राप्तीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

राप्ती । राप्ती नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारदेखि सुरू भएको छ । स्थानीय तह लागू भएपछि यो पाँचौँ प्रतियोगिता हो । स्थानीय तह कार्यान्वयनपछि नगरपालिका/गाउँपालिकाले नै प्रतियोगिता आयोजना गर्दै आएका छन् । पाँचौँ संस्करणको प्रतियोगिता राप्ती–१ स्थित राष्ट्रिय माध्यमिक महादेवटारको खेल मैदानमा सुरू भएको हो । प्रतियोगिताको एक समारोहका बीच राप्ती नगरपालिका प्रमुख शमशेर लामाले उद्घाटन गरे ।

सो अवसरमा प्रमुख लामाले कला, सीप, अवसर देखाउने माध्यम खेलकुद भएकाले पहिचान स्थापित हुने गरी अनुशासितरुपले खेल्न आग्रह गरे । नगरपालिकाले अन्य क्षेत्रलाई जस्तै खेलकुदलाई पनि प्राथमिकता दिएर स्वयं नगरपालिका, विभिन्न क्लबहरुसँग सहकार्य गरेर प्रतियोगिता आयोजना गर्दै आएको लामाले बताए । अघिल्लो वर्षसम्म प्रथम, द्वितीय, तृतीय हुने विद्यालयले प्रमाणपत्र, शिल्ड प्राप्त गर्दै आएकोमा यसपटकदेखि क्रमशः १५ हजार, १० हजार र ५ हजारसमेत प्रदान गर्ने प्रमुख लामाले घोषणा गरे ।

युवा, खेलकुद तथा शिक्षा शाखाकी निमित्त प्रमुख शिक्षा अधिकृत रविना देउजाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा राप्ती–७ की वडा अध्यक्ष सुमिता डल्लाकोटी, राप्ती प्याब्सनका अध्यक्ष रामकृष्ण पन्त, वीरेन्द्र आदर्श मावि व्यवस्थापन समिति अध्यक्ष घनश्याम कँडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

१६ विधामा खेलहरु हुनेछन् । सातवटा विधामा दौडका खेल हुनेछन्, जसमा रिले दौड पनि समावेश छ । एक सय मिटरदेखि १५ सय मिटर दौड र चार सय तथा १६ सय मिटरको रिले दौड हुनेछ । दौडबाहेक सटपुट, ज्याबलिङ्थ्रो, लङजम्प, हाइजम्प, ट्रिपलजम्प, भलिबल, कबड्डी, तेक्वान्दो र कराँते खेल हुनेछ ।

पहिलो दिन भएको १५ सय मिटर दौडको छात्रतर्फ महादेवटार माविका मनीष पौडेल प्रथम, वीरेन्द्र आदर्श माविका भीमप्रसाद आचार्य द्वितीय र भण्डारा माविका निसान चौधरी तृतीय भए । सोही विधाको छात्रातर्फ भण्डारा माविकी आशिका बइक, वीरेन्द्र आदर्श माविकी सृष्टि परियार र महादेवटारकी रितु थापा क्रमशः प्रथम, द्वितीय र तृतीय भएको शिक्षा अधिकृत रविना देउजाले जानकारी दिइन् ।

त्यस्तै, सटपुटमा छात्रतर्फ भण्डारा माविका अंकित तामाङ प्रथम, वीरेन्द्र आदर्शका निशान परियार द्वितीय र सोही विद्यालयका युएल तामाङले तेस्रो स्थान हासिल गरे । छात्रातर्फ महादेवटारकी पूर्णिमा रूम्बा, भण्डाराकी मनीषा परियार र वीरेन्द्र आदर्शकी स्वीकृति विकले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे ।

प्रतियोगिता २२ गतेसम्म चल्ने छ । नगरस्तरीय प्रतियोगिताबाट प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थी तथा विद्यालयले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउने शिक्षा अधिकृत देउजाले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार