म ६० देशका एक सय १० महिला र तीन सय ४४ जना पुरुष गरी चार सय ५४ जना आरोही नेपाल आएका छन् । अघिल्ला वर्षमा झैँ यो वर्ष पनि मनास्लु आरोहणमा आरोहीको आकर्षण देखिएको छ । विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो मनास्लु हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आएका छन् ।

शरद् ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाइमा पर्छ । शरद् ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यो सिजनमा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ । सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गर्नुभएको थियो ।

सेभेन समिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले यो सिजनमा मनास्लु आरोहणका लागि धमाधम आरोही आइरहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार