काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा खानेपानी मन्त्री रहेका उमाकान्त चौधरीलाई कारवाही भएको छ ।
नेपाली कांग्रेसको जिल्ला अनुशासन समिति बाराले पार्टीका सहमहामन्त्री समेत रहेका मन्त्री उमाकान्त चौधरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको छ ।
अनुशासन समितिले बाराको १ नम्बर क्षेत्रका सांसद चौधरीले स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको आरोप लगाउँदै निलम्बन गर्ने निर्णय गरेको छ ।
अनुशासन समितिले चौधरीसँगै पूर्व सांसद तथा महाधिवेशन प्रतिनिधि राधेचन्द्र यादव र २ नम्बर क्षेत्रका क्षेत्रीय सभापति रामप्रवेशप्रसाद यादवलाई पनि निलम्बन गर्ने निर्णय गरेको छ ।
अनुशासन समितिका संयोजक अरुणकुमार यादवले तीनै जनालाई निलम्बन गरिएको पत्र केन्द्रीय अनुशासन समितिमा पठाइएको बताएका छन् । पार्टी विरोधी गतिविधिमा लागेका कारण पार्टीबाट कारवाही गरिएको यादवको दाबी छ ।