काठमाडौँ । काठमाडौँबाट १ सय ५० किलोमिटरको दुरीमारहेको सिन्धुली ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण ठाउँ हो । देशको सिमाना सम्बन्धमा पृथ्वीनारायण शाहको उक्ति “ सन्धिसर्पन हेरी गढी तुल्याईराख्नु र रस्ता रस्तामा भाजा हाली राख्नु ” भने अनुसार सिन्धुली गढीमा अग्लो पर्खाल र किल्ला बनाइ फलामे तोप र बम गोलाहरु राखिएको थियो ।
अङ्ग्रेज नेपाल युद्ध समयमा काठमाडौँ आक्रमण गर्न अगाडी बढेको क्याप्टेन किनलकको फौज सिन्धुलीगढी नाकाबाट हार खाएर भागेको रमाइलो प्रसङ्ग इतिहासका किताबमा पढ्न पाइन्छ । दक्षिण एसियामै अङ्ग्रेजले पहिलोपटक युद्ध हार्नु परेको ठाउँ हो सिन्धुली गढी । इतिहासको यस्तै घटनाले सिन्धुलीगढीको महत्व बढाएको छ ।
सिन्धुलीलाई आन्तरिक तथा बाह्य उत्कृष्ट पर्यटकीय गन्तब्यकोरुपमा स्थापित गराउँन सिन्धुलीका विभिन्न संघसस्था सक्रिय बनेका छन् । भग्नावशेसको रुपमारहेको रानी दरबारलाइ पहिलाकै आकारमा पुर्ननिर्माण गर्ने र सिन्धुलीगढीबाट काठमाडौँ ल्यायर राखिएको हात हतियार लगाएत ऐतिहासिक महत्वको दस्ताबेज फेरी सिन्धुलीगढीमै संघ्रालय बनाएर राख्न सके त्यसले सिन्धुलीको महत्वलाइ बढाउने थियो ।
जे होस् बीपी राजमार्गले गर्दा अब सिन्धुली उत्कृष्ट पर्यटकीय गन्तब्य बन्दै । शैक्षिक भ्रमणमा जानेले बीपी राजमार्गको यात्रा गर्न छुटाउने छैनन् ।