भण्डारा माविलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

spot_img

राप्ती । राप्ती नगरपालिकामा आयोजना गरिएको यो वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भण्डारा माध्यमिक विद्यालयले जितेको छ । युवा जागृति क्लबको खेल मैदानमा आयोजित पाँचौँ रनिङ शिल्ड प्रतियोगितामा २२ स्वर्ण, २२ रजत र ९ कास्य पदक जित्दै उपाधि जितेको हो । अघिल्लो वर्षको उपाधि पनि भण्डाराले जितेको थियो ।

प्रतियोगितामा वीरेन्द्र आदर्श मावि द्वितीय तथा राष्ट्रिय मावि महादेवटारले तृतीय स्थान हासिल गरेका छन् । द्वितीय भएको वीरेन्द्र आदर्शले १२ स्वर्ण, १० रजत र १९ कास्य पदक तथा तृतीय भएको महादेवटारले ११ स्वर्ण, ११ रजत र ६ वटा कास्य पदक जितेको राप्ती नगरपालिका शिक्षा अधिकृत रविना देउजाले जानकारी दिइन् । विजेता विद्यालय तथा विद्यार्थीलाई राप्ती नगरपालिका प्रमुख शमशेर लामाले शिल्ड प्रदान गरे ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यालयले क्रमशः १५ हजार, १० हजार र ५ हजार रूपैयाँसमेत प्राप्त गरेको शिक्षा अधिकृत देउजाले बताइन् । नगरस्तरीय प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यालय तथा विद्यार्थीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउने उनले जानकारी दिइन् ।

गुणस्तर सुधार्न विद्यार्थीदेखि अध्यक्षसम्मलाई पुरस्कृत

शैक्षिक गुणस्तर सुधारको प्रयासमा रहेको राप्ती नगरपालिकाले विद्यार्थीदेखि व्यवस्थापन समिति अध्यक्षलाई पुरस्कृत गरेको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसर पारेर विद्यार्थी, शिक्षक, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षहरुलाई उत्कृष्ट छनोट गरी पुरस्कृत गरिएको हो ।

गत शैक्षिक सत्र २०७९ को नतिजालाई आधार मानेर उत्कृष्ट छनोट गरी पुरस्कृत गरिएको शिक्षा अधिकृत रविना देउजाले जानकारी दिइन् । गत वर्षसम्म विद्यार्थी र शिक्षकलाई पुरस्कृत गरिएकोमा यो वर्षदेखि प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्ष थपिएका हुन् । सामुदायिक र संस्थागत विद्यालय दुवैलाई पुरस्कृत गरिएको छ ।

पुरस्कृत हुनेमा सामुदायिक विद्यालयका प्रधानाध्यापक ४ जना, सामुदायिककै व्यवस्थापन समिति अध्यक्ष ४ जना तथा संस्थागतका प्रधानाध्यापक १ जना, व्यवस्थापन समिति अध्यक्ष १ जना छन् ।

सामुदायिक विद्यालयतर्फ आधारभूत विद्यालय ओनेवाङका प्रधानाध्यापक रामदेव ठाकुर, आधारभूत विद्यालय पढरियाका नारायणसिंह लामा, काशिरुपा आधारभूत विद्यालयका विश्वेश्वर लामा र महादेवटार माविका हरि उप्रेतीलाई उत्कृष्ट प्रधानाध्यापकको रुपमा सम्मान गरिएको हो । निजी विद्यालयमा आइरिस बोर्डिङका दीपक सारुलाई उत्कृष्ट प्रधानाध्यापकको रूपमा सम्मान गरिएको थियो ।

सामुदायिक विद्यालयतर्फ उत्कृष्ट व्यवस्थापन समिति अध्यक्षमा आधारभूत विद्यालय पर्खालका जीतबहादुर प्रजा, दिव्यज्योति विद्यालयका ओमबहादुर पुन, लेकाली विद्यालयका गायत्री थापा र भण्डारा माविका रामबहादुर सारु तथा दर्शन एकेडेमिका ध्रुवबहादुर दाहाल उत्कृष्ट अध्यक्षका रुपमा सम्मानित भएका शिक्षा अधिकृत रविना देउजाले जानकारी दिइन् । शिक्षक र विद्यार्थी दुवै विद्यालयका छन् ।

त्यस्तै, गत वर्षको शैक्षिक सत्रमा उत्कृष्ट नतिजा ल्याएका सामुदायिक विद्यालय एक र संस्थागत विद्यालय एउटालाई सम्मान गरिएको छ । त्यस्तै, अवकाश प्राप्त ३६ जना शिक्षकहरुलाई पनि सम्मान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार