स्टेजमा हिट, खोइ कालजयी गीत ?

spot_img

काठमाडौं । वर्ष २०८० को उत्तरार्धतिर (फागुन दोस्रो साता) एउटा गीत एकाएक भाइरल बन्यो ‘जिन्दगी चल्न त चल्या छ पीरैपीरमा छ’। भूपू पाण्डेको शब्द, संगीत तथा स्वर रहेको यो गीतमा आम नेपाली युवाले आफ्नो कथा पाए ।

युवालाई देशभित्र रोजगारीको समस्या हुँदा कस्तो मनोदशामा गुज्रिन्छन् भन्ने मार्मिक पक्षलाई उजागर गरेको ‘पीरैपीर’ यस वर्ष धेरै रुचाइएको गीतमध्ये एक बन्यो । भूपू पाण्डेलाई नेपाली सांगीतिक क्षेत्रमा जबर्जस्त स्थापित नै गराउन सफल बन्यो ।

भूपू पाण्डेको गीतको सन्दर्भ किन राखिएको हो भने सामाजिक यथार्थ चित्रित गीतलाई श्रोताले २०८० सालमा निकै रुचाए । प्रकाश सपूतको ‘दमाई महाराज’ होस् या ‘जाले रुमाल फाट्यो’, यी गीत पनि सामाजिक विषयवस्तुमै आधारित थिए, जसलाई श्रोता-दर्शकले निकै रुचाए ।

वर्ष २०८० मा कति गीत सार्वजनिक भए भन्नेमा ठ्याक्कै आँकलन गर्न त नसकिएला तर युट्युबमा दैनिक डेढ दर्जन हाराहारीमा गीत रिलिज भएको मान्ने हो भने ६ हजार ५०० भन्दा बढी गीत बजारमा आए। तर तीमध्ये केहीले मात्रै श्रोताको मन जित्न सफल भए ।

अहिले गीत रिलिज गर्नका लागि धेरै डिजिटल प्लाटफर्म उपलब्ध छन् । स्पटीफाइ, एप्पल म्युजिक, युट्युब म्युजिक जस्ता अडियो प्लाटफर्ममा नेपाली गीतहरू पनि प्रशस्तै अपलोड भएका छन्। तर पनि गीत हिट वा फ्लप मान्ने मुख्य माध्यम भनेको नेपालमा युट्युब नै हो ।

यस वर्ष युट्युबमा सर्वाधिक भ्युज पाएको आधारमा हेर्दा शान्तिश्री परियारले गाएको लोकगीत ‘अरेली काँडैले’ सुपरहिट हो । त्यस्तै सुशान्त केसीको ‘सारंगी’, एलिना चौहानले गाएको ‘कट्टा हान्दिन्छु’, प्रकाश सपूत र समीक्षा अधिकारीले गाएको ‘जाले रुमाल फाट्यो’, प्रकाश दूतराज र मेलिना राईको स्वरको ‘रिमै’, प्रकाश सपूत र शान्तिश्रीको स्वरमा ‘दमाई महाराज’, सुजन चापागाईंको ‘फूलथुंगे रानी’, यश कुमारको ‘सुस्तरी सुस्तरी’, हेमन्त शर्मा र अस्मिता अधिकारीले गाएको ‘उता परेली झिमझिम भो’, प्रकाश सपूत, कुशल बेल्वासे र प्रताप दासको स्वरमा रहेको ‘मुटु कटक्कै’, युवेश थापाको ‘कसरी’, हिमाल सागर र अन्नु चौधरीको ‘आहा माया’लाई यस वर्ष धेरै रुचाइएका गीतको रुपमा लिन सकिन्छ ।

यस वर्ष गीत त धेरै रिलिज भए तर लामो समयसम्म छाप छाड्न सक्ने भने खासै देखिएनन् । संगीतकार आलोकश्री २०८० सालमा ‘नोटेबल’ गीत आउन नसकेको बताउँछन् । ‘विगतका वर्ष जस्तै यस वर्ष पनि सबै जनराका गीत सार्वजनिक भए । हिट भनिएका गीतको पनि दुई-तीन महिनाभन्दा बढी अवधि रहन सकेन,’ उनी भन्छन्, ‘गत साल तिलकसिंह पेलाको के लत बस्यो भन्ने गीत कालजयी बनेर आयो । तर यस वर्ष स्टेज केन्द्रित गीतको मात्रै बाढी आयो । समग्र नेपाली संगीतलाई योगदान दिने गीत आउन सकेनन् ।’

संगीतकार आलोकश्रीले भने जस्तै यस वर्ष नेपाली संगीतको मूल जनरा मानिएको सुगम संगीतमा आधारित गीतहरू औसत मात्रै रहे । सुगम संगीततर्फ यश कुमारको ‘सुस्तरी सुस्तरी’ सबैभन्दा बढी रुचाइएको गीतको रुपमा रह्यो । यसै वर्ष यश कुमारले नै ल्याएको अर्को गीत ‘तिमी छौ र त’ले पनि श्रोता-दर्शकको मन जित्यो । सुगम संगीतका लोकप्रिय गायकहरू शिव परियार, प्रमोद खरेलका गीतहरू पनि यो वर्ष आए, तर ती सबैले औसत चर्चा पाए । प्रमोद खरेलका ‘तिम्रो साथ विना’, ‘तिम्रो मन बदलियो’, ‘गंगा जमुना’ रुचाइए भने शिव परियारका ‘तिमी हौ सबथोक’, ‘तिमी र म’, ‘धोकेवाज हौ तिमी-३’ गीत रुचाइए ।

‘मैले यस वर्ष मेरो सांगीतिक संघर्ष तिमी र म सार्वजनिक गर्ने अवसर पाएँ । मैले पनि केही गीत ल्याएँ । तर गायक-गायिकाको बाध्यता भनौं वा श्रोताहरूले यही शैलीका गीत मात्रै सुन्नुहुन्छ भन्ने भ्रमले हो २०८० सालमा उल्लेख्य आधुनिक गीत सुन्न नपाइएकै हो,’ गायक शिव परियार भन्छन्, ‘गायक-गायिका स्टेज ओरेन्टेड हुँदा आफ्नो मूल जनरामाथि अन्याय भइरहेको मैले महसुस गरेको छु । त्यसैले यस वर्ष आधुनिक गीतहरू नोटिस्ड हुने गरेर नआएकै हुन् ।’

गायक परियारले भने जस्तै सुगम संगीतमा ‘नोटेबल’ गीत नआएकै हुन् । अन्य जनराको हकमा लोकगीतको आफ्नै सदावहार ‘क्रेज’ देखियो भने पप संगीतमा नयाँ पुस्ताका सुशान्त केसी, स्वप्न सुमन, युवेश थापाहरूका गीतका आफ्नै उल्लेख्य श्रोता रहे ।

कुनै समय नेपाली संगीतमा दबदबा कायम राख्ने फिल्मी गीतको जनरा यस वर्ष भने खास नदेखिएको संगीतकार आलोकश्री बताउँछन् । ‘फिल्मका गीत यस्ता भए कि पर्दामा हेरुन्जेल रहने र पर्दा अफ हुनासाथ गीत पनि झर्ने अवस्था छ अहिले । त्यसमाथि गीत नै फिल्ममा नराख्ने प्रचलन बढ्दै गएको छ । त्यसैकारण खासै फिल्मी गीतका जनराको चर्चा गर्न आवश्यक नै हुन छाड्यो ।’

कोभिडपछि गत वर्षदेखि पूर्ण लयमा फर्किएको स्टेज कार्यक्रममा यस वर्ष कलाकारहरूको व्यस्तता झनै बढ्यो । स्थापित गायक-गायिकादेखि एक-दुई गीत चर्चित भएका कलाकारसम्म देशभर आयोजना भएका मेला-महोत्सव र विदेश कार्यक्रममा सरिक भए। यसबाट कलाकारको आम्दानीको ग्राफ पनि राम्रैसँग बढ्यो । अस्मिता अधिकारी, प्रकाश सपूत, शान्तिश्री परियार, एलिना चौहान, रचना रिमाल, समीक्षा अधिकारीहरूको त काठमाडौं ट्रान्जिट जस्तो मात्रै बन्यो । उनीहरू एकपछि अर्को कार्यक्रममा देश-विदेशको यात्रामा निस्किरहे, काठमाडौं त विमान चढ्ने ठाउँ मात्रै बन्यो उनीहरूका लागि ।

सुगम संगीतका लोकप्रिय गायक-गायिकाहरू रामकृष्ण ढकाल, यम बराल, राजेशपायल राई, अञ्जु पन्त, प्रमोद खरेल, शिव परियार, मेलिना राई, मिलन नेवार, हेमन्त शर्मा, हिमाल सागर लगायत पनि वर्षैभर स्टेज र स्टुडियो दुवैतिर व्यस्त बने । नयाँ पुस्ताका सुशान्त केसी, सज्जनराज वैद्य, युवेश थापा, स्वप्न सुमन, भिटेनले पनि देश-विदेशमा कन्सर्ट गरे ।

ब्यान्डतर्फ लोकप्रिय लोकरक ब्यान्ड ‘नेपथ्य’ले जबर्जस्त उपस्थिति जनायो । देशका विभिन्न शहरका साथै यो ब्यान्ड यस वर्ष अष्ट्रेलिया, क्यानडा, जापान लगायत मुलुकमा गुञ्जियो । अर्को पुरानो ब्यान्ड ‘कन्दरा’ले गृहनगर पोखरामा कन्सर्ट गर्दै आफूलाई धेरैपछि स्टेजमा फर्कायो ।

गायक शिव परियार यो वर्ष देश-विदेशमा निकै कार्यक्रम आयोजना हुँदा कलाकारहरू व्यस्त बनेको बताउँछन् । ‘म पनि नेपालका विभिन्न शहर र जिल्लाका कार्यक्रमहरूमा सहभागी भएँ । यो वर्ष क्यानडा, थाइल्याण्ड र मध्यपूर्वका देशहरूको कन्सर्टमा सहभागी हुने अवसर पाएँ, त्यस्तै अमेरिका भ्रमण पनि गरें,’ उनी भन्छन्, ‘समग्रमा मेरो जस्तै अन्य कलाकारको स्टेज व्यस्तता निकै बढ्यो । यसबाट देशभित्र र डायस्पोराका दर्शक-श्रोतासँग साक्षात्कार हुन पाउनुका साथै आर्थिक रुपमा पनि कलाकारलाई राम्रै भएको मान्न सकिन्छ ।’

२०८० साल नेपाली संगीतका लागि दु:खद् वर्षका रुपमा पनि रह्यो। यस वर्षको फागुन १४ गते भजन शिरोमणि भक्तराज आचार्यको ८२ वर्षको उमेरमा निधन भयो । नारायणगोपाल, प्रेमध्वज प्रधानका समकालीन आचार्यको निधनले नेपाली संगीतले एक अभिभावक गुमायो ।

संगीतकार आलोकश्री भन्छन्, ‘हाम्रो पुस्ता उहाँहरूको पुस्तालाई सुनेर, देखेर प्रोत्साहित भएर आएको हो । भक्तराजज्यूको नेपाली संगीतमा अतुलनीय योगदान छ। म त भन्छु जुन दिनदेखि स्वास्थ्यका कारण उहाँले संगीतमा पूर्णविराम लगाउनुपर्‍यो त्यो दिन सुगम संगीतमा ठूलो स्वरको अवसान भएको थियो । यो वर्ष भौतिक रुपमा उहाँ रहनुभएन, यो अर्को कालो दिन हो। नेपाली संगीतले सुरको महाराज नै गुमाएको छ ।’

नेपाली गीत-संगीत स्ट्रिमिङको मुख्य माध्यम हालसम्म युट्युब नै रहँदै आएको छ । खर्च गरेर म्युजिक भिडियो बनाउने र युट्युबमा गीत रिलिज गर्ने अहिलेको ट्रेन्ड हो । युट्युबमा राखिने भएपछि जुनसुकै स्तरको भए पनि भिडियो निर्माण गर्नैपर्ने बाध्यता हुन्छ । खर्च पनि मनग्ये हुन्छ ।

अहिले इन्टरनेटको दुनियाँमा यस्ता प्लाटफर्महरू छन्, जहाँ अडियो मात्रै राखेर पनि आम्दानी गर्न सकिन्छ । स्पटीफाइ, एप्पल म्युजिक, युट्युब म्युजिक लगायत प्लाटफर्ममा केही कलाकार र सर्जकले आफ्ना सिर्जनाबाट राम्रै कमाइ गरिरहेका छन् । यस वर्ष अघिल्ला वर्षहरूमा भन्दा यी प्लाटफर्ममा गीत राखेर आम्दानी गर्ने कलाकार र सर्जकहरू बढेको नेपालका चर्चित कलाकारहरूको सामाजिक सञ्जाल व्यवस्थापन गर्दै आएका आईटीविज्ञ राजेन्द्र अर्याल बताउँछन् ।

‘पछिल्ला वर्षहरूमा अडियो प्लाटफर्मलाई लिएर कलाकारहरू सिरियस हुन थालेका पनि छन् । तर जति हुनुपर्ने हो त्यति चाहिं छैन,’ अर्याल भन्छन्, ‘यस वर्ष अडियो प्लाटफर्मबाट धेरै कलाकारले राम्रै कमाइ गरे । म त भन्छु सबैले यस्ता प्लाटफर्मको प्रयोग गरेर नेपाली संगीतलाई अझै ठूलो मासमा पुर्‍याऔं ।’

गीतको भिडियो बनाउँदा ‘म्युजिकल फिल्म’ बनाउने ट्रेण्ड यो वर्ष ह्वात्तै बढ्यो । प्रकाश सपूत र आर्टमाण्डुबाट आउने गीत त यस्तै शैलीका आउने गर्थे नै, यस वर्ष यश कुमार लगायत कलाकारले पनि ‘म्युजिकल फिल्म’ शैलीमा गीतको भिडियो ल्याए । यसले भिडियोप्रति दर्शकको आकर्षण बढाए पनि खर्चको सीमा बढेको र शब्द ओझेल पर्ने अवस्था समेत आएको कतिपय संगीतकर्मीले अर्थ्याए ।

गीतको शब्द, संगीत र स्वरमा भन्दा भिडियोमा ध्यान केन्द्रित हुँदा अरु कुरा ओझेलमा पर्न सक्ने उनीहरूको बुझाइ छ । जे भए पनि पाँच मिनेटको गीतलाई भिडियोमा कथा हालेर १५ मिनेटसम्म तन्काउने अभ्यास धेरैले गरे ।

यस वर्ष केही कलाकार आफ्नो क्रियाकलापका कारण विवादमा समेत तानिए । गायक राजेशपायल राई विवाहदेखि सम्बन्धविच्छेद र स्टेजका घटनाले चर्चामा रहे । गत भदौमा तेह्रथुममा आयोजित कार्यक्रममा गीत गाइरहेको बेला पछाडिबाट कानेखुसी गर्न आएका व्यक्तिलाई ब्याक किकको घटना होस् वा सिक्किममा ब्यानर हटाउन लगाएको घटना यी कुराले उनी निकै आलोचित बने ।

साथै उनी व्यक्तिगत जीवनका कारण पनि चर्चामा रहे । सङबुङ राईसँग उनको यसै वर्ष औपचारिक रुपमा सम्बन्धविच्छेद भयो । यस्तै राजेशपायलसहित तीन जनालाई मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा मध्यराति अनामनगरस्थित मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गर्‍यो । भोलिपल्ट बिहान सम्झाईबुझाई उनीहरुलाई छाडिएको प्रहरीले बतायो ।

पर्वतमा गायिका एलिना चौहान र साउन्ड टेक्निसियनबीच ‘लाइभ कन्सर्ट’मै भनाभन भयो । साउण्ड मिलाउने कुरालाई लिएर दुई जनाबीच चर्काचर्की भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो ।

एलिनाले टेक्निसियनलाई साउण्ड मिलाउन आग्रह गरिरहेको र प्राविधिकले चाहिं ‘भोकललाई क्लियर गरेर हामीसँग लेबल माग्नु’भनेर जवाफ दिएको घटना निकै आलोचित बन्यो । यसले संगीतकर्मी र टेक्निसियनका संस्था आमनेसामने समेत हुने अवस्था सिर्जना भयो । पछि आपसी समझदारीमा यो विवाद टुंगियो ।

समग्रमा यस वर्ष नेपाली संगीत औसत मात्रै रहेको संगीतकार आलोकश्रीको निष्कर्ष छ । ‘संगीत क्षेत्र हाँक्ने खालका नयाँ गायक-गायिका जन्मिन सकेनन्, पुरानाको पनि कालजयी गीत आउन सकेनन् । चल्नलाई चल्यो तर निराशाको वर्ष भन्छु म,’ उनी भन्छन्, ‘गायकहरू नजन्मिएको त धेरै भएजस्तो भयो । गायिकाहरूमा नयाँ पुस्ता छाइरहेको बेला गायकमा शिव परियार र प्रमोद खरेलको पुस्तापछि को त ?’

गायक परियार गायक-गायिका स्टेज केन्द्रित गीतको पछि मात्रै लाग्न नहुने बताउँछन् । ‘यस वर्ष सबै जना स्टेज ओरेन्टेड हुँदा राम्रा गीत एक त कम आए, आएका पनि त्यसै हराए । यसमा समीक्षा गरेर अघि बढ्न जरुरी छ,’ उनी भन्छन्, ‘अघिल्लो वर्ष तिलकसिंह पेलाको गीतले एउटा मानक बनाएको थियो । यस वर्ष त्यस्तो केही देखिएन । समग्रमा यो वर्ष नेपाली संगीत क्षेत्रका लागि औसत मात्रै रह्यो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार