काठमाडौँ । काठमाडौं महानगरपालिकाले समुदायमा फैलिएकाे डेंगुरोग नियन्त्रण गर्न र सचेतना फैलाउन पहल सुरु गरेको छ ।
समुदायमा फैलिएकाे डेंगुरोग नियन्त्रणका लागि महानगरले स्वास्थ्य परामर्शसहितकाे २४ घण्टे हटलाइन सेवा र निशुल्क एम्बुलेन्स सेवा सुरु गरेकाे महानगरका मेयर बालेन शाहले जानकारी दिएका छन् ।
मेयर शाहले फेसबुकमार्फत भनेका छन्, ‘ डेंगु जसरी समुदायमा फैलिएको छ, त्यसको रोकथाम र नियन्त्रणका लागि अत्यधिक सचेतना र क्रियाशीलताको आवश्यकता भएको कुरा हामी सबैले अनुभव गरेको कुरा हो । यसका लागि महानगर पहिलेदेखि नै महानगरस्तरमा सक्रिय रहेको जानकारी गराउँदछौँ। भइरहेका कार्यक्रमहरुलाई थप विस्तार गर्दै नयाँ कार्यक्रमहरु पनि ल्याएर स्रोत तथा जनशक्तिको अधिकतम प्रयोग गरिरहेका छौँ ।’
सेवाकाे जानकारी गराउँदै उनले भनेका छन्, ‘डेङ्गु संक्रमितहरुका लागि आजबाट २४ घण्टे हटलाइन सुरु गरेका छौँ। संक्रमित भए वा भएको शंका लागेमा तपाईले ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरूबाट नै परामर्श पाउन सक्नु हुनेछ । त्यस्तै आवश्यक भएमा १०२ मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा लिन सक्नुहुनेछ । यो सँगै डेङ्गु विरुद्धमा टोलटोल वा सामुदायिक रुपमा नै सक्रिय भएर लाग्न पनि हामी हार्दिक अपिल गर्दछौँ ।’