दुबइमा बैङ्कको जागिर छाडेर कुखुरापालन !

spot_img

काठमाडौँ । दुबईस्थित स्ट्यान्डर्ड चार्टर्ड बैङ्कमा क्यासियर पदमा जागिर खाँदा मेरो मासिक तलब २ लाख रुपैयाँभन्दा बढी थियो । ०५९ सालमा भिजिट भिसा लिएर दुबई पुगेपछि मैले करिब १० वर्षसम्म त्यहीँ काम गरें । तर, पैसाले मात्र मलाई आत्मसन्तुष्टि दिएन । बरु आफ्नै देशमा फर्केर केही गरौं भन्ने इच्छा जाग्यो । त्यसैले व्यास–८ चापाघाटमा फर्केर कुखुरापालनमा व्यस्त भएँ ।

नेपाल फर्केको ३/४ महिनासम्म त्यत्तिकै बसें । एकदिन चितवनमा घुम्न जाँदा साथीहरूले पनि त्यही व्यवसाय गरेको देखेर कुखरापालनमै लगानी गर्ने सोच बनाएँ । लगानी गर्न सक्ने हो आम्दानी पनि राम्रै हुने देखेको थिएँ र अहिले यही सोच फलिफाप भएको छ । यो व्यवसायबाट राम्रै आम्दानी भएको छ ।

मैले ४ रोपनी जग्गा १५ वर्षका लागि लिजमा लिएर ०६९ देखि कुखुरापालन सुरु गरेको हुँ । त्यतिबेला १६ सय कुखुराका चल्ला पालेर व्यवसाय थाल्दा यसमा जम्माजम्मी १७ लाख रुपैयाँ लगानी भएको थियो । ०७१ साउन १ गते ४६ सय कुखुराका चल्ला पाल्न सुरु गरेर अहिले दैनिक २९४० वटा अन्डा बिक्री गर्दै आएको छु । कुखुरापालनमा हालसम्म ७० लाखभन्दा बढी लगानी भइसकेको छ ।

अन्डा संकलनका लागि कुखुरा फार्मभित्र १५७ वटा डालो राखिएका छन् । कुखुराले त्यही डालोमा अन्डा पार्ने र दैनिक ३ पटकसम्म अन्डा संकलन गर्ने गरिएको छ । बाहिरको हल्लाले कुखुरा तर्सिने भएकाले फार्मभित्र भजनसहितको संगीत बजाइदिन्छु ।

कात्तिक १५ गतेबाट अन्डा उत्पादन सुरु भएको हो । अन्डाको माग यति थियो कि मंसिरबाटै बजारमा बिक्री गर्न थालें । दैनिक २८ हजार रुपैयाँको अन्डा बिक्री हुने गरेको छ । दाना र ज्यालामा दैनिक १३ हजार रुपैयाँ खर्च हुन्छ । १५ हजार रुपैयाँ नाफा हुन्छ । अन्डा बिक्रीका लागि बजार अभाव छैन । बरु माग अत्यधिक छ, त्यसअनुसार उत्पादन हुनै सकेको छैन ।

व्यवसायमा धैर्य चाहिन्छ । सुरुमा १८ लाखको दाना खर्च भएपछि मात्रै अन्डा उत्पादन हुन थालेको थियो । दिनमा १६ हजार १ सय रुपैयाँ दानामा मात्रै खर्च हुन्थ्यो । अन्डा बिक्रीबाट मासिक मोटामोटी ४ लाख ५० हजार रुपैयाँ नाफा हुने गरेको छ । पहिलेदेखि नै कृषिमा केही गरौं भन्ने सोच थियो– त्यसैले यो व्यवसाय गर्दा सन्तुष्ट छु ।

कुखुरापालनका लागि दिनमा ७ बोरा दाना आवश्यक पर्छ । अहिले चितवनबाट १४ दिनमा १ लाख ६० हजार रुपैयाँको दाना ल्याउने गरेको छु । अब आफैंले दाना उत्पादन गर्ने सोच पनि छ । पहिला–पहिला छिमेकीहरू यत्रो पढेलेखेको भएर पनि के काम गर्न लाग्यो भन्थे, अहिले मेरो सफलता देखेर छक्क पर्छन् ।

मैले ०५६ मा सोही ठाउँमा ग्रिनस्टार बोर्डिङ स्कुल स्थापना गरेको थिएँ । विद्यालयमा कक्षा ७ सम्मको पढाइ हुन्थ्यो । तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वका कारण बोर्डिङ स्कुल बन्द भयो र म वैदेशिक रोजगारीका लागि दुबई पुगें । बिदेसिनु मेरो रहर नभई बाध्यता थियो । दुबईको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा क्यासियरको जागिर पाएँ । मासिक तलब २ लाख थियो । त्यहाँ रहँदा राम्रै पैसा कमाइयो तर त्यत्तिले मात्रै मन भरिएन र स्वदेश फर्किएँ । राम्रो जागिर छाडेर फर्केकोमा मलाई पछुतो छैन । जुन आनन्द विदेशमा थियो, त्योभन्दा बढी सन्तुष्टि अहिले यहाँ मिलेको छ । परिवारसँगै बसेर व्यवसाय गर्न पाउँदा मन खुसीले गदगद हुन्छ ।

अहिले म दैनिक १५ घण्टा कुखुरा फार्ममै बिताउँछु । बिहान ६ बजेदेखि राति ९ बजेसम्म कुखुरा स्याहारसुसारका लागि समय छुट्ट्याएको छु । २ जना कामदारसमेत छन् । उनीहरूलाई मासिक १२ हजार रुपैयाँ पारिश्रमिक दिन्छु । अब छिट्टै थप २ हजार कुखुरा पाल्न मिल्ने गरी खोर निर्माण गर्ने योजना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार