‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकाको डेनभर कोलोराडोमा हुने

काठमाडौं । ‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान, गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को पाँचौ संस्करण अमेरिकाको डेनभर कोलोराडोमा आयोजना हुने भएको छ।

नेपाल अमेरिका सम्बन्धको ७५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा सन् २०२२ अक्टोबर १३, १४ र १५ तारिखमा अवार्ड आयोजना हुने जानकारी ‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ का अध्यक्ष नवराज श्रेष्ठले गराएका छन्।

अवार्ड कार्यक्रममा १३ र १४ तारिख नेपाली चलचित्रलाई विश्वसामु परिचित गराउने उद्देश्यले फिल्म फेस्टिभल हुने तथा १४ तारिखमा अमेरिकामा नेपाली चलचित्रको सम्भावनाको बारेमा अन्तरक्रिया कार्यक्रम र १५ तारिखका दिन अवार्ड वितरण कार्यक्रम हुने अध्यक्ष श्रेष्ठले जानकारी गराएका छन्।

एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रयोजन र सुनिल पाठक एजेन्ट अल स्टेट इन्स्योरेन्स कम्पनीको सह प्रयोजनमा नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एल. एल. सीले संयुक्त रुपमा ‘पाँचौ ग्लोबल नेपाली फिल्म अवार्ड’ आयोजना गर्न लागेका हुन्। अवार्डका अघिल्ला चार संस्करण कोलोराडो र सनफ्रान्सिस्कोमा भएका थिए।

कोरोना महामारीका कारण सन् २०२० र २०२१ मा अवार्ड आयोजना हुन सकेन। अवार्ड कार्यक्रममा नेपाली फिल्म र फिल्मकर्मीलाई सम्मानसहित अमेरिकामा रहेका नेपाली चलचित्रकर्मीलाई प्रोत्साहनसमेत गरिने नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले जानकारी गराएका छन्।

अवार्ड आयोजनाको उद्देश्य विदेशमा नेपाली फिल्मको प्रवर्द्धन गर्नु रहेको ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिकाका अध्यक्ष नवराज श्रेष्ठले बताए। ‘नेपाललाई फिल्म टुरिजमको हब बनाउन अवार्डले भूमिका खेल्नेछ,’ उनले भने।

नेपाललाई विदेशी चलचित्र कर्मीमाझ फिल्म सुटिङको सुन्दर गन्तव्यको रुपमा चिनाउन पनि यसले मद्दत गर्ने गोल्डेन स्टेट मुभी मेकरका यज्ञलाल श्रेष्ठले बताएका छन् भने सकेसम्म हलिउड फिल्ममेकरलाई नेपालमा निम्त्याएर कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको पनि श्रेष्ठले जानकारी गराए।

अवार्ड कार्यक्रममा भुटानी चलचित्रहरूलाई समेत समावेश गराउने अर्का आयोजक ८८४८ मिडिया हाउस एल एल सीका अध्यक्ष तथा निर्देशक नारायण पुरीले बताए।

नेपालबाट गएका र अमेरिकामा बस्ने कलाकर्मीहरुको पुनर्मिलन गराउने र नेपाललाई विदेशीमाझ चलचित्र छायांकन गर्न सुन्दर ठाउँको रुपमा प्रचार गर्नु पनि अवार्डको उद्देश्य रहेको पुरीले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार