आज विश्व रक्तदाता दिवस । गोरखकाली पूजा

spot_img

विश्व रक्तदाता दिवस
दुर्घटनामा घाइते भएकी स्मृति को आन्तरिक रक्तस्राव भई तत्कालै अपरेसन गर्नका लागी ५ पिन्ट बि पजीटीभ रगत चाहियो । ब्लडबैकंमा एकै फेर ५ पिन्ट रगत पाउन मुस्किल र यता मान्छेको ज्यानको खतरा । सामाजिक सञ्जालका माध्यम वाट रक्तदाताहरू बोलाएर रगत पूर्ति गरियो र आज स्मृति स्वास्थ्य लाभ गरिन । यसरी रगत समयमै पूर्ति हुन नसक्ने भए धेरै जनाको ज्यान जोखिममा पर्दछ । रक्तदान मानव सभ्यताको सबैभन्दा पुण्य कमाइने दान हो र आउनुहोस् आज यही पुण्य कमाउने विषयमा कुरा गरौँ ।

स्मरण रहोस् हरेक वर्षको जुन १४ तारिखमा संसारभरि रक्तदाता दिवसका रूपमा मनाइने चलन छ । स्मृतिलाई जस्तै अन्य थुप्रै मान्छेहरूलाई आवश्यक पर्दा रगत को स्वयंसेवी दान गरेर रक्तदाताहरूले मानवतालाई एउटा नयाँ उचाइ दिई रहेका छन् , हाम्रो पात्रो आज ती तमाम रक्तदाताहरूलाई एकमुस्ट सलाम गर्दछ ।

विश्व रक्तदाता दिवसको पृष्ठभूमि
मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर रक्तदाता दिवस मनाइदैछ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको थियो । यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ ।

रक्तदाता दिवस कसरी मनाइन्छ ?
रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम सहित रक्तदानको महत्त्वबारे जानकारी दिने खालका रयाली, कोणसभा, प्रभात फेरी लगायत चेतनामूलक कार्यक्रमहरू आयोजना गरिंदै आएको छ । रगतको महत्त्व बुझाउँदै आवश्यकताबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरूको योगदानप्रति कृतज्ञता स्वरूप एक नायक अभियानका रूपमा यो दिवस मनाउने गरिन्छ । रक्तदानको आवश्यकताबारे जागरूकता बढाउन यो दिवस मनाइन्छ । यस दिवसले नयाँ रक्तदाताका रूपमा युवाहरूलाई उत्प्रेरित गर्न एवं नियमित रक्तदाताहरूलाई सम्मान गर्न स्वयंसेवी भावना बढाउँदछ । रगतको आवश्यकतालाई परिपूर्ति गर्ने रक्तदाताहरुको कदर स्वरूप नेपालमा २०७० जेठ ३० र ३१ गते प्रथम रक्तदाता सम्मेलन समेत आयोजना गरिएको थियो ।

रक्त समुहहरु र रक्तदान
मानव रक्तसमुह ८ प्रकारका हुन्छन् र आफ्ना रगत समूह अनुसारका मेल खाने समूहहरूका रगत उनीहरूमा चढाइन्छ । यसरी रगत दिन या चढाउन अगावै दाताहरूको रगतमा कुनै सङ्क्रमण छ या छैन भनेर जाँच गरिन्छ । यसरी दाताहरूलाई उनीहरूको मेडिकल इतिहास र स्वास्थ्यका बारेमा जानकारी लिइन्छ ।

सामान्यतया एक पटक रक्तदान गरेर अर्को पटक रक्तदान गर्नुका बिचमा ३ महिनाको फरक राख्ने चलन छ । रक्तदानको कुरा गरिरहँदा आखिर रक्तदान गर्नका लागी के के कुरा हुन पर्दछ भन्ने जिज्ञासा हामीलाई लागेको हुन सक्दछ भने हामी मध्य कतिपयलाई यी कुराहरू पहिल्यै थाहा पनि छ होला । रक्तदान गर्न कालागि सामान्यतया ५० केजी तौल भएको कम्तीमा पनि १८ वर्ष र बढीमा ६० वर्षको सीमा तोकिएको छ । यस्ता रक्तदाताका सीमाहरू देश अनुसार फरक पनि हुन सक्दछन् ।

रक्तदान नै जीवनदान हो । केही कुराहरू पैसा तिरेर पनि पाँईदैन्, पसलमा बेचिँदैन अनि कति कुराहरु बेलैमा नपाएमा मान्छेको जीवन जोखिममा पर्दछ । यिनै केही कुराहरूमा पर्न आउँदछ रगत । हरेक मान्छेको शरीरमा नशा नशामा कुदिरहेको, हरेक तन्तुहरूमा आवश्यक कुराहरू पुराइरहेको, शरीरको तापक्रम सन्तुलन गरिरहेको अनि हाम्रो प्राणतत्वको रक्षा गरिरहेको, रगत एक अपरिहार्य कुरा हो ।

सन् २०२४ को रक्तदाता दिवसको नारा
20 years of celebrating giving: thank you blood donors!
२० वर्षको रक्तदाताहरुको इतिहासलाई धन्यवाद ज्ञापन गर्न यस नारा कथिएको छ ।
के रक्तदान गर्नुभएको छ त ?

बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा महत्त्व
बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा असाध्यै धेरै महत्त्व छ । पृथ्वी नारायण शाह र बाबा गोरख बिचको भेट, पृथ्वी नारायण शाहको गोडामा पर्न गएको बान्ता र बाबा गोरखले पृथ्वी नारायण शाहलाई दिएको जहाँ जहाँ टेकिन्छ त्यहाँ त्यहाँ विजय हुनु भन्ने आर्सीवाद नै नेपाल एकीकरणको एउटा असाध्य बलको ऊर्जा र सामर्थ्यको कारण पनि मानिन्छ ।बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ ।यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ ।

गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको थियो । गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबा गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ ।गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशिष् नेपाली जनलाई थप चाहिएको छ ।

गोरख सन्देश
गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन् –

हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो । बाबा गोरखनाथ र गोरखकाली भगवतीको अनन्त कालसम्म जय होस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार