माडी नगरपालिकाको बजेट करिब एक अर्ब

spot_img

माडी । माडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि करिब एक अर्ब रूपैयाँको बजेट ल्याएको छ । आइतबार माडीको बघौडास्थित माडी भिलेज रिसोर्टको सभाहलमा सम्पन्न नगरपालिकाको १३औँ नगरसभामा नगर उपप्रमुख खेमप्रसाद महतोले ९९ करोड ६० लाख ३५ हजार रूपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

‘सम्पदा सम्पन्न माडी नगर, इको कृषि र पर्यटनको शहर’ भन्ने मुल नारालाई अत्मसाथ गर्दै नगरको समुन्नत विकासको लागी अग्रसर रहेको उपप्रमुख महतोले बताए ।

नगरपालिकाले माडीका सबै वडाका योजनाहरु सम्बोधन हुनेगरी वडा नंं. १ का लागि ९० लाख, वडा नं. २, ३, ६ र ७ का लागि प्रतिवडा ८० लाख, वडा नं. ४, ५ र ८ का लागि प्रतिवडा ७० लाख र वडा नं. ९ को लागि एक करोड २५ लाख गरी कुल सात करोड ४५ लाख बजेट विनियोजन गरेको छ ।

त्यस्तै नगरद्वारा विनियोजित बजेटमा शिक्षातर्फ रू २८ करोड १४ लाख ८४ हजार बजेट विनियोजन गरिएको छ । जसअन्तरगत सामुदायिक विद्यालयमा शिक्षण सहयोग अनुदान, दिवा खाजा कार्यक्रम, निःशुल्क सेनेटरी प्याड वितरण कार्यक्रम, विषय शिक्षक नेटवर्कलगायत रहेका छन् । स्वास्थ्य क्षेत्रमा कुल नौ करोड ३१ लाख ४७ हजार बजेट विनियोजन गरिएको छ ।

त्यस्तैगरी माडी नगरपालिकाको समग्र प्रशासनिक सुधार तथा कार्यालय व्यवस्थापनको लागि कुल २२ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । पशुपक्षी विकासतर्फ ए करोड ९८ लाख सात हजार, श्रम र उत्पादनलाई जोड दिँदै कृषि विकासतर्फ रू एक करोड ६७ लाख ६० हजारलगायत विभिन्न क्षेत्रमा बजेट विनियोजन गरिएको छ ।

सो बजेटका लागि संघीय सरकारबाट प्राप्त हुने अन्तरसरकारी वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँडबाट रू ६१ करोड १३ लाख ९२ हजार अनुमान रहेको छ । जसअन्तर्गत समानीकरणतर्फ रू १२ करोड १३ लाख रूपैयाँ, सशर्त अनुदानतर्फ ३३ करोड ४६ लाख ९२ हजार, समपूरक अनुदानतर्फ रू एक करोड १० लाख, विशेष अनुदानतर्फ दुई करोड ३५ लाख रूपैयाँ, तथा राजस्व बाँडफाँडतर्फ मूल्य अभिवृद्धि कर सात करोड ९९ लाख २६ हजार १०९ रूपैयाँ, अन्तःशुल्क दुई करोड ९० लाख ३० हजार २०९ रूपैयाँ र वन रोयल्टी तर्फ एक करोड १९ लाख ४३ हजार ६८२ रूपैयाँ अनुमान गरिएको छ ।

त्यस्तै, प्रदेश सरकारबाट प्राप्त हुने अन्तरसरकारी वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँडबाट रू २२ करोड तीन लाख ६२ हजार सय आम्दानी हुने अनुमान गरिएको छ । जसअन्तर्गत समानीकरण अनुदानतर्फ रू एक करोड २३ लाख १६ हजार, सशर्त अनुदानतर्फ रू तीन करोड ७३ लाख ४३ हजार, समपूरक अनुदानतर्फ रू तीन करोड, विशेष अनुदानतर्फ रू ६५ लाख र राजस्व बाँडफाँडअन्तर्गत सवारीसाधन करतर्फ रू सात करोड ४२ लाख तीन हजार तथा घर जग्गा रजिस्ट्रेसनबापत् मालपोतबाट प्राप्त हुने राजस्व रू छ करोड अनुमान गरिएको छ । नगरको आन्तरिक आय रू १६ करोड ४२ लाख ८१ हजार प्रक्षेपण गरिएको छ ।

आगामी आर्थिक वर्ष २०८१/०८२ मा नगरस्तरीय योजनाअन्तर्गत वडा नं. १, ४ र ७ का वडाहरुमा वडा कार्यालय भवन निर्माणका लागि लागि प्रतिवडा २० लाख रूपैयाँका दरले ६० लाख विनियोजन गरिएको हो । सो रकममा हरेक वडाले १० लाख रूपैयाँ लागत सहभागिता राख्ने भएका छन् ।

यसबाहेक वडा कार्यालयहरुलाई विकास निर्माणमा सक्रिय सहभागिता गराउने र सम्बन्धित वडाबाट नै छनोट भएका योजनाहरुलाई सम्बोधन हुनेगरी वडा नं १ का लागि ९० लाख, वडा नं २, ३, ६ र ७ का लागि प्रतिवडा ८० लाख, वडा नं ४ र ५ र ८ का लागि प्रतिवडा ७० लाख र वडा नं ९ का लागि एक करोड २५ लाख गरी कुल रकम रू सात करोड ४५ लाख विनियोजन रहेको छ ।

माडीले दूधमा दिँदै आएको प्रतिलिटर चार रूपैयाँ अनुदानलाई निरन्तरता दिने भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि पारित गरेको पशुपक्षी तथा मत्स्य विकास शाखाको बजेटमार्फत सो अनुदानका लागि ६१ लाख ८१ हजार रूपैयाँ विनियोजन गरेको हो ।

यसबाहेक, नगर उपप्रमुख खेमप्रसाद महतोद्वारा प्रस्तुत बजेट वक्तव्यमा नगर भेटेरिनरी अस्पताललाई थप सबलीकरण गर्दै आवश्यक जनशक्ति व्यवस्थापन गरिने र वडा नं ७ मा रहेको मध्यवर्तीमार्फत सञ्चालित भेटेरिनरी सेवा केन्द्रलाई नगरपालिका मातहत ल्याउन प्रयत्न गरिने उल्लेख छ ।

त्यस्तै, वडा नं ७ मा बाख्रा प्रवद्र्धन कार्यक्रम, वडा नं २ मा पशुपालन प्रवद्र्धन कार्यक्रम, वडा नं ६, ७ र ८ मा माछा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख रहेको छ । पशुपक्षी विकासतर्फ एक करोड ९८ लाख सात हजार रूपैयाँ बजेट विनियोजन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार