काठमाडौँ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा शुक्रबार धेरै पानी पर्ने भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यी प्रदेशका थोरै स्थानमा उच्च वर्षाको समेत सम्भावना रहेको जनाएको छ । कतै भने हल्कादेखि मध्यम वर्षा हुनेछ ।
राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ। अहिले बिहान देशभरको मौसम सामान्यतया बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।
मनसुनको न्यूनचापीय क्षेत्र र मनसुनी रेखा नेपालतर्फ रहेकाले केही दिन देशभर पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभाव बिहीबार रातिदेखि नै देखिएको छ र केही दिनसम्म कायम रहने छ । महाशाखाका मौसमविद हिरा भट्टराईका अनुसार हाल भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्र नेपालको पश्चिम भूभागको नजिक आइपुगेको छ ।
यसैगरी मनसुनी रेखा पनि नेपालको तराई भूभाग नजिक आइपुगेकाले केही दिन मनसुन थप सक्रिय हुने छ । आइतबारदेखि भने यसको प्रभाव कम हुने तर पानी पर्ने क्रम नरोकिने मौसमविद भट्टराईले बताए । ‘आइतबारदेखि यसको प्रभाव घट्दो क्रममा रहन्छ तर पानी पर्ने क्रम भने रोकिंदैन,’ मौसमविद भट्टराईले भने, ‘हल्कादेखि मध्य वर्षा हुन्छ, भारी वर्षाको संख्या र स्थान कभरेज कम हुन्छ ।’
काठमाडौं उपत्यकामा मध्यमखालको वर्षा हुने तर भारी वर्षाको सम्भावना नरहने उनले बताए । पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले भनेको छ । ‘ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरुमा अनुरोध छ,’ महाशाखाले जारी गरेको विशेष बुलेटिनमा लेखिएको छ ।